धरानः धरान–१४ को विजयपुरको जङ्गलमा रहेको ‘पञ्चकन्या जङ्गल’ मा एक समूहले कार्वन सञ्चिती अध्ययन–अनुसन्धान शुरु भएको छ । पहिलोपटक एउटा समूहले यसको अध्ययन अनुसन्धान थालेको हो । यसको अध्ययन र अनुसन्धान किन र के का लागि ? यसपटकको ‘सबैसँग वार्ता’ स्तम्भमा अध्ययन अनुसन्धान संयोजक तथा केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका क्याम्पस प्रमुख डा.दिलकुमार लिम्बूलाई समेटेका छौं । भनौं उनी वनस्पति विज्ञ हुन् । उनले पूर्वी उच्च हिमाली क्षेत्रमा कार्वन सञ्चितीबारे वैज्ञानिक अध्ययन अनुसन्धान गरेर विद्यावारिधी समेत गरेका छन् ।
सरलाई कार्यक्रममा स्वागत छ ? आरामै हुनुहुन्छ ?
# आरामै छु ।
अहिले के मा व्यस्त हुनुहुन्छ ?
# म अहिले कार्यालयकै काममा व्यस्त छु । साथै कार्वन सञ्चितीबारे केही सहपाठी मित्र र विद्यार्थीहरुसँग मिलेर अनुसन्धानको काम भइरहेको छ ।
जुन विषयमा तपाईले विद्यावारिधी गर्नुभएको छ, त्यो बारे पनि केही बताइदिनुहोस् न ।
# विशेषगरी पिएचडीचाहिँ हिमाली क्षेत्रको चरन क्षेत्रमा कार्वन सञ्चिती माटोमा कति रहन्छ र त्यसमा पनि चरिचरन रहेको क्षेत्रमा कति रहन्छ र थोरै चरिचरन भएको र हुँदै नभएको क्षेत्रमा कति रहन्छ भन्नेबारेमा मैले अनुसन्धान गरेको थिएँ, मेरो पिएचडीको ‘टपिक्स’ नै यही थियो ।
त्यसमा मैले के पाएँ भने कार्वन सञ्चिीतको बारेमा जुन चरिचरन हुँदै नभएको ठाउँमा भन्दा कहिले चरिचरन भएको, कहिले नभएको ठाउँमा चाहिँ बढी भएको पाइयो र एकदमै बढी चरिचरन भएको क्षेत्रमा पनि कार्वन सञ्चिती थोरै भएको पाइयो । मेरो ‘जिष्ट’ कुराले भन्छ– कहिलेकाहीँ महिनामा, दुई महिनामा एकपल्ट, दुईपल्टजस्तो राम्रै चरिचरन भएको क्षेत्रमा पनि कार्वन सञ्चितीको मात्रा त्यो माटोमा बढी भएको पाइयो ।
नेपालमा कार्वन सञ्चितीबारे अध्ययन–अनुसन्धान नभएकै हो ?
# नेपालको वनजङ्गलमा कार्वन सञ्चिती बढी मात्रामा छ । विशेषगरी कार्वन सञ्चिती भनेको वनस्पतिहरुले गर्ने कार्वन सञ्चिती हो । र माटोले पनि कार्वन सञ्चिती गर्ने हुँदा माटोमा पनि कार्वन सञ्चिती रहेको हुन्छ । नेपाल सरकारले जलवायु परिवर्तन, मौसम परिवर्तनको कुरा आएपछि चासो राखेको छ, र एनजिओ, आइएनजिओले पनि काम गरेका छन् । तर नेपालको वनजंगलले धेरै कार्वन सञ्चिती गरिरहेको छ तर यसको यकिन डाटा छैन । कति कार्वन सञ्चिती भयो भन्ने डाटा आए कार्वन सञ्चितीमार्फत् विदेशी रकम पनि आउँछ । तर डाटा नभएकोले दावी हराएको छ ।

धरानमा अनुसन्धान भइरहेको छ–यो कस्तो अनुसन्धान हो ?
# धरानको पञ्चकन्या जंगलमा जुन अध्ययन अनुसन्धान भइरहेको छ । हामीले माटो, बुट्यान, पतकर आदिमा कति कार्वन सञ्चितीबारे अध्ययन अनुसन्धान गरिरहेका छौं ।
त्यो एउटा ‘पाइलट प्रोजेक्ट’ जस्तो हो । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा यस्तो काम भइरहेको छ । यो अध्ययन अनुसन्धानले एउटा डाटा तयार हुन्छ, जुन नेपाल सरकारलाई सहयोगी बन्नेछ अर्थात् आधार तयार हुन्छ ।
कस्तो र कसरी अध्ययन भइरहेको छ ?
# सो जङ्गलमा रहेको माटो, सुक्ष्म जीवाणु, पोथ्रा, बुट्यान तथा रुख विगरुवाहरुमा सञ्चित कार्बनको मात्रा के कतिसम्म छ भनेर सुक्ष्म अध्ययन भइरहेको हो ।
रिपोर्ट कहिलेसम्म आउँछ ?
# लगभग दुई महिना लाग्ला ।
डाटा आएपछि कसलाई के फाइदा ?
# यसले समाज र सरकारलाई फाइदा पुग्छ । रुख जोगाउँदा वा काटछाँट गर्दा पनि हरेक कुरामा विचार गर्नुपर्दछ । न्युनतम युज गर्ने आधारअनुसार कमभन्दा कम बोटविरुवा प्रयोग गरयौं भने धेरै फाइदा पुग्छ । त्यस्तै, सरकारले पनि हाम्रो आधारलाई मानेर अन्य ठाउँका जंगलमा कार्वन सञ्चितीबारे अध्ययन अनुसन्धान गर्ने हो भने फाइदा पुग्छ । यसले सरकारलाई डाटा निकाल्न आधार तय गर्ने हुनाले त्यही आधारमा डाटा निस्किन्छ र त्यो डाटाले कार्वन सञ्चिती कोषमा रहेको रकम ल्याउन सकिन्छ । भनौं भविष्यमा नेपालले कार्बन ट्रेडिङ (व्यापार) गर्न सक्ने बाटो खुल्नेछ ।
यसको लागि वृहत अध्ययन अनुसन्धान जरुरी होला नि ?
# अवश्य पनि नेपालमा यसको बृहत अध्ययन अनुसन्धान जरुरी छ । यसको लागि सरकारले योजना पनि बनाएको छ । कार्वन सञ्चिती गरेर नेपाल सरकारले रकम लिन चार–पाँच ‘स्टेप’ चाहिन्छ । यसको लागि सरकारले मौजुदा कार्वनबारे निख्र्यौल हुनुपर्दछ र सञ्चितीका लागि वनजंगल कटान रोक्नुपर्दछ । वनजंगल जोगाउन ध्यान दिनुपर्दछ । वनजंगल छेऊछाउमा आश्रित जनसमुदायलाई वैकल्पिक स्रोतका व्यवस्था गर्नुपर्दछ ।
सरकारले के गर्नुपर्दछ ?
# कार्वन सञ्चितीका लागि सरकारले काम गर्न थालिसकेको छ । प्लान बनाएर अघि बढ्न जरुरी छ । कुन कुन ठाउँ र क्षेत्रलाई कार्वन सञ्चितीको बारेमा छुट्याइएको छ, त्यसको हिसाब निकाल्न लाग्नुपर्दछ । सरकारले विशेषतः नेपालका सबै वनजंगलमा अध्ययन अनुसन्धान गरिरहेको छ तर पार लगाउन सकेको छैन । त्यसैले सरकार ‘सिरियस’ भएर अघि बढ्नुपर्दछ ।




