सरकारले नेपालको पर्यटकको संख्या, गुणस्तर र त्यसबाट प्राप्त हुने राजस्वमा फड्को मार्ने उद्देश्यका साथ पर्यटन रणनीति तयार पारेको छ । विगतका नीतिभन्दा व्यापक, स्पष्ट र कार्ययोजनासहितको रणनीति तयार हुनु पर्यटन उद्योगका लागि निकै उत्साहपूर्ण खबर हो । तर, यो सबै तयारी भइरहँदा पनि नेपालको पर्यटन व्यवसाय हचुवा किसिमले चलिरहेको छ भन्न सकिन्छ । नेपालको पर्यटनको मूल आधार के हो ? के नाराका साथ विश्वका पर्यटकहरूलाई आफूतर्फ आकर्षित गर्ने ? अनि अन्यत्रको पर्यटनभन्दा हाम्रो पर्यटनको मौलिकता के हो ? भन्ने स्पष्ट छैन । पर्यटन व्यवसायमा ब्रान्डिङ हुनुपर्छ । पुरानै पहिचानलाई समेत पुनः ब्रान्डिङ गर्नुपर्ने आवश्यकता छ ।
जसरी अन्य वस्तु वा सेवाको पहिचानका साथै भिन्न उपस्थितिका लागि ब्रान्डिङ गरिन्छ त्यसरी नै उच्च बिक्रीका लागि पर्यटनको बजारीकरणका लागि पनि ब्रान्ङिङको आवश्यकता पर्छ । अतुल्य भारत, ट्रली एसिया मलेसियाजस्ता ब्रान्ड लिएर भारत र मलेसिया र अन्य केही एसियाली देशले पर्यटनको बजार कब्जा गर्दै छन् । ब्रान्डिङले गुणस्तरको प्रत्याभूति र वस्तुको पहिचान दिन्छ । यसले उपभोक्ताको आत्मसम्मान र आत्मविश्वासलाई पनि बढाउँछ तर हामी बिनाब्रान्ड बजारमा जान्छौं भने खुुजुरा चाउचाउ प्लास्टिकमा प्याक गरेर बेच्दै छौं भन्ने बुझे हुन्छ । त्यस्तो चाउचाउ बजारमा कति समय बिक्ला र बजार हिस्सा कति लेला ? परम्परागत प्याकेज बेच्नुभन्दा नयाँ सन्देश दिन ब्रान्डिङ आवश्यक पर्छ । ब्रान्डिङका केही सैद्धान्तिक आधार हुन्छन् । हाम्रा पर्यटकीय क्षेत्रलाई ब्रान्डिङ गर्ने हो भने यसका लागि हामीले हाम्रो मौलिकतामा विशेष ध्यान दिनुपर्छ, जसले गर्दा तुलनात्मक रूपमा प्रतिस्पर्धात्मक क्षमता बढी प्राप्त हुन्छ । ब्रान्डिङ संस्कृति, चरित्र, पात्र, व्यक्ति, नाम, लोगो र नारामा बढी निर्भर हुन्छ ।
पर्यटनमा ब्रान्डिङ व्यवस्थापन, गन्तव्यको पहिचान आदि पक्ष महत्वपूर्ण हुन्छ । ब्रान्डिङ गर्नुअघि पर्यटकीय गन्तव्यको विशेषता, पर्यटकको रुचि आदिबारे अनुसन्धान हुनुपर्छ । ब्रान्डिङले गन्तव्यको प्रचार गर्ने मात्र हैन, सेवा, क्रियाकलाप आदिको प्रत्याभूति पनि गर्नुपर्छ । यसका लागि पर्यटन बोर्डले पहल लिनु उपयुक्त हुन्छ । विवादका कारण नेतृत्वविहीन बन्न पुगेको बोर्डले नयाँ नेतृत्व पाए पनि पर्यटनलाई नयाँ ब्रान्ड दिने, त्यसका लागि आवश्यक अनुसन्धान गर्ने काम अघि बढाउन सकेको छैन । बोर्डसँग स्रोतको कमी त पक्कै होला तर भएकै स्रोतको परिचालनसमेत सही किसिमले हुन सकेको छैन । ब्रान्डिङका सन्दर्भमा हामीले भारतीय योजना र उसले प्राप्त गरेको सफलताको मूल्यांकन गर्नु सान्दर्भिक हुन्छ । धेरै कुरामा मिल्दाजुल्दा रहेको भारतीय पर्यटन हाम्रा लागि नमुना हुन सक्छ । अपार सम्भावनायुक्त रहेर पनि भारतीय पर्यटन व्यवसायले खासै उचाइ लिन नसकेको अवस्थामा अमिताभ कान्तले ‘अतुन्य भारत’ को ब्रान्डमा पर्यटनका यस्ता योजना बनाए कि आज भारतीय पर्यटनले त्यहाँको जीडीपीमा ७ प्रतिशतभन्दा बढी योगदान दिएको छ ।
भारतले आगामी वर्ष पर्यटनको योगदान ८ प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । संख्यात्मक रूपमा भारतमा आएका पर्यटकको तुलनामा नेपालको ८ लाख पर्यटकलाई कम भन्न मिल्दैन । भारतले ८० लाख पर्यटकबाट ७ प्रतिशत जीडीपी योगदान हासिल गर्दा हामीलाई ४ प्रतिशत योगदान हासिल गर्न पनि हम्मे परेको छ । नेपालभन्दा निकै ठूलो भारतीय अर्थतन्त्र र भौगोलिक अवस्थाको तुलना गर्दा नेपालले प्राप्त गरेको उपलब्धि सन्तोषजनक छैन । यसो हुनुमा पर्यटनलाई ब्रान्डिङ गर्न नसक्नु एक प्रमुख कारण हो ।
पर्यटन सेवामूलक उद्योग हो भने यसको उत्पादनको बजारीकरण अपरिहार्य हुन्छ । जब बजारीकरणको कुरा हुन्छ तब प्रतिस्पर्धा स्वतः आउँछ । नेपालको पर्यटनले कुन बजारसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ र त्यो बजारलाई जित्न केके रणनीति तय गर्नु आवश्यक छ त ? पहिलो त हाम्रो एउटा सोच गलत छ । त्यो के हो भने हामीलाई प्राकृतिक सुन्दरतामा गर्व छ र यसको प्रतिस्पर्धा अरूसँग हुन सक्दैन । यो गलत सोचाइको परिणाम हामीले भोग्न थालिसकेका छौं । ह्वाइट वाटर ¥याफ्टिङलाई हामीले अप्रतिस्पर्धी नै ठानेका थियौं तर आज हामीले यो बजार गुमाउँदै आएका छौं । स्वदेशी पर्यटकले ¥याफ्टिङ नगर्ने हो भने यो व्यवसाय नै बन्द हुने अवस्थामा छ भन्दा अत्युक्ति नहोला । हाम्रो देशमा ¥याफ्टिङ गर्न आउने साहसिक पर्यटक अहिले भारतका विभिन्न नदीमा जाने गरेका छन् । भारतका कतिपय भूबनोट नेपालकै जस्तो छ र ¥याफ्टिङका लागि उपयुक्त भएकाले हाम्रो व्यवसाय भारतले खोस्दै छ । प्रतिस्पर्धाको जमानामा अर्कालाई गाली गरेर हुन्न, आफैं सबल बन्नुपर्छ । नेपालले बजारीकरण गर्न सकेन, ब्रान्डिङ गर्न सकेन । अझै पनि ब्रान्डिङका लागि काम नगर्ने हो भने एकसिंगे गैंडाका लागि होस् वा सा हात्ती सफारीका लागि होस् अब पर्यटन भारततिर तानिने सम्भावना बढ्दै छ । हाम्रा हिमाल पनि ब्रान्डिङ गर्न नसके एउटा सगरमाथाले मात्रै हिमालआरोही र पदयात्रीलाई तानिरहन अब सम्भव छैन ।
भारतले कञ्चनजंघा देखाइरहेको छ, सिक्किमको ब्रान्ड गरिरहेको छ । हिमाञ्चल प्रदेशलाई पर्यटनको आधार बनाउँदै छ । समान भौगोलिक बनोट, सांस्कृतिक विशेषता र समान पर्यटन उत्पादन छ तर भारतको ब्रान्डिङ र आक्रामक प्रचारशैलीका कारण नेपालले आफ्नो बजार हिस्सा गुमाउन सक्छ । नेपालमा आउने पर्यटककको एक हिस्सा हिमाली जीवन र संस्कृतिको अध्ययन हो । यो हिस्सा पनि भारतले तान्न सक्छ ।
मानसरोवर जाने भारतीय पर्यटककै हिस्सा पनि हामीले गुमाउनुपर्ने हुन्छ, यदि हामीले यसलाई मुक्तिनाथ, स्वर्गद्वारी र अन्य तीर्थस्थलसँग जोडेर बजारीकरण गर्न सकेनौं भने । नाम दिनु नारा तय गर्नुमात्रै ब्रान्डिङ होइन । यसको प्रचारप्रसार गर्नुदेखि लिएर पूर्वाधार विकाससम्म तथा बजारीकरणदेखि सेवासुविधाको गुणस्तरसम्मका कुरा ब्रान्डिङमा पर्छ । नेपालको पर्यटन रणनीतिले केही मात्रामा यस्तो पक्षमा आवाज उठाएको छ । तर, यो नीतिको नेतृत्वकर्ता संस्था, त्यसको नेतृत्वमा कुनै स्पष्ट भिजन, मिसन र एक्सनबाट प्रभावित छैन । जसरी अमिताभ कान्ताले भारतमा नयाँ सोचका साथ योजनाबद्ध किसिमले ब्रान्डिङ गरे र भारतीय पर्यटन उद्योगमा क्रान्ति नै ल्यायो । त्यस्तै सोच र नेतृत्व नेपाली पर्यटनविद् र यस क्षेत्रमा कार्यरत संस्थामा छैन । नेपालले पर्यटक भिœयाउने १९९८ मा नै नेपाल भ्रमण वर्ष भव्य रूपमा मनाएको हो तर त्यसले अपेक्षित परिणाम भने दिन सकेन । यद्यपि आन्तरिक पर्यटनका लागि भने यो अभियानले ठूलै परिवर्तन ल्यायो ।
त्यसपछि पनि यस्ता भ्रमण वर्षका नाममा कार्यक्रम नबनेका होइनन्, ती सबै निष्प्रभावी भए, कार्यान्वयनमा खासै केही पहल भएन । सरकारी उदासीनताका सिकार बने । त्यसैले नेपाली पर्यटन ब्रान्डिङ हुन सकेन र सोचजस्तो फाइदा लिन सकिएन । हुन त नेपालमा चलेको सशस्त्र द्वन्द्व, त्यसपछिका राजनीतिक अस्थिरता र अझै पनि जारी राजनीतिक संक्रमणको सिकार नेपाली पर्यटन बनेको हो भन्नेमा कुनै विवाद छैन । तैपनि हामीले मौलिक विशेषताहरूलाई पर्यटनको आधार बनाउन नसकेकै हो । भुटानले बौद्ध संस्कृति र हिमाली जनजीवनलाई उच्च शुल्कमा बेचेको छ भने हामीले त्यही काम गर्न सकेका छैनौं । यदाकदा आउने विश्वका सेलिब्रेटीहरूको भ्रमणलाई प्रचार ल्याएर नेपाली ब्रान्ड चिनाउन पनि सकेका छैनौं । त्यसैले ब्रान्डिङबिनाको पर्यटन फुटपाथमा बेच्न राखिने सामान जस्तै हुन्छ । यसले न गुणस्तरीय पर्यटक तान्न सक्छ न त पर्यटनको दिगो विकास नै सम्भव छ । वर्षामा पानी पर्दा आउने भेल थापेजस्तो गरेर पर्यटन क्षेत्र उकालो लाग्न सक्दैन ।