धरानः भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा ब्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा बधु पाउने मान्यता छ ।
सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्रीमहादेव पति पाउने कामना गरेकी थिइन् । पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि उनले साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले उनलाई हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिकाको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ ।
संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा ब्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । यो पर्वमा विवाहित महिलाले श्रीमानको लामो आयुका लागि ब्रत बस्ने गर्दछन् भने अविवाहित महिलाले भगवान् शिवजस्तै श्रीमान् पाउँ भन्दै बस्दै आएका छन् ।
विगतका वर्षमा तीजको एक महिनाअघिदेखि दर खाएर रमाइलो गर्दै आइरहेका महिला यस वर्ष भने कोरोना कहरले घरभित्रै बसेका छन् । कोरोना भाइरसका कारण पूरै विश्व नै तहसनहस भइरहेको छ । नेपालमा पनि यसको प्रभाव परेको छ । कोरोना भाइरसका कारण नेपाल पनि ठूलो पीडामा छ । अहिले अधिकांश जिल्लामा सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएको जनाउँदै निषेधाज्ञा गरिरहेको छ । यसकाकारण अत्यावश्यकबाहेक अन्य सम्पूर्ण सेवा बन्द छन् । स्थिति ठीकठाक हुन्थ्यो भने यतिबेला तीजको रौनक छाइसक्थ्यो । महिनादिन अघिदेखि नै महिलाहरु दर, नाचगान र शुभकामना साटासाटमा व्यस्त बन्थे । छोरीचेली माइत जाने सुरसारमा हुन्थे ।
गाउँशहरमा तीज मेला, उत्सव चल्थे । विद्यालय, सामाजिक संघसंस्था, महिलाका संगठनलगायतले गच्छेअनुसार तीज पर्व मनाउँथे, महिलालाई दर खुवाउँथे । यसपालिको तीज पर्व खल्लो र निरस छ । अहिलेसम्म तीजको रमझम छैन । महिलाको स्वतन्त्रताको पर्व घर र कोठामा खुम्चिएको छ । अन्ततः हाम्रो यसपटकको तीज दुर्गेश थापाको गीत ‘माछो माछो भ्यागुतो यसपालिको तीज’ जस्तै बन्यो । हामी नारीहरुमा उत्तरदायित्व बहन गर्न सक्ने ठूलो शक्ति छ । त्यसैले होला ‘तीज त फेरी फेरि मनाउला यसपाली घरमै बसी रमाउला’ भन्दै यो अवस्थामा सामान्य तरिकाले आफ्नो र परिवारको स्वास्थ्यको ख्याल राख्दै तीज मनाऔँ । सम्पूर्ण हिन्दू नारीहरुमा हरितालिका तीजको शुभकामना ।