Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘धरानमा शुरूमा कोरोना लागेर भागेर आउने युवाको केस हेर्ने नै मै हुँ’

हाम्रो कोशी आवाज
भाद्र १३ २०७७, शनिबार
‘धरानमा शुरूमा कोरोना लागेर भागेर आउने युवाको केस हेर्ने नै मै हुँ’

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालको फ्रन्टलाइनमा खट्ने चिकित्सकमध्येका हुन्– प्रा.डा. निदेश सापकोटा । उनी बीपीका प्रवक्ता पनि हुन् । उनीसँग कोरोना कहरका बीचमा रहेर गरिएको कुराकानीः
अहिले प्रतिष्ठानमा संक्रमितको अवस्था कस्तो छ ?
–जति जना भर्ना भएका छन्, सबैको स्वास्थ्य अवस्था ठीक छ । जति पनि हुनुहुन्छ, लक्षण नभएका बढी हुनुहुन्छ ।
बीपीकै चिकित्सक, नर्समा पनि संक्रमण बढिरहेको छ नि ?
–हो अहिले संक्रमण बढिरहेको छ । फ्रन्टलाइनमा काम गर्ने चिकित्सक नर्स पनि संक्रमणको जोखिमभन्दा टाढा हुनुहुन्नँ जस्तो लाग्छ ।
हालसम्म प्रतिष्ठानमै संक्रमितले ज्यान गुमाइरहेका छन् नि ।
–प्रतिष्ठानमा भर्ना भएकामध्ये कोरोनाबाट मृत्यु हुनेको संख्या हाल १६ जना पुगेको छ । यसो छ नि, मृत्यु भएकामध्ये अधिकांश वृद्धवृद्धा र दीर्घरोगी छन् । तर यसो त भन्नु हुँदैन (दीर्घरोगी, वृद्धवृद्धा, लक्षण नभएका बिरामी) किनभने धरानलगायत देशभर नै वृद्धवृद्धा, दीर्घरोगी अनि कोरोनाले भेटेपनि लक्षण नहुँदो रहेछ आदि इत्यादि भन्दै हामीलाई के भेट्छ र ? भनेर युवापुस्तालगायत अन्य लखरलखर हिँडिदिन्छन् । हाम्रो मानसिकता नै फरक छ । भेट्न न सबैलाई भेटिरहेको छ नि । वृद्धवृद्धा, युवापुस्ता, बालबालिका पनि अछुतो छैनन् । युवापुस्ता र बालबालिकालाई कोरोनाले भेटेपछि निको भएर फर्किएका पनि छन् । भेटेपछि आइसोलेसनमा आइपुग्ने कि सतर्क रहने युवापुस्ताको जिम्मा ।
शुरूदेखि फ्रन्टलाइनमा खटिरहनुभएको छ ? कस्तो अनुभव गरिरहनुभएको छ ?
–देशका केही ठाउँमा त कोरोनाले भेट्न थालिसकेको थियो तर धरानमा भेटेको थिएन । लकडाउन शुरू हुँदा धेरै डराएका थिए । म पनि डराएको नै थिएँ । सुरूमा त अलि गाह्रो नै भयो, कोरोना संक्रमणबारे सबै अन्योलमा थियौं, संक्रमितको नजिक गयो भने सरिहाल्छ, सरिहाल्यो भने मरिहालिन्छ भन्ने त्रास, डर र भ्रम सबैमा थियो । कोरोनालाई हाउगुजी बनाएकै कारण संक्रमित र हामीलाई पनि मनोवैज्ञानिक त्रास भएको हो ।
तर शुरूमा टेकु अस्पतालबाट एकजना बिरामी भागेर धरान आएको खबर आयो । अनलाइन समाचारमा पनि भागेर आएको भन्ने समाचार आयो । उनलाई यहाँ उपचारका लागि ल्याइयो, प्रतिष्ठान ल्याएपछि धेरै डराए । शुरूमा आनाकानी हुँदै गयो उनको नजिक कोही जान मानेनन् डराए । कसले उनलाई हेर्ने भन्ने भयो । शुरूमा पिपिई लगाएर हेर्ने मानिस मै हुँ ।
मलाई पनि डर लाग्छ नि । अहिले भए डर लाग्दैन थियो कि । त्यतिबेला पहिलोमा चिकित्सक नै डराए, त्यसपछि सर्वसाधारण जस्तो लाग्छ । पछि डर कम हुँदै गयो । घरमा परिवारलाई पनि मैले कोरोना संक्रमित बिरामी हेरेको भनेर कसैलाई भनिनँ । खाना खाएपछि निकैबेरको बसाइपछि त्यसपछि कुरा खोलें, परिवार केहीबेर डराए तर बुझाउँदै गएपछि सबै आफै ठीक भयो ।
तपाई त मानसिक रोग विशेषज्ञ र मानसिक विभागमा पनि कार्यरत् हुनुहुन्छ, डरले नै तनाव बढाउने होइन र ?
–हो, डर बढ्दै गए तनाव बढ्छ । तर डराउनुपर्दैन । तनाव लिएर आत्तिनु भएन । कोभिड संक्रमण भएको व्यक्तिमा मानसिक तनावले झन् असर गरेको देखिएको छ । खासमा सहजरुपमा लिनुपर्छ । तर यसो छ डराउनुपर्छ हामी चिउँडोमा मास्क हुनेसँग । धेरै म देख्छु चिउँडोमा मास्क झुन्ड्याएर हिँडिदिने अधिकांश मानिस । हामीले चिउँडाको मास्क हटाउन सक्नुपर्छ । बाहिर हिँड्दा नलगाउनु लगाएपछि लगाइरहने नि । चिउँडोमा मास्क नलगाएर हिँड्दा कसलाई के समस्या ?
म पनि घरीघरी केही किनमेल अर्थात् स्वास्थ्यका लागि भएपनि हिँड्छु । हेर्छु–चिउँडोमै मास्क छ । म बाहिर निस्किँदा प्रायः धेरैलाई चिउँडोमा मास्क नलगाउन आग्रह गर्दै आएको छु । त्यतिबेला हत्त न पत्त लगाउँछन् । त्यो पनि खतरा हो । किनभने चिउँडामा लगाएको मास्कबाट पनि कोरोना सहजै सर्छ । हत्त न पत्त लगाउँदा त्यहाँ अघि नै कोरोनाले बास जमाइसकेको रहेछ भने के हालत होला ?
पसलमा सामान खरिदका लागि म पनि जान्छु । एकपल्ट सधैं पसलमा सामान किन्न जाने ठाउँमा पुगेको थिएँ । चिउँडोमै मास्क देखें, तपाईको त म अबदेखि सामान किन्दिनँ भनेर हिँडिदिएँ । नरिसाउनुहोस्–म जोखिममा पर्छु तपाई पनि पर्नुहुन्छ भनेपछि उनले अहिले २० दिनजति भयो । मास्क लगाइरहेका छन्, अहिले त्यहाँ पुग्न थालेको छु ।
म सिधै भन्छु विकसितमा जनचेतना छ, हामीमा छैन, जनचेतना नहुँदा नै जोखिम बढेको हो । खासमा भन्ने हो भने यहाँ लकडाउन नै गर्नुपर्दैन । लकडाउन गर्नुपर्ने कारण किन ? यही चिउँडोमा मास्क लगाइदिने गर्नाले पनि हो । मास्क समेत नलगाइदिने, समदुरी कायम नगर्ने, सेनिटाइजर नलगाउने हामी अटेरी भइदिँदा नै लकडाउन गर्नुपरेको हो । २० रुपैयाँको मास्क त सबैले लगाउन सक्छन् नि । हामीले के सोच्नुपरयो भने म मात्रै होइन परिवारै जोखिममा छन्, परिवार मात्रै होइन समाज नै जोखिममा छन् । कोरोनाको जोखिम कम गर्न अब चिकित्सक, पत्रकार, शिक्षक, समाजका अगुवाले सचेतना फैलाउनुपर्छ । अनि मात्रै कोरोनाको जोखिम कम हुन्छ र लकडाउन गर्नुपर्दैन ।

मास्कको कुरा गर्नुभयो, कसरी लगाउने मास्क यसबारे पनि प्रष्ट पारिदिनुहोस् न ।
–हामीले लगाएको मास्क केही खान, पिउन, अन्य केही गतिविधिको लागि वा बोल्दा मास्कलाई चिउँडोमा झाछौंँ र काम सकिसकेपछि माथि साछौँ । मास्क लगाउँदा चिउँडोभन्दा मुनिको भाग खुल्ला नै रहेको हुन्छ । चिउँडोभन्दा तल मास्क झार्दा सो खुला ठाउँमा भएका भाइरसहरू मास्कको भित्री भागमा टाँसिन्छन् । फेरि मास्क लगाउँदा सो भाइरस हाम्रो नाक वा मुखको माध्यमबाट शरीरमा प्रवेश गर्छन् । जसले गर्दा संक्रमणको जोखिम झनै बढाउँछ । नाकमुख र चिउँडो राम्रोसँग ढाक्नेगरी मास्क लगाउनुपर्छ ।
तपाई त बीपी प्रतिष्ठानको प्रवक्ता र अनि फ्रन्टलाइनमा पनि खटिरहनुभएको छ समय कसरी व्यथित गरिरहनुभएको छ ?
–व्यस्तता बढेको छ । फोन उठाउन पनि भ्याइ नभ्याइ हुन्छ । म काममा रहँदा धेरैले बुझिदिनुभएको छ, काममा हुनुहुँदोरहेछ र फोन उठेन भनेर । डिउटी पनि रोटेशनमा हुँदा अलि सहज छ । परिवारलाई पनि धेरै फोन आउँछ, झन्झट नमानिदिनू है भनिसकेको छु । फ्रन्टलाइन काम गर्नेलाई चिन्ता त हुन्छ नै तर पनि सहजरुपमा लिएर अघि बढेको छु । वैशाखको पहिलो हप्तादेखि टिभीमा न्यूज हेर्न पाएको छैन । अहिले घरीघरी एफएमसम्म सुन्न पाएको छु ।
पहिला र अहिलेमा के भिन्नता पाउनुभएको छ ?
–छ केही भिन्नता भने छ । अहिले हामी रुटिनमै चलिरहेका छौ । अहिले टिममै सल्लाह हुन्छ । छलफल हुन्छ । कोरोना आएपछि सिकाइ अझ बढेको छ । बिरामीलाई पनि अस्पताल आएपछि चाँडो निको भएर घर जाऔं हुनु स्वभाविक हो, हाम्रो चाहना पनि बिरामीलाई सकेसम्म चाँडो निको बनाएर घर पठाऔं भन्ने नै हो । त्यो चाहनाले नै हामी अडेका हुन्छौं । सञ्चो बनाएर घर पठाउँदाजस्तो खुशी हामीलाई अरुबेला जस्तो भएको छैन ।

त्यहाँ आउने बिरामीको अवस्था भनौं या मनोविज्ञान कस्तो पाउनु भएको छ ?
–खासमा शुरू शुरूमा आउने बिरामी निकै डराए पनि । अब संसार नै सक्कियो, अब नबाचिने भइयो समेत भन्ने पाइयो । तर, भर्ना भएर अस्पतालको उपचार प्रणाली, यहाँ पाउने सेवा सुविधा, अरू बिरामी देखेपछि सबै नर्मल हुँदै जानुभयो । अहिले खासै डराउने छैनन तर जिज्ञासु भने अझै छन, एकदमै खुशी हुने छन्, दुःखी हुने पनि । लामो समयदेखि यहाँ बसिरहनुपरेकोले पनि त्यस्तो हुन्छ, तर, इन्टरनेट चलाउने र आफन्तसँग कुरा गर्ने भएकाले पनि समय कटाउन पनि खासै समस्या भएको देख्दिनँ । त्यस्तै, पटक–पटक चिकित्सकले के भइरहेको छ भनेर सोधिरहनाले पनि यहाँ खासै दुःखी बनेको देखिएन ।
तपाईको विचारमा कस्ताले सावधानी अपनाउने ?
–प्रतिष्ठानमा मृत्यु हुनेहरुमध्ये अधिकांशमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको वा दीर्घ रोग रहेका छन् । मुटु, मिर्गाैला तथा फोक्सोमा समस्या, बाथ, दम, मिर्गौला, क्यान्सर, मधुमेह लगायतका दीर्घरोगीहरू कोरोनाबाट बढी प्रभावित छन् । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, ४० देखि ६० वर्षभन्दा माथि उमेर भएका, रोगको औषधि सेवन गरिरहेका, सुगर, प्रेसरका विरामीलाई कोरोना लाग्यो भने जोखिम बढेको देखिएको छ । कोभिडले साधारण रुघाखोकी मात्र पनि लाग्न सक्छ । कसैलाई त्यो बढेर निमोनिया भई फोक्सोमा समस्या हुनसक्छ । कसैलाई त्योभन्दा बढी भई मुटु, मिर्गौला, दिमागमा असर गर्छ । सबैलाई एउटै असर गर्छ भन्ने हुँदैन ।
उच्च जोखिममा रहेकाले के ख्याल गर्नुपर्छ त ?
–रोग सर्ने मुख्यतः संक्रमित व्यक्तिसँगको सम्पर्कबाट हो । त्यसैले दीर्घरोगीहरुले भीडमा जाँदा नाक र मुख राम्रोसँग छोपिने गरी मास्क लगाउनुपर्छ । यदि कोही सम्पर्कमै जानुपर्यो भने दूरी कायम राखेर र लामो समय एउटै व्यक्तिसँग कुरा गर्नु भएन । १५ मिनेटभन्दा बढी नजिकमा कुरा गर्नु भएन । त्योभन्दा बढी बिताउनेहरुसँग संक्रमण सर्ने खतरा बढी देखिएको अध्ययनले पनि देखाएको छ । हाम्रोमा एउटै कोठामा लामो समयसँग कुरा गरेर बस्ने बानी छ । झ्याल, ढोका खुल्ला नभएको, भेन्टिलेसन (हावा जाने ठाउँ) नभएको कोठामा, कक्षा कोठामा, बैठक स्थलमा रेस्टुरेन्ट आदिमा लामो समय बस्ने, खाने गर्नु भएन ।
अन्त्यमा, केही भन्नैपर्ने कुराहरु छन् कि ?
–अहिले सर्तकता जरुरी छ । महामारीको अवस्थामा नजानका लागि हामी जनता आफै सचेत हुनुको विकल्प नै छैन । डर सबैलाई भयो, अहिले पनि छ डरको सामना गर्नेदेखि अर्को उपाय छैन, डरलाई भयलाई सावधानीलाई अपनाउने गर्नुपर्छ । हामीलाई चीनले सिकाइसकेको छ । समदुरी कायम गर्ने, कम्तीमा तीन मिटर दुरी कायम गर्ने, बारम्बार हात धुने यी तीन वटा कुरालाई पालना गरे मात्रै हामीबाट कोरोना भाग्छ ।
म संक्रमित भएँ भने परिवार, समाज संक्रमित हुन्छ, मेरो कारणले लापरवाही गर्दा भयावह स्थिति पैदा हुन्छ, गरिब देशको राज्यले पनि धान्न सक्दैन भन्ने बुझिदिए पुग्छ । त्यसैले पहिलो दायित्व अनुशासनको पालना गर्नु नै हो ।

प्रकाशित मिति: भाद्र १३ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend