धरानः विद्यालयको भौतिक कक्षा सञ्चालन सम्बन्धमा स्थानीय तहमा छलफल भइरहेको सुन्नमा आएको छ । सम्बन्धित सबैसँग विस्तृत छलफल गरियोस् भन्ने आग्रह गर्दछु । विद्यालय जसरी पनि खुलाउन पर्छ भनेर विद्यालयलाई सब्जी बजार र सार्वजनिक यातायातको सेवा र तिनीहरुको अवस्थासँग जोडेर तर्कहरू गर्न थालिएका छन् । तर यिनीहरुको अवस्था पटक्कै समान छैन ।
हाम्रा केटाकेटीहरु सब्जी बजारमा थोरै समयका लागि भौतिक दुरी कायम नगरी हिँडिरहेका भन्नेअवस्था र तर्कले विद्यालय भौतिक रुपमा सन्चालन गर्न पाउनुपर्छ भन्ने आवाज र मागलाई सही पुष्टि गर्न सक्दैन ।
विद्यालयको भौतिक सञ्चालन नितान्त विद्यार्थीहरुको पढ्न पाउने र स्वस्थ भएर बाँच्न पाउनुपर्ने संविधानले सुरक्षित गरेको मौलिक अधिकारसँग गाँसिएको विषय हो । यसमा यो वा त्यो बहानामा कुतर्क गर्ने प्रयास कुनै पनि ठाउँबाट गरिनु हुन्नँ । विद्यार्थीहरुको स्वस्थ रही पढ्न पाउने अधिकारको ग्यारेन्टी नै प्रथम र अन्तिम विषय हो ।
यो आयामबाट छलफल र बहसको प्रारम्भ र सुखद् अन्त्य गर्न सबैलाई आग्रह गर्दछु । वास्तवमा पठनपाठनको विषयलाई हेर्ने हो भने अहिले जसरी भर्चुअल विधिबाट पठनपाठन गरिँदैछ । यसको प्रभावकारिता ज्यादै कम छ ।
पठनपाठनका लागि चाहिने अनलाइन साधनहरु र प्रविधिमा विद्यालयहरुको पहुँच कमजोर रहेको अवस्थाले शिक्षकहरुमा प्रविधिमैत्री श्रोत, साधन र तालिमको अपर्याप्तता, विद्याथीहरुको प्रविधिमैत्री साधनहरुमा कमजोर उपस्थिति, इन्टरनेट र बिजुली बारम्बार अवरुद्ध भइरहेको अवस्थाले हाम्रो अनलाइन शिक्षणको प्रभावकारिता अत्यन्त कमजोर रहेको सबैलाई जानकारी भएकै विषय हो ।
अब शिक्षणको यो अवस्थामा सुधार ल्याउन भौतिक कक्षा सञ्चालन नै एक मात्र अन्तिम विकल्प हो भन्ने तर्क जायज जस्तो देखिएपनि विद्यार्थीहरुको स्वास्थ्य सुरक्षा नै प्रमुख र गम्भीर विषय हो । यसलाई नजरअन्दाज किमार्थ गर्न पाइँदैन ।
विद्यालयहरुले अपनाउन पर्ने स्वास्थ्य सुरक्षाको मानक के के हुने, भौतिक दुरी कायम रहने कुरामा अभिभावक आश्वस्त हुन सक्ने अवस्था कसरी सिर्जना गर्ने, समग्र विद्यालय निर्मलीकरणको व्यवस्था मानक र यी सबैको नियमित अनुगमनको प्रभावकारी व्यवस्था सम्बन्धमा गम्भीर छलफल हुन जरुरी छ ।

अझ त्यो भन्दा बढी हाम्रा विद्यार्थीहरु कोरोनाबाट संक्रमित भएमा उपचारको उचित व्यवस्था कस्तो छ भन्ने कुरा चाहिँ महत्वपूर्ण हो । अहिले धरानको कोभिड अस्पताल व्यवस्थित तरिकाले सञ्चालन नभइरहेको गुनासो जनताको मात्र होइन प्रतिष्ठानकै स्वास्थकर्मीहरुको पनि रहेको छ । साँच्चै भन्ने हो भने धरानको अस्पतालभन्दा विराटनगरको नोबेललगायत अन्य अस्पतालको सेवा सुविधा छ । त्यहाँ चिकित्सकले बहुत केयर गरेको पनि देखियो । कोभिड अस्पतालमा सिनियर डाक्टरहरु नहुनु, भएका डाक्टरहरुले पनि बिरामी नहेर्नु, थोरै संख्यामा नर्सहरू परिचालन गरिनु, नर्सहरू पनि आफ्नोे ड्युटीप्रति प्रतिबद्ध नभएको गुनासोहरुलाई सम्बोधन नगरिकन भौतिक कक्षा सञ्चालन गरिन खोज्नु गम्भीर त्रुटि हुनेछ ।
जनमानसमा व्याप्त धरानको कोभिड अस्पतालमा चाहिँ होम आइसोलेसनमा बस्दा पनि बिरामी निको नभए बिरामीलाई एक प्रकारले माया मारे पछि मात्रै कोभिड अस्पताल लैजाने भन्ने धारणालाई चिर्ने प्रयास नगरी कोभिड अस्पतालको व्यवस्थापनमा स्वास्थ्य कर्मीहरुका माग र गुनासाहरुलाई सम्बोधन नगरी सही अर्थमा धराने जनता कोभिड अस्पतालको उपचार पद्दतिमा आश्वस्त हुने खालको समग्र व्यवस्थापन नगरी भौतिकरुपमा कोरोनाको हटस्पट धरानमा भौतिक रुपमा विद्यालय सञ्चालन गर्न खोजिए एउटा गम्भीर दुर्घटनाको शिकार हुनेछौ । इतिहासले हामीलाई माफ गर्ने छैन । सम्बन्धित सबैलाई गम्भीर भइदिनुहुन अनुरोध गर्दछु । जय धरान । (लेखकः धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक साथै त्रिवित्र प्राध्यापक संघको केन्द्रीय सदस्य हुन्)
