Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कथाः चिकित्सकका बाबु

हाम्रो कोशी आवाज
मंसिर १० २०७७, बुधबार
कथाः चिकित्सकका बाबु

‘मम्मी ! बाइबाइ !’
थरथर काप्दै उसको मुखबाट निस्केको एउटा अस्पष्ट शब्द हावाको गतिसँगै उडिरहेको थियो । शब्दले राम्ररी पूर्णविराम लिन नपाउँदै आफ्नी प्यारी मम्मीलाई गल्र्याम्मै अङ्गालो हाल्यो । पाँच सेकेण्ड जति अङ्गालोमा बाँधियो, त्यसपछि छुट्टिहाल्यो ।
घरको भुइँतलामा काठका फल्याकहरु विछ््याएको थिएँ । तिनै काठमाथि टेक्ता निस्केको टकटक आवाजसँगसँगै निरजका कदमहरु केही अगाडि बढ्यो । घरको मूलढोका नजिक पुग्यो र घन्द्रङ्गढोका खोल्यो ।
ढोका खोलेर घरदेखि बाहिर निस्किँदा उसको दाहिने काँधमा भिरेको सानो ल्यापटपको झोलाले एकाधलिङ्गे पिङ खेलिरहेको जस्तो आभाष हुन्थ्यो । त्यै पनि उसले त्यो झोलालाई खासै वास्ता गरिरहेको देखिएका थिएनन् । तर, उसको देब्रेहातले कारको चाँबी कक्रकै समातिरहेको मैले नजिकैको दुरीदेखि गिद्दे दृष्टि लगाइरहेको थिएँ ।
हाम्रो घरको ठीक बायाँतिर जेम्स सडक पर्दथ्यो । तीनै सडक किनारमा निरजको कारमज्जाले आराम गरिरहेको थियो । ऊ विगत पाँच वर्षदेखि तीनै कारबाट काममा जाने र आउने गरिरहेका थिए । उसले काम शुरु गरेदेखि बचाएको पहिलो तीन महिनाको वेतनले खरिद गरेको त्यो नै उसको जीवनको पहिलो कार थियो । तर जति जति उसको टाउकोको केस पाक्दै गइरहेको थियो, कारको उमेर पनि उसको उमेरसँगसँगै ढल्कदै जाँदै थियो । र, कारले अस्ति भर्खरै मात्र दशौं वार्षिकी मनाएर एउटा इतिहास खडा गरिसकेको थियो ।
निरज कछुवा गतिमा हिँडेर कारको नजिकै पुग्यो । त्यसपछि ढोका खोलेर भित्र पस्यो । भित्र पस्ने बितिक्कै खट्ट कारलाई स्टार्ट गरयो । मनभरि एकमुरी पीरको भारी बोकेर म तिनै सडकको पेटीमा उभिरहेको थिएँ । र, उसले घर छाड्नै लागेको नरमाइलो दृश्य नियालि रहेको थिएँ ।
लिभरपुल छाडेदेखिकामको सिलसिलामा उसले म्यानचेस्टर, बर्मिङघाम, वुस्टर र कभेन्ट्रिमा पटक पटक डेरा सारिरहेको गन्दा पाँच वसन्तहरुलाई बिदाइ गरिसकेको रहेछ । मकारको नजिकै उभिएर दुवैहात कम्मरमा राखें र उसको विषयमा केही सोंच्न थालें । खै ! अझै कति वशन्तहरु यसरी जाने हुन् ? तर त्यसपटक चाहिँ ऊ ‘जोन रेडक्लिफ अस्पताल, अक्सफोर्ड’ सर्नै लागेको थियो । तर के गर्ने ? वर्तमान परिस्थिति पहिलेको जस्तो थिएन । बिलकुल फरक फरक थियो ।
गत डिसेम्बर महिनादेखि वुहान, चिनमा उत्पन्न भएको कोरोना भाइरसले बेलायतपनि अछुतो रहन सकेको थिएन । र, तीनै भाइरसलाई वशमा ल्याउन अर्को हप्तादेखि पुरै बेलायत लकडाउनमा जाँदै थियो । भाइरसले स्पेन र इटालीमा मरेका मानिसहरुको लाशको पहाडलाई ब्यवस्थित गर्न हम्मेहम्मे परेको टेलिभिजनको पर्दामा देख्दा मेरा आङ्ग जिरिङ्ग हुने गर्दथ्यो । सारा मानव जीवनको तहसनहस पार्ने त्यस क्रुर भाइरसले चीनदेखि इटालीसम्मको चिकित्सकहरुलाई सबैभन्दा पहिले मृत्युको काखमा पुरयाएको थियो ।
‘अब भाइरसले कस्को आँशु छचल्किएर पहिले पोखिने हो ? बाबु, आमा कि छोरा ?’
हिजोदेखि मेरा हृदयभित्र तीनै अनुतरित्त प्रश्नहरु बर्सिरहेका थिएँ । साच्चै ! समय कति बलवान हुनेरहेछ । कुन समयमा र कहाँदेखि कस्तो हुरी बहन्छ, कसैलाई पत्तै हुँदैन रहेछ । अनि त्यसबेलाको समय भनेको मानिसदेखि मानिस डराउने समय आइरहेको थियो ।
निरज कार हिडाउनको लागि तयार हुँदै थियो । तर, उसले कार हिडाउन भन्दा पहिले मलाई करके नजर लगाएर एकझलक हेरयो । म त्यसबेला कुन शब्दले अन्तिम बिदाइ गर्नेहोला भनेर थोरै सशंकित मुद्रामा थिएँ । अब हाम्रो फेरि भेट होला कि नहोला भन्ने मनभित्र त्रास उत्पन्न भइरहेको थियो ।
म स्वभावैले बोलक्कड मान्छे थिएँ । तर, त्यसबेला जिन्दगीमा प्रथमचोटी मलाई शब्दहरुको ठूलो खडेरी लाग्यो । उसको हेराइले हाम्रा नयनहरु धेरै बेरसम्म सँगसँगै रहन सकेनन् । त्यसैले मेरो टाउकोलाई सुस्तरी दाहिनेतिर घुमाइ दिएँ । बिहानभरि परेको सिमसिमे पानीले भिजेको ‘हार्डविक हिलको’ चुचुरोमा जुन टुप्लुकै उदाइरहेको देखें ।
अरुबेला म जुनलाई प्रेम गर्थे । जुन उदाएको हरेक बेलुकी बैठक कोठामा बसेर त्यसको रमिता हेर्ने गर्दर्थे । हाइल्याण्डर सिङ्गल माल्टको चुस्कीसँग घण्टौं समय बिताउँदथे । मदहोस भएपछि तिम्रो सुन्दर वक्षस्थलमा मानिसले टेकिसकेका छन् भनेर गौरवको साथ जुनलाई भन्ने गर्दथे । तर, त्यस बेलुकी मलाई त्यो पापी जुनले केही आकर्षण गर्न सकेनन् । जुनको मुस्कानसँग घिन लागेर आयो । मनभित्र ठूलो वितृष्णा पैदा गराइरह्यो ।
त्यस्तो पापी जुनको दृश्यदेखि मेरो टाउकोलाई सर्लक्कै दायाँ फर्काइदिएँ । मेरा तृप्त नयनहरु भान्साकोठाको झ्यालमा पुगेर ठोकियो । भान्साकोठाको झ्याल बङलङ्गै दुईतिर खोलिएको थियो । त्यही झ्यालदेखि सिम्मा बाबुर छोराको मज्जाले रमिता हेरिरहेकी थिइन् ।
गोधुली साँझको फुरुरु हावाले झ्यालको पर्दा सरर हल्लिरहेका देखिन्थे । त्यसबेला मलाई सिम्माको टाउको र झ्यालको पर्दा एकअर्कामा लुकामारी खेलिरहेझै आभाष भयो । तर, उनको त्यो दर्दनाक हेराइले मलाई कति पीडा दिइरहेकी छिन् भनेर विचरी सिम्मालाई के थाहा होला ?
बानबुरीको मौसमको अँध्यारो पछ्यौरीले सडकलाई गल्र्याम्मै ढाक्न थालेको थियो । तरसडक किनारको बत्तिहरुले प्रातकालसँग जुहारि खेल्न कोशिस गरिरहेको थियो । बत्तीको प्रकाश कारभित्र छिरिसकेका थिएनन् । त्यसैले अँध्यारोमा निरजको शरीरको झिनोस्वरुप मात्रै मेरो आँखा सामन्ने नाचिरहेको थियो ।
म त्यसबेलासम्म सडक किनारमा एक्लै उभिरहेको थिएँ । अरुबेला खुरुरु साइकल कुदाइ हिँड्ने अङ्ग्रेजका स–साना नानीहरु मार्था, जोन, डेभिड र मिसाएल महामारीको डरले घरदेखि बाहिर निस्कन छाडिसकेका थिएँ । नत्रभने कठ्याङ्ग्रीदो बेलायती हिउँदले बिदा लिएपछि उनीहरुले सडकमा हरेक बेलुकी उधुम मचाउने गर्दथे ।
अस्तिको दिनदेखि बेलायतमा मार्च महिना भित्रिएको थियो । मार्च महिनाले रुख–विरुवा एवं वनस्पतिका कलिलापात र मुनाहरुलाई आत्मीयताको साथ स्वागत गरिरहेका यत्रतत्र देख्न सकिरहेको थियो । तर, त्यति राम्रो मौसमको आशामा बाँचेका बेलायतीहरु विश्वभरि फैलिरहेको कोरोना महामारिको त्रासदीले, ‘खाउभने ठेक्कै कान्छा बाबुको अनुहार’ भइरहेका थिएँ ।
‘ड्याडी ! आखिर म जानैपर्छ, बरु म गए है ?’
निरजले म तर्फ हेरेर अन्तिमचोटी विदा माग्यो । सडकमा झनझन साँझ छिप्पिदै गइरहेको थियो । कार भित्रका मानिसलाई चिन्न निक्कै कठिन हुन थालिसकेको थियो । छोरा सानो छँदादेखि सुनेको त्यो हिमचिमको अन्तिम आवाज मलाई अति कर्णप्रिय लागिरह्यो । प्रत्युत्तरमा म त्यति धेरै बोल्न सकिरहेको थिइनँ । त्यसैले दाहिने हात उठाएर भने, ‘छोरा ! आफू बाँच्नु र अरुलाई पनि बचाउनु है ?’
मेरो शब्द राम्ररी हावामा बिलिन हुन नपाउँदै फोर्ड, फिएस्टाको दायाँपट्टि सङ्केत बत्ति बल्न थाल्यो । विस्तारै चक्का गुड्यो र कारले आफ्नो गति क्रमशः अगाडि बढाइरह्यो । मैले राम्रोसँग सास तान्न पाउँदा नपाउँदै कार साउथाम सडकमा मिसिहाल्यो । केहीबेर अगाडिसम्म पापी जुनलाई गाली गरिरहेको थिएँ । त्यसबेला तीनै जुनको सहायताले फिएस्टालाई अनवरत नियालिरहें । निमेषभरमाफिएस्टा बानबुरीको बजारभित्र विलय भइहाल्यो ।
थोत्रो फिएस्टाले सडक किनारमा मलाई एक्लै छाडिराख्यो । म आफ्नै घरबाहिर बाटो हराएको एउटा अर्ध पागलझै बनेरएक्लै उभिरहें । केहीबेरमा चहकिलो बत्तीको प्रकाश छँर्दै एउटा गाडी मेरो सामुन्ने आएर टक्क रोकियो । बत्तीको चम्किलो प्रकाशले चालकलाई राम्ररी ठम्याउन सकिरहेको थिइनँ । तर, उसले गाडी रोक्ने बितिक्कै झ्याल खोलेर–
‘मेरो साथी ! अवस्था मानिसहरुले सोचेको भन्दा निक्कै नाजुक भएको छ । कोभिडको बिमारीहरुले होर्टन अस्पतालको विस्तारा पुरै भरिसकिएको छ ।’
नयाँ रेन्जरोभरमा आएको डा. जोन फ्रान्सिस मेरो पल्लो घरको छिमेकी हुन् । र, उनी हर्टन अस्पतालमा सिनियर कन्सल्टेन्टको काम गर्दथे । उसको मुखबाट निस्केको करुणामय स्वरले मेरो मनभित्रको सागरमा ठूलो ज्वारभाटा मच्चिन थाल्यो । किनभने मैले भर्खरै छोरोलाई आफ्नो कर्तब्यपथमा लम्किरहन है भनेर बिदाइ गरेको थिएँ ।
समयले नेटो काटिरहेको थियो, ‘घरभित्र पस्ने होइन ?’
सिम्माले छाडेकी उराठिलो स्वर बरालिँदै मेरो कानको जाली नजिक पुगेर ठोकियो । म त्यसबेला भयानक ठूलो त्रासदीको भुँमरीमा डुबिरहेको थिएँ । उसको स्वर सुनेपछि आत्मविश्वासको साथ घरभित्र पसें । अनि मनमनै सोचें, ‘संसारमा हुने हरेक चिजहरु क्षणिक हुन्छन्, र कुनै न कुनै दिन कोरोनाको पनि कसो अन्त्य नहोला ?’
घरभित्र पसेर सिम्माको थकित अनुहारलाई राम्ररी पढें । मेरो भित्री मन उनीसँग केही बोल्न खोजिरहेका थिएँ । तर, उनको फुङ्गै उडेको अनुहार देखेर मेरा ओठहरुलाई तालाचावी लगाइदिएँ । त्यसैले केही नबोली थपक्कै एउटा कुर्सी तानेर बसें । म त्यसरी कुर्सीमा बस्दा उनी मेरो ठीक विपरीत दिशामा बसिरहेकी थिइन् ।
‘अब छोरासँग भेट हुन्छ कि हुँदैन होला ?’
आँखाको नानीहरु गोलभेडाभन्दा राता राता बनाइन् र मेरो बायाँ छातीमा उनले पहिलो धनुषवाण प्रहार गरिन् ।
‘खै म पनि के नै भन्न सक्छु र ?’
जस्तो प्रश्न आएको थियो, उस्तै जवाफ फर्काइदिएँ । अझ छोरा चिकित्सक हुँदा सबैभन्दा बढी प्रशन्न त सिम्मानै भएकी थिइन् । तर कसलाई थाहा हुँदोरहेछ र ? ‘हरेक सुखको अन्त्यमा पीडाको भारी हुनेरहेछ,’ भन्ने ।
मलाई किनकिन सिम्मासँग गलबाजी गरिरहन मन लागेको थिएन । त्यसैले उनलाई भान्साकोठामा एक्लै छाडिराखें । त्यहाँदेखि निस्केर म बैठक कोठामा पुगें । निसबन्द अँध्यारो बैठक कोठा भूतबङ्गला जस्तै देखिएको थियो । सबैभन्दा पहिले टेक्कै बत्ति बालें । र, दुवैहात गालामा राखेर थपक्कै सोफामा बसें ।
बायाँपट्टि कुनामा एउटा पुरानो डेनम रेडियो थियो । आक्कलझुक्कल बज्ने त्यो रेडियोमा मेण्डरिन भाषाकी गायिका टेरेसा वङ्गको ‘म तिमीलाई असाध्यै माया गर्छु,’ भन्ने गीत बजाएर छोराको आकर्षक अनुहारलाई सम्झन थालें । रेडियोको ठीक सामन्ने एउटा ठूलो तस्वीर सङ्ग्रहको पुस्तिका थियो । त्यसलाई खोलेर हरेक पानामामज्जाले नजर लगाउन थालें । जहाँ निरज जन्मेदेखि ३० औं वार्षिकी मनाइन्जेलसम्मको तस्वीरहरु कैद गरिएर राखिएका थिएँ ।
म मदहोस पागलझै बने । केही लामो समयसम्म उसको तस्वीरहरु नियालिरहें । बानबुरीको कोलाहलमय सुनसान रात छिपिदै छिपिदै जाँदै थियो । तस्वीरले छियाछिया बनाएका दुःखी आत्मा लिएर विस्तारामा ढल्किनको लागि भरयाङ चढेर तलामाथि निस्कें । किनभने, ‘आखिर तस्वीर तस्वीर नै हुन्छ, त्यो जतिसुकै पृय भएपनि आवाजविहीन हुन्छन्,’ भन्ने मलाई लागिरहेको थियो ।
निरजले घर छाडेको दुईहप्ता भइसकेको थियो । बेलायतमा दिन दुई गुणा, रात चौ गुणा मानिसहरु मर्ने क्रम चलिरह्यो । छोराको मायालेसिम्मा बाटो भुलेको एउटा निमुखो जनावरको बच्चाझै बनीरहेकी थिइन् । अनि मैले त्यो खङरङ्ग परेको उनको निर्वल, निष्क्रिय र मधूरो अनुहारलाई हरेक साँझ–बिहान जीवन दिइरहनुपरेको थियो ।
अर्को हप्ता बिहीबारको दिन थियो । ८ बजे बेलुकी हामी घरको मूलढोका बाहिर निस्क्यौं । र, बेलायती ‘राष्ट्रिय स्वस्थ सेवाका’ कर्मचारीहरुलाई सम्झेर तालि बजायौं । त्यस दिनदेखि हरेक बिहीबार बेलुकी ८ बजे सबै छिमेकिहरुसँग एनएचएसका कर्मचारीहरुले आफ्नो जीवनलाई जोखिम मोलेर राष्ट्रको सेवा गरेकोमा ताली बजाएर उच्च मूल्याङ्कन गर्न पर्दथ्यो ।
दिन, हप्ता र महिना क्रमशः बित्दै गएँ । चार महिनापछि सिम्माले आफ्नो प्रिय छोरालाई भेटने असाध्यै रहर गरिन् । जुलाईको पहिलो सप्ताहन्तमा हामी अक्सफोर्डतर्फ लागेका थियौं । बेलायती ठूलो बाटो ‘एम ४०’ मा पुगेको मात्र थियौं । मोटरले किच्याएर मारेको एउटा फ्याउराको बच्चा हाम्रा अगाडि देखा परयो । मरेका फ्याउरा देखेर अनुहार कच्याकुचुक बनाउँदै सिम्मा बोल्न थालिन् ।
‘मानिस र जनावरको जिन्दगी कति फरक छ हगि ?’
केही सोच विचार नगरि उनको मुखदेखि फ्याट्ट निस्केको त्यो शब्दले मेरो हृदयथोरै कमजोरी बनाइदियो किनभने तिनै फ्याउराको बच्चा जस्तै हाम्रो पनि एउटा हुर्किसकेको बच्चा थियो । तिनै हुर्किसकेको बच्चा हाम्रो आशाको धरहरा पनि थियो । जसलाई भेटन हामी समयविरुद्ध बाटोमा गुडिरहेका थियौ तर, अचानक बाटोमा देखिएको मृत फ्याउराको बाबुलाई सम्झेर म केहिबेर भावुक बनिरहें ।
त्यसदिनको मौसम ज्यादै सफा थियो । चिल्टर्न पर्वतदेखि उदाएको सूर्यले दुई टाङ्गो यात्रा गरिसकेको थियो । सूर्यको गतिसँगसँगै हामीले आधाघण्टा यात्रा पूरा गरयौं । त्यसपछि, ‘१० नोवल सडक, अक्सफोर्डको’ ठीक सामुन्ने पुगेका थियौं । तीनै घरमा इटालियन डा. पाब्लो पियानो र ग्रिक नर्स उरानीय हाटसिउसँगै हाम्रो छोरोले डेरा गरेका थिएँ ।
मैले निरजको डेराभन्दा थोरै टाढा मोटर रोकें । सिम्माले छोराको लागि बनाइदिएका खानेकुराको पोको लगेर ढोकाको ठीक अगाडि राखिदिइन् । त्यसपछि, उनी फर्केर मोटरभित्र आइन् । उनी मोटरभित्र छिर्ने बित्तिकै मैले छोरालाई फोन गरेर हामी बाहिर आइपुगेको जानकारी गरें ।
बेलायती लकडाउनले चार महिनासम्म बढेर वशिष्ठ ऋषीको जस्तो केश, नाकर मुख जम्मै ढाकेका सर्जिकल मास्क र हातमा निलो पञ्जा लगाएर छोरा उसको डेरादेखि बाहिर निस्क्यो । खङरङ्ग घटेर लुते भएको छोरोले त्यहीँ ढोकाको नजिकै उभिएर हामीसँग फोनमा कुरो गर्न थाल्यो ।
‘छोरा ! यस्तो दिन पनि आउने रहेछ हगि ?’
मलाई उछिन्दै सिम्मा पहिले बोल्न थालिन् । हामीले त्यसबेला कारको स्पिकर फोन प्रयोग गरिरहेका थियौं । आफ्नै छोरासँग प्रत्यक्ष भेटेर बोल्न नपाउँदा सिम्माको अनुहारमा कालो बादल मडारिरहेको स्पष्ट देख्न सकिन्थ्यो । तर, उनले छोरासँग बोल्ने क्रममा पटक पटक आँखाका ढकनीहरु बन्द गर्दै खोल्दै गरिरहेकी मैले नजिकबाट नियालिरहेको थिएँ ।
उनको गहभरि आँसु थियो र हरेक शब्दहरुसँग आँसुका थोपाहरु मिसिरहेको हुन्थे । मैले केहीबेरपछि तरल तरल उनको नयनहरु रगताम्य देख्न थालेको थिएँ अनि क्रमशः छचल्कियर पोखिएका उनका आँसुका थोपाहरु गलाको पछ्यौरीमा विश्राम गर्न थालेका थिएँ ।
सिम्माको त्यो ब्यवहारले मलाई हल्का वृस्मिति पैदा गराइरहेको थियो । सायद उनलाई थाहा नहुन सक्छ, ‘सबैभन्दा ठूलो कुरो भनेको त आखिर जिन्दगी नै हो ।’ जीवन र जगत छ, त्यसैलेगर्दा हामी छौं । नत्रभने मरेपछि त सकिहाल्छ नि । त्यसपछि जिन्दगी केवल फगत एउटा सुकेको काठका मुढाजस्तै त हो । अनि मृत्यु कति दुष्ट, निर्दयी र पापी हुँदोरहेछ । यिनै कोरोनाको कारणले ज–जस्ले आफन्तहरु गुमाइसकेका छन् । उनीहरुलाई परेको ब्यथाको पीर मलाई राम्रैसँग थाहा थियो । उनीहरुको ‘आँसुको भाषा’ मैले मज्जाले बुझिसकेका थिएँ ।
यदि उनले भनेझै छोरालाई नजिकदेखि भेटेको भए त्यो एउटा जोखिमपूर्ण निर्णय हुने थियो । किनभने, उसको फ्लाटमा बस्ने साथीहरु जेआर अस्पतालको ‘कोभिड विभागमा’ काम गरिरहेका थिएँ । त्यहाँको कोभिड विभागमा हरेक दिन नयाँ बिरामीहरु थपिरहेका हुन्थे । त्यसरी दिनहुँ नयाँ बिरामीहरु आउँदा उनीहरुले पुराना बिरामीहरुलाई हरेक दिन गुमाइसकेका हुन्थे । प्रत्येक दिन त्यहाँ घट्ने त्यस्तो पीडादायक घटना छोरालेहामीलाई सुनाइरहँदा ऊ आँसुको सागरमा डुबिरहेका थिएँ ।
तर अन्तमा, ड्याडी ! घर आउन एकदम रहर लागिरहेको थियो । अनि सुन्नोस् न म हप्तामा दुई–तीनचोटी ‘फोसकोट’ निजी अस्पताल बानबुरिजाने गरिरहेको छु । र, त्यहाँ जाँदा हाम्रो घरको अगाडिदेखि जानुपर्ने हुन्छ । त्यसरि घरको अगाडिदेखि जाँदा घरको ढोका ढकढक्याउन मन लागिरहेको हुन्छ । तर, तपाईहरु म सँग डराउनु हुन्छ होला भनेर कहिले घरभित्र पस्ने कोसिस गरेको छैन् । तैपनि ‘मम्मी’ ले बनाउनु भएको खानेकुराको बासनासँग सँगै हार्डविक हिलको बाटो काटेर अक्सफोर्ड आउने गर्दथें ।
‘म अब कहिले घर आउनु पाउँछु होला ?’
निरजको पीडादायक त्यो प्रश्नले मलाई ‘चिकित्सकको बाबु’ हुनु जतिको पीर अन्य समयमा कहिले भएका थिएनन् । मेरा अस्थिपञ्जरले साठी हिउँदका भारीहरु खपिसकेका थिएँ । तर, त्यतिको दर्द कहिले भोगेको थिइन् । अब छोरासँग बाँकी प्रश्नको अपेक्षा गर्न छाडें । र, उसको तीनै शब्दलाई अन्तिम शब्द बनाउने निर्णय लिएँ । त्यसपछि, केही नबोली टिट टिट हर्न बजाँउदै बाटो लागें । केही अगाडि पुगेर अन्तिम चोटि बिँचको ऐनामा उसलाई एकझलक हेरें ।
त्यसबेलासम्म उसले हामीलाई हेरिरहेको थियो । अनि उसको दाहिने हात माथिमाथि आकाशतिर उठिरहेको थियो ।
हामी एक घण्टापछि बानबुरीको गोलघुम्तीमा पुगिसकेका थियौं । सधै ब्यस्त रहने त्यो घुम्तीमा त्यसबेला एउटै गाडीहरु देखापरेका थिएनन् । तर, साउथम रोडको ट्राफिक बत्तीमा मैले मोटर रोक्दा हाम्रो अगाडि एउटा र पछाडि अर्को कालो मर्सिडिज शवबाहनहरु देखा परिरहेका थिएँ । अरुबेला शवबाहन मलामीहरु बोक्ने पुच्छ्रे मोटरको अगाडि अगाडि हिँडिरहेका हुन्थे ।
तर, त्यसदिन पुच्छ्रे मोटरबिना शवबाहनको विचौबिचमा हामी परेको देखेर–
‘बुढो ! कोरोनाले कुनदिन कस्लाई लानेहोला ? अनि यसरी शवबाहनमा को पहिले चढ्नुपर्नेहोला ? त्यसैले त्यो दिन नआएपनि हुन्थ्यो ? भन्ने सिम्माको प्रश्न आउँदा मैले अघि नै आँखा बन्द गरिसकेको थिएँ ।
बुइपा खोटाङ, हालः अक्सफोर्ड, बेलायत

प्रकाशित मिति: मंसिर १० २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend