धरानः राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ का ४१ विषयको नमूना प्रश्नपत्र सार्वजनिक गरेको छ । धेरै विद्यार्थी संख्या हुने ४१ वटा विषयको ४० पूर्णाङ्कको नमूना प्रश्नपत्र वेबसाइटमार्फत् सार्वजनिक गरेको हो ।
बोर्डले आगामी मंसिर ९ गतेबाट हुने कक्षा १२ को परीक्षाका लागि ४० पूर्णाङ्क तोकेको छ । सोही आधारमा नमूना प्रश्नपत्र सार्वजनिक गरिएको हो। कोरोना महामारीका कारण ४० पूर्णाङ्कको परीक्षामा विद्यार्थीमा अन्योल नहोस् भनेर प्रश्नपत्र सार्वजनिक गरिएको बोर्डले जनाएको छ ।
४० प्रतिशत कक्षा ११ को नतिजाको आधारमा, २० प्रतिशत आन्तरिक मूल्याङ्कनको आधारमा र ४० प्रतिशतको मात्र सैद्धान्तिक परीक्षा हुनेछ । त्यसका लागि बोर्डले कार्यविधिसमेत तयार पारेको छ ।
गत वैशाख ८ गतेदेखि हुने कार्यतालिका रहेको कक्षा १२ को परीक्षा कोरोना भाइरसको जोखिमका कारण स्थगित भएको थियो । अब ९ मंसिरदेखि बिहान ८ बजेदेखि साढे ९ बजेसम्म डेढ घन्टा परीक्षा हुनेछ । कक्षा १२ का लागि यो वर्ष चार हजार एक सय पाँच परीक्षा केन्द्र तोकिएका छन् ।