सुनसरीः ठूलो परिणामको लागूऔषध लिएर आउँदै गर्दा प्रहरीले सुनसरीको भण्टाबारीबाट एक युवालाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको विशेष टोलीले कोशी गाउँपालिका–८ का २२ वर्षीय सुशील शर्मालाई शनिबार साँझ पक्राउ गरेको हो । उनले बोकेको झोलाबाट लागूऔषध डाइलेक्स डीसी ३३ बोतल, स्पास्मोप्रोक्सिभन पाँच सय २२ क्याप्सुल, र नाइट्रोसन एक सय चक्की बरामद भएको छ । सुशीलले लागूऔषध भारतको भीमनगरबाट ल्याएको खुलेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी विनोद शर्माले जानकारी दिए । पक्राउ परेका सुशील आफै लागुऔषधका कारोबारी हुन् कि भरिया मात्रै भन्ने खुल्न बाँकी छ ।
यस्तै, इलाका प्रहरी कार्यालय बुधनगर मोरङबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । गस्तीमा खटिएको प्रहरी टोलीले प्रदेश नं १–०२–०४० प ९६६८ नं को मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा चालक गढी गाउँपालिका–३ सुनसरीका २७ वर्षीय सुभाषकुमार साह र पछाडी सवार रहेका मोरङ जहदा गाउँपालिका–१ का २१ वपर्षीय रुपेश यादवलाई लागूऔषध डाइलेक्स डिल १४ बोतल सहित पक्राउ गरेको हो ।