Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आजको स्तम्भः रमाइलो शनिबार

हाम्रो कोशी आवाज
मंसिर १३ २०७७, शनिबार
आजको स्तम्भः रमाइलो शनिबार

विद्यार्थी आउलान् ?

कविन श्रेष्ठ

बालबालिकाका साथै देशको शैक्षिक भविष्यलाई मध्यनजर गर्दै हामीले विद्यालयको गतिविधिलाई नवीन, सुरक्षित तथा प्रभावकारी ढङ्गबाट सञ्चालनका लागि पहल गर्न जरुरी छ ।
विश्वव्यापी कोभिड महामारीका कारण गएको चैत ११ गतेदेखि बन्द रहेका स्कुल अहिलेसम्म खुल्न सकेको छैन । केही विद्यालयले अनलाइन कक्षा चलाएपनि त्यो समेत प्रभावकारी छैनन् ।
देशभरका केही ठाउँमा विद्यालयहरु खुल्न थालेका छन् । तराई मधेशका केही जिल्ला, पहाडी क्षेत्र र हिमाली जिल्लाहरुमा सामुदायिक विद्यालय खुल्न थालेका हुन् । तर, स्थानीयस्तरको पहलबाट ती विद्यालय खुल्न थालेका हुन् ।
लकडाउन र निषेधाज्ञाका कारण ७५ लाख बालबालिकाले यो शैक्षिक सत्र झण्डै आधा त गुमाइसकेका छन् । जबकी, महामारीको प्रभाव उच्च जनसंख्या रहेको शहरी क्षेत्रमा बढी छ भने पहाडी तथा हिमाली जिल्लाहरुमा ठूलो असर गरेको छैन । यसर्थ, अब कम जोखिम रहेको क्षेत्रहरुमा कक्षा सञ्चालन गर्नु उचित हुनेछ । धेरै विद्यार्थी भएका विद्यालयमा पनि आवश्यक सतर्कता अपनाउँदै कक्षा सञ्चालन गर्नु उचित हुनेछ ।
यसरी खोल्न सकिन्छ विद्यालय
–हरेक विद्यार्थी तथा शिक्षकलाई सुरक्षाको पूर्ण प्रत्याभूत हुनेगरी सबै सुविधाको व्यवस्था गर्नेर गराउने । जस्तैः नियमित साबुनपानीले हातधुने स्टेसनको सहज पहुँच, कक्षाका टेवलमा स्यानिटाइजरको व्यवस्था, मास्क, सम्भव भए रबर पञ्जाको व्यवस्था गर्ने र गराउने, विद्यालय खोल्दा भौतिक दूरी कायम गर्ने, मास्क लगाउने कुरा अनिवार्य गर्नुपर्छ । भौतिक दूरी कायम गर्दा एउटा कक्षामा थोरै मात्र विद्यार्थी राख्न सम्भव नहोला, कक्षाकोठा धेरै व्यवस्था गर्नुपर्ला । शिक्षकहरुको पनि अभाव होला । यसलाई पनि व्यवस्थापन गरौं । विद्यालय खोलेपछि गर्ने तयारीबारे विद्यालयमार्फत् शिक्षक र कर्मचारीलाई तालिम दिऔं । कोरोनाबाट बचौं र बचाऔं, विद्यालय खोलौं र पढाऔं ।
कति विद्यार्थी आउलान् स्कुल ?
‘स्कुल खुलेपछि करिब एक करोड बालबालिकाहरू विद्यालय नफर्किन सक्छन्’ सेभ द चिल्ड्रेनले विश्वव्यापीरूपमा गरेको एउटा अध्ययनले निष्कर्ष निकालेको छ । अध्ययन अनुसार १२ देशका बालबालिका यतिबेला सधैंका लागि स्कुल छोड्ने उच्च जोखिममा छन् । लामो समय स्कुल बन्द भएपछि बालविवाह र किशोरावस्थामै गर्भ रहने समस्या पनि देखिएको छ । कोरोना महामारीको प्रभावले घरपरिवारमा समस्या हुँदा धेरै बालबालिकाहरू बालश्रम गर्न बाध्य हुने सो अध्ययन प्रतिवेदनले बताएको छ । कोरोना महामारीका कारण विश्व नै प्रभावित भइरहेको बेला शिक्षा क्षेत्रले पनि ठूलो क्षति व्यहारेको र यसको प्रभाव स्कुल खुलेपछि देखिने शिक्षाविद्हरूको अनुमान छ । नेपालको सन्दर्भमा पनि कोरोनाकालपछि शिक्षा क्षेत्रमा ठूलो चुनौति देखिनसक्ने विश्लेषण शिक्षाविदहरुले गरेका छन् ।

कोरोना कहरकै बेला धेरै ठाउँमा बालविवाहको संख्या बढेको बाल अधिकारका लागि राष्ट्रिय अभियानको ठहर छ । सार्वजनिक भएका पछिल्ला समाचारले अभियानको दावीमाथि बल पुगेको छ । जस्तो, लकडाउनमा मकवानपुरमा हुन लागेको १५ वटा बालविवाह सिभिल बाल हेल्पलाइनको सहयोगमा रोकिए । हेटौंडा उपमहानगरसहित पाँच स्थानीय तहमा १५ बालविवाह रोकिएका थिए । बालविवाह बढ्दै गएपछि उनीहरुको पढाइमा प्रभाव पार्ने र विद्यालय नफर्किने सम्भावना अत्यधिक हुने अधिकारकर्मीहरू बताउँछन् ।
शिक्षाविद्हरुले के आशंका गरेका छन् भने स्कुल सञ्चालनमा आए पनि सरकारको तयारी नपुगेकाले शिक्षा प्रणालीमा समस्या आउनसक्छ । यस्तै, पठनपाठन छुटेयता विद्यार्थीहरूले धेरै कुराहरू बिर्सिसकेको शिक्षाविद्को अनुमान छ । लामो समयदेखि विद्यालयबाट टाढा रहेका बालबालिकालाई विद्यालय ल्याउन आकर्षित गर्नुपर्ने शैक्षिक अभियन्ताले बताउँदै आएका छन् ।

बालकथाः नामपनि ‘कोरोना हजुर आमा’

हरि आत्रेय

‘भाइ बैनी हो, भोली देखी टिफिनमा जङ्क फुड नल्याउनु है । स्कुलमा यस्तो निर्णय भएको छ ।’ छुट्टी हुने बेला मिसले सुनाउनुभयो ।
भोली पल्ट स्कुल जाने बेला भयो । ममिले टिफीनमा मलाई मन पर्ने चाउचाउ दिनुभयो ।
‘ममि आज देखी जङ्क फुड लानपाइदैन रे । मिसले भन्नु भाको ।’
‘बेलुका नै भन्नु पर्दैन त ?’
‘बेलुका होमवर्क गर्दा गर्दै भन्नै बिर्सेछु क्या ममि ।’
‘केही तयार छैन,के गर्ने त ! आज यही लैजाउ । भोली देखी बनाउँला । काममा जान ढिला भइ सक्यो ।’ प्वाँ, प्वाँ, प्वाँ, । गाडीले हर्न बजायो ।
ममीले झोला मिलाइदिनु भो र बस चढाएर काममा जानुभयो । मनमा धेरै डर लागिरहेको थियो । आज मिसको पिटाइ खानुपर्ने भयो । के गरौं के गरौ भइरहेको थियो । बसमा सगै बसेको मिल्ने साथीलाइ साधें ।
‘बसुधा हेर न, मैले त ममिलाइ भन्न बर्सेछु ।’
‘के कुरा ?’
‘हिजो मिसले टीफिनमा जङ्क फुड नल्याउनु भनेको कुरा ।’
‘के ल्यायौ त ?’
‘उही मेरो मन पर्ने चाउचाउ । गेटमै चेक हुन्छ होला ? भनन् के गर्ने ?’
‘रेखा, फाल्देउ । पिटाइ सानु भन्दा त फाल्नु नै बेस ।’
‘नाइ बसुधा । मैलाई एउटा आईडिया आयो ।’
‘के आयो त्यस्तो अइडिया ?’
‘हाम्रो स्कुल नजिकै बस्ने माग्ने बुढी आमालाइ दन्छु ।’
स्कुल आइपुग्यो । सबैजना बसबाट रुओर्लन थाले । गेटपाले अंकलले सबैको झोला चेक गर्न थाल्नुभयो । म बाहिर तिर लागें अंकलल देख्नु भएछ ।
‘रेखा, ए रेखा कता गएको ? आउ ।’
‘अंकल, म कलम किन्न गाको ।’
‘ल छिटो आउ है ।’
हतार हतारमा अमालाई चाउचाउ दिएर फर्कीहाल्याँ । धन्न पाले अंकलले देख्नु भएनछ ।
‘खै त तिम्रो टिफीन ?’ पाले अंकलले सोध्नु भयो । म अक्क न बक्क भएँ । ‘ए, व्यागमा राख्न छुटेछ अंकल ।’
‘ल भोलिदेखि नबिर्सिनु है ।’ पाले अंकलले भित्र पठाउनु भयो । अंकललाई ढाँटेकोमा मनमनै पिरपरिरहेको थियो ।
‘भाई बैनीहरू अर्को सूचना नभए सम्म स्कुल छुट्टी छ है ।’ मिसले भन्नुभयो ।
‘के को मिस?’ रेखाले सोधिन् ।
‘विश्व भरी कोरोना भन्ने रोग आएको छ । यो सरूवा रोग हो । मानिस बाट मानिसमा अति छिटो सर्छ । हामी घर घरमा सुरक्षित भएर बसेमा यो रोग सर्न सक्दैन । त्यही भएर । अर्को सूचना नभए सम्म घरमै बस्नु है । बाहिर नजानु । घरमा पनि सबैलाई त्यसै भन्नु ल ?’
‘हुन्छ मिस ।’ हामी सबै छुट्टी भनेपछि धेरै खुसी भयौं । पुलिसले बाहिर कोही हिँड्न दिएन । घरमै लकडाउनमा राख्यो ।
टिङ,‘.. टिङ । घरको घण्टी बज्यो । पुलिस आएको रहेछ । बाबाले एक बुढी आमालाई हातमा समातेर भित्र ल्याउनुभयो । आमाको हातमा एउटा कागज पनि थियो । बाबा त्यो कागज हेर्दै आमाको अनुहार हेर्दै पिलपिल रोइरहनु भएको थियो । ‘बाबा किन रुनु भएको ?’ बाबा झन् बेस्सरी रूनुभयो ।
‘नानु मेरो बाबा, तिम्रो हजुर बाबा बितेपछि आमामा बिर्सने, एकोहोरिने रोग लाग्यो । धेरै उपचार गरियो । निको भएको थिएन । एक दिन आमा राति उठेर हिँड्नु भएछ । धेरै खोजियो । सूचना गरियो । कहीँ फेला पारिएन । आश मारेर बसियो । अहिले कोरोना रोग विश्वभरी नै महामरीको रूपमा फैलिएको छ । महामारीको बेलामा कोही बाहिर निस्कन पाइँदैन । सडकमा बन पाइँदैन । सडकमा रहेका असहायलाई घर ठेगान खोजीखोजी पुलिसले घरमा पुरयाउने गरेको छ । यो हजुर आमाको नागिकता हो । यसैको अधारमा पुलिसले आज घर ल्याइदिएको छ । त्यैले म खुसीमा रोएको हो छोरी ।’
मैले यसो नियालेँ । वहाँ त मैले चाउचाउ दिएको आमा पो हुनुहुदो रहेछ । धन्य बाबा,कोरोनाको कारणले आज हामीले हजुर आमा पायौं । अब नाम पनि ‘कोरोना हजुर आमा’ राखौं है बाबा ।

कविता

कैले खुल्ला स्कुल ?

-छन्दः इन्द्रबज्रा

खै पाठशाला कहिले खुलेर
जाऔं भनी उत्सुक हुन्छु हेर
सुन्दैछु खुल्दैन अझै कडाई
भो यो बसाई तर खै पढाई (१)

पैला त मज्जा घरमा बसेर
हेर्दै टिभी बित्दछ यो भनेर
बाबा र आमासँग बस्न पाई
हाँस्दै रमेथें नित दङ्ग हाई (२)

भन्थे नि बाबा अब पढ्नु पर्छ
भन्थिन् नि आमा घर बुझ्नु पर्छ
सक्दो सघाएँ घर काम आमा
हल्का पढाई पनि भो बिदामा (३)

साथी र भाई सब दूर बस्छन्
लाग्यो कहाली कव भेट हुन्छन्?
एक्लो छु एक्लो मनमा निरास
बढ्ला कि झैँ हुन्छ र अड्छ सास (४)

छुट्टी हुँदा दङ्ग परेर नाच्थें
भो दिक्क ऐले मुड छैन हाँस्ने
कैले हुने हो अब त्यो पढाई
छिट्टै खुले पढ्दछु है रमाई (५)

पढ्नेछु भन्दै घरमा बसेर
पल्टाउँदै पुस्तक हेर्छु धेर
घुस्दैन केही दिल भित्र हेर
निस्ताउँदै भो दिउँसै अँधेर (६)

सोध्दा छिमेकी घरमा रहेका
साथी निकै छन् सँगमा पढेका
मेरो जसै हाल छ छैन भिन्न
मस्तिष्कको खेल छ यो अभिन्न (७)

हो पाठशाला सबका घरै त्यो
सर्वोषधी वा भन अमृतै हो
छिट्टै हटोस् कोभिड रोग सारा
चाँडै खुलोस् भन्दछु यै पुकारा (८)
अनलाइनबाट

कविता

जाडो भगाएँ

-रमेशचन्द्र घिमिरे

आमासँग पिरोली स्विटर मगाएँ
न्यानो स्विटर लाएर जाडो भगाएँ

मक्ख पर्दै ऊनीको टोपी लगाएँ
टोपी लाउन पाएर जाडो भगाएँ

ढुङग्रो फुकी भुङ्ग्रोमा आगो जगाएँ
एक्लै आगो तापेर जाडो भगाएँ

घाममा सिरक सुकाउन दाइलाई सघाएँ
तातो सिरक ओढेर जाडो भगाएँ

कठ्याङ्ग्रीएँ चिसाले आँसु बगाएँ
बाको काखमा बसेर जाडो भगाएँ ।

अभिषेक थापा, सुनगाभा इङ्लिस बोर्डिङ स्कुल, धरान-१३

गोरेः ल भन त काले …अण्डा र कुखुरी मध्ये को पहिला यो धर्तीमा को आयो होला ?
कालेः कुखुरी नि…।
गोरेः कसरी ?
कालेः पहिला कुखुरी नआएको भए अण्डा माथि त भगवान नै बस्नु पर्दथ्योे नि ।

………………………………………………………………………………………………………………………………………………………………………………………………………………..

श्रीमान–श्रीमती एक सिक्काका दुई पाटो हुन्, त्यसैले उनीहरु एकअर्कालाई हेर्न नचाहँदा नचाहँदै पनि जीवनभर साथै रहन्छन् ।

कक्षामा शिक्षकले एकदिन विद्यार्थीहरुलाई एउटा पेज दिएर आफ्नो प्रेमी, प्रेमिकाको नाम लेख्न लगाएछन् ।
एउटा छात्रबाहेक सबैले दुई सेकेण्डमा नै नाम लेखेर सरलाई बुझाएछन् ।
दश मिनेटपछि त्यो छात्राले उठेर : सर..! थप कपी…दिनुहोस् न ।

………………………………………………………………………………………………………………………………………………………………………………………………………………..

गिलास उल्टो समात्दै कालेः होइन यो गिलास को मुर्खले बनाएको यसमा पानी कसरी राख्ने हो अनि जसोतसो राखिहाल्यो भनेपनि तलतिर खुल्लै छ,कसरी अडिन्छ पानी ।

………………………………………………………………………………………………………………………………………………………………………………………………………………..

काले र गोरे वनमा घुम्न जादाँ एक्कासी अगाडि चितुवा आयो । चितुवालाई देखेर गोरेले एक मुठ्ठी माटो हातमा लिएर चितुवाको आखाँमा फ्याक्छ अनि कालेको हात समातेर भाग काले भाग काले भन्छ ।
तर कालेः म किन भाग्ने चितुवाको आखाँमा माटो त तैले फालेको हो नि ।

………………………………………………………………………………………………………………………………………………………………………………………………………………..

कालेले पुलिसको जागिर पाएछ अनि यस्तैमा एकदिन राति उसकै घरमा चोर आएछन् । कालेको श्रीमती आत्तिँदै…ए हजुर उठ्नु न । घरमा चोर पस्यो ।
कालेः पस्न दे । म अहिले डिउटीमा छैन ।

आयो है झुटो बोलेको पत्ता लगाउने मेसिन

कुनै पनि मान्छेले आफूले अपराध गरेपछि हत्तपत्त आफूले त्यो आराध गरेको कुरा स्वीकारिहाल्दैन । यस्तो अवस्थामा त्यो मान्छेले झुटो बोलिरहेको छ भन्ने कुरा पत्ता लगाएर उसलाई त्यो कुरा अनुभूत गराउनु जरुरी हुन्छ । के यसो गर्न सम्भव हुन्छ ?
आधुनिक विज्ञान–प्रविधिको उन्नतिले त्यो कुरा सम्भव तुल्याएको छ । यसको लागि झुटो समात्ने विभिन्न प्रकारका मेशिनहरु नै पनि आविष्कार भएका छन् । मान्छे जब झुटो बोल्छ, त्यसबेला उसको शरीरमा कतिपय परिवर्तनहरु भइरहेको हुन्छ । उदाहरणको लागि, झुटो बोल्दा मान्छेको स्वभाविक आवाजमा अन्तर आएको हुन्छ, उसले बारम्बार थुक निलिरहेको हुन्छ, ऊ भित्री रुपमा डराइरहेको हुन्छ, उसको मुटुको धड्कन, मानसिक उत्तेजना, सासको गति र रक्तचाप बढिरहेको हुन्छ ।
झुटो पक्रने मेसिनले झुटो बोल्दा मान्छेको शरीरमा हुने यिनै परिवर्तनहरुलाई, झुटो बोल्ने मान्छेको आन्तरिक भावनाहरुलाई समातेर, पूरा संवेदनशीलताका साथ ग्रहण गरेर त्यसको रेकर्ड बनाउँछ । त्यही रेकर्डलाई विशेषज्ञहरुले विश्लेषण गरेर त्यो मान्छेले कहाँ कहाँ झुटो बालेको छ भनेर किटानीसाथ नै भन्न सक्छन् ।
कुनै पनि मान्छेले ढाँटेको छ कि छैन भनि पत्ता लगाउने मेसिनलाई लाइडिटेक्टर भनिन्छ । यो मेशिनलाई पोलिग्राफ पनि भनिन्छ । यस मेशिनको आविष्कार १९०८ मा डा. जेक्स मैकेजीले गरेका थिए । मान्छेले झुटो बोलेको छ कि छैन भन्ने कुरा जाँच्नका लागि उसको रक्तचाप र श्वास प्रश्वासको गतिलाई विश्लेषण गरेर अध्यन गर्ने प्रयास १९औं शताब्दीदेखि नै हुँदै आएको छ । डा. मैकेजीको मेशिन यसैमा आधरित थियो ।

उनको यो मेशिनलाई व्यवहारिक रुपमा अझ भरपर्दो बनाउने काम जोन ए लार्सनले गरेका थिए । क्यालिफोर्निया युनिर्भिर्सटीमा मेडिकल साइन्सका विद्यार्थी लार्सनले १९२१ मा तयार गरेको मेशिनले लगातार रुपमा रक्तचाप र श्वासप्रश्वासको रेकर्ड दिन्थ्यो ।
मान्छेको मस्तिष्कमा हुने कुनै पनि क्रियाकलापले मान्छेको भौतिक गतिविधिमा प्रभाव पारिरहेको हुन्छ । सामान्य अवस्थामा मान्छेको रक्तचाप, हात औलामा आएको पसिना मात्र, सास र नाडीको गतिहरुको स्थितिमा ठूलो अन्तर हुन जान्छ । झुटो पक्रने मेशिनले बयान दिने व्यक्तिको शरीरमा हुने यही ४ किसिमका भौतिक गतिविधिहरुलाई एक साथ ग्रहण गरेर त्यसको ग्राफ बनाइदिन्छ । र, त्यही ग्राफमा देखापरेको उतारचढावको आधारमा परीक्षण गरिएका व्यक्तिले झुटो बोले नबोलेको ठम्याइन्छ ।
मान्छेको बयानको सत्यता जाँच्नको लागि यो मेशिनको प्रयोग गर्दा सबैभन्दा पहिले बयान लिने मान्छेलाई मेशिनको अगाडि राखिन्छ । त्यस अवस्थामा ऊसंग सामान्य कुराकानीहरु गरेर मेशिनमा उसको भौतिक गतिविधिहरुको ग्राफ सामान्य स्तरमा रहने गरी कुराकानी गरिन्छ । त्यसपछि उसलाई लक्षित कुराबरे केरकार गरिन्छ । त्यस अवस्थामा उसले बयान दिँदा उसको शरीरमा आउन थालेको भौतिक परिवर्तन अनुरुप मेशिनले अंकित गर्ने ग्राफको स्तरमा स्तरमा पनि फेरबदल हुन थाल्छ । यसरी फेरबदल हुने क्रममा मेशिनमा ग्राफको स्तर तीन गुना बढ्यो भने त्यो व्यक्तिले झुटो बोल्दैछ भनेर मानिन्छ ।
झुटो बोलेको पक्रने अर्को एउटा मेशिन पनि छ, जसलाई ‘साइकोलोजिकल स्ट्रेस इवेल्यूएटर’ भनिन्छ । यो मेशिन सिगरेडको डब्बा जत्रो आकारको हुन्छ । बयान दिँदा मानिसमा पैदा हुने मानसिक तनाबको विश्लेषण गरेर यस मेशिनले उसले झुटो बोले, नबोलेको पत्ता लगाउँछ । यस मेशिनले मान्छेले झुटो बोल्दा मान्छेको आवाजमा अस्वभाविक उत्तरचढाव आउँछ भन्ने सिद्धान्तमा आधारित भएर काम गर्छ ।
यस मेशिनले मान्छेले बयान दिँदा उसको बोलीमा कहाँ स्वभाविक उत्तारचढाव छ भन्ने कुरालाई ग्राफमा अंकित गरिदिन्छ ।

प्रदेश १ को स्थायी राजधानी विराटनगर कहिले तोकिएको हो ?
उत्तरः वि.सं. २०७६ बैशाख २३ गते
विश्व हाँसो दिवस कहिले मनाइन्छ ?
उत्तरः हरेक वर्ष मे महिनाको पहिलो आइतबार ।
काओलिन भनेको के हो ?
उत्तरः शुद्ध सेतो माटो
बंगालको खाडीबाट मे ३ मा भारतको उत्तरपूर्वी तटीय राज्य उडिसा प्रवेश गरेको समुन्द्री आँधीको नाम के राखिएको थियो ?
उत्तरः फानी
गडहरे गुफा कुन जिल्लामा पर्दछ ?
उत्तरः स्याङ्जा
कपरकट्टी ताल कुन जिल्लामा पर्दछ ?
उत्तरः रुपन्देही
नेपालमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधी दिवस कहिले मनाइन्छ ?
उत्तरः मे २ तारिख
जापानी राजतन्त्रको इतिहासमा राजगद्दी सम्हाल्ने १२६ औं राजा को हुन् ?
उत्तरः सम्राट नारुहितो (जापानको राजगद्दीलाई क्रिसेन्थिसमम थ्रोन भनिन्छ ।)
श्रीलंकाले अनुहार छोपिने खालको सवै प्रकारको कपडा (वुर्का) लगाउन कहिले देखि प्रतिबन्ध लगायो ?
उत्तरः सन् २०१९ अप्रिल २९
शैक्षिक सत्र २०७६ का लागि वैशाख १ बाट सञ्चालन गरिएको विद्यार्थी भर्ना अभियानको आदर्श वाक्य के रहेको छ ?
उत्तरः ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऔं ।’
भष्ट्राचारको आरोप लागेपछि पेरुका पूर्वराष्ट्रपति ऐलेन गार्सिया (ल्याटिन अमेरिकाको केनेडी भनेर चिनिन्छ) ले कहिले आत्महत्या गरे ?
उत्तरः सन् २०१९ अप्रिल १७
फ्रान्सको पेरिस स्थित ८५० वर्ष पुरानो ऐतिहासिक नोट्रडाम क्याथेड्रल चर्चमा भीषण आगलागी कहिले भयो ?
उत्तरः २०१९ अप्रील १५
विश्व खाद्य सुरक्षा दिवस २०१९ को नारा के थियो ?
उत्तरः खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिबद्धता (२०१९ देखि जुन ७ तारिख विश्व खाद्य दिवस मनाउन थालिएको छ यसभन्दा पहिले अक्टोवर १६ मा मनाइन्थ्यो )
कुन आर्थिक वर्षको बजेटदेखि लोपोन्मुख जातिका लागि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिएको हो ?
उत्तरः आ.व. २०६६–६७ देखि

तामाको भाडाको पानी खानाले यस्तो हुने रहेछ

–आयुर्वेदका अनुसार तामाको भाँडामा पानी खानाले तीनैवटा दोष (वात, कफ र पित्त) लाई सन्तुलित पार्ने क्षमता हुन्छ । तामाको भाँडामा राखिएको पानीलाई ‘ताम्रजल’ भनिन्छ । यसका लागि तामाको भाँडामा कम्तीमा ८ घण्टा राख्नुपर्छ ।
–तामाको भाँडामा पानी राख्नाले तामा बिस्तारै पानीमा मिसिएर सकारात्मक गुण प्रदान गर्छ । यसको सबैभन्दा राम्रो पक्ष भनेको यसमा राखिएको पानी कहिल्यै पनि बेस्वादको हुँदैंन । त्यसैले लामो समयसम्म तामाको भाँडामा पानी राख्न सकिन्छ ।
–तामामा प्राकृतिक रुपमा ओलीगोडिनेमिकको रुपमा (ब्याक्टेरियामा धातुलाई स्टेरलाइज्ड) मानिन्छ । यसमा राखिएको पानीको सेवनले पेटमा भएको ब्याक्टेरिया सजिलै नष्ट गर्न सक्छ । यस्तै, पानीजन्य रोग डाइरिया, कमलपित्तजस्ता रोग रोक्न पनि उपयोगी मानिन्छ ।
–थाइरेक्सिन नामक हर्मोनको असन्तुलनका कारण थाइराइडको रोग लाग्छ । तामाको भाँडामा राखिएको पानी पिउनाले शरीरमा थाइरेक्सिन हर्मोन नियन्त्रित हुन्छ र यो हर्मोन निकाल्ने ग्रन्थीको कार्यप्रणालीलाई पनि नियन्त्रित गर्छ ।
–तामामा मष्तिष्कलाई उत्तेजित गर्ने गुण हुन्छ । यो गुणको उपस्थितिमा मष्तिष्कले तीब्रता र कुशलतापूर्वक काम गर्न मद्दत गर्छ ।
–जोर्नी दुख्ने समस्या छ भने तामाको भाँडामा राखिएको पानी नियमित पिउनाले फाइदा हुन्छ । यसमा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ ।
–यदि छाला स्वस्थ र सुन्दर बनाउन चाहनुहुन्छ भने रातभर तामाको भाँडामा राखिएको पानी बिहान पिउनुहोस् । तामाले शरीरमा नयाँ कोशिकाहरुको उत्पादनमा मद्दत गर्छ । नियमित रुपमा यस्तोपानी पिउनाले छाला स्वस्थ र चम्किलो हुन्छ ।
–एसिडिटी, कब्जियतजस्ता पेटका समस्या भएका मानिसका लागि तामाको भाँडामा राखिएको पानी अमृतसमान हुन्छ । आयुर्वेदका अनुसार यदि शरीरमा भएको विषाक्त पदार्थ बाहिर निकाल्न चाहने हो भने तामाको भाँडामा कम्तीमा ८ घण्टा राखिएको पानी पिउनुहोस् । यसबाट पेट फुल्ने समस्या र पाचनप्रणालीका समस्या हट्छन् ।
–तामाको भाँडामा राखिएको पानी पिउनाले चाउरी पर्ने प्रक्रियालाई पनि ढिलो गराइदिन्छ । यसले नयाँ र स्वस्थ छालाको कोशिकाको उत्पादनमा पनि मद्दत गर्छ ।

नामः विनिशा राई
स्कुलः सुनाखरी एकेडेमी (हाल एसइई पास)
प्रतिभाः नृत्य
लक्ष्यः सफल कलाकार बन्ने
अधिकांश बालबालिकाका केही न केही प्रतिभा लुकेकै हुन्छन् । धरानकी विनिशा राईमा पनि लुकेको प्रतिभा छ । पढाइमा अब्बल उनी नृत्य गर्न खप्पिस छिन् । उनले हालसम्म नाचेर ५ लाख रूपैयाँभन्दा बढी कमाइसकेको बताउँछिन् । नाचेर जितेको पुरस्कार र उनले नृत्य सिकाएवापत यति रकम कमाएकी हुन् ।
धरान–१२ स्थित सुनाखरी एकेडेमीमा यसपटक एसइई दिएकी उनी सानैदेखि नृत्यमा रुचि राख्थिन् । कक्षा नर्सरीदेखि पढ्दा ‘मै छोरी सुन्दरी’ बोलको गीतमा नाचेर प्रथम बन्दै कापी, पेन्सिललगायत ५ सय रूपैयाँ बक्सिस पाएकी उनले त्यसपछि स्कुलमा हुने विभिन्न अतिरिक्त क्रियाकलाप, धरान उपमहानगरपालिकाव्यापी नृत्य प्रतियोगिता, जिल्ला र क्षेत्रीयस्तरमा हुने प्रतियोगितामा समेत भाग लिएर उनले पुरस्कार जितिसकेकी छिन् ।
‘प्रथम, दोस्रो, तेस्रो हुँदै कतै २ हजार, कतै ४ हजार, कतै २० हजार पुरस्कारस्वरूप पाउँदै आएको छु’, उनले भनिन्, ‘स्कुल, स्थानीयदेखि प्रदेशस्तरीय नृत्य कम्पिटिसनमा भाग लिएर यतिका रकम जितेकी हुँ ।’ प्रदेशस्तरीय नृत्य प्रतियोगितामा उनले ४० हजार जितेकी छिन् भने स्थानीयस्तरमा भएको प्रतियोगितामा २५ हजार जितेकी छिन् । उनले भर्खरै धरानमा सम्पन्न औद्योगिक व्यापार मेलामा दोस्रो बन्दै २५ हजार ५ सय ५१ रूपैयाँ जितेको बताइन् ।
उनले पुरस्कार मात्रै होइन नृत्य सिकाएरै पनि केही रकम कमाइसकेकी छिन् । भविष्यमा सफल कलाकार बन्ने धोको बुनेकी उनी नाटक पनि खेल्छिन् । नाटकमा पनि अब्बलता सावित गरिसकेकी छिन् । उनी कलाकारिता क्षेत्रमै जम्ने सुरमा छन् । ‘स्कुलले नै बहुप्रतिभाशालीको उपाधिसहित गरिसकेका छौं’, प्रिन्सिपल मिलनकुमार राई भन्छन्, ‘उनको कला हेर्नलायक र तारिफयोग्य छन् ।’

अन्त्यमा लेख, रचना पठाउने बारेको सूचना

रमाइलो शनिबार स्तम्भ प्रत्येक शनिबार प्रकाशन हुन्छ । यसका लागि आफ्ना बालबालिकाका प्रतिभा, कथा, कविता, गीत, गजल, चुट्किला, सामान्य ज्ञान, आफ्नो विचार, चित्रकला, विज्ञानसँग सम्बन्धित कुरा, रमाइलो सामग्री आदि हाम्रो कोशी आवाजको इमेल hamrokoshiawaz@gmail.com मा पठाउन सक्नुहुनेछ । सामग्री पठाउँदा शुक्रबारसम्म पठाइसक्नुपर्नेछ ।

प्रकाशित मिति: मंसिर १३ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend