Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

यौनिकतालाई इज्जतसँग तुलना कहिलेसम्म ?

हाम्रो कोशी आवाज
मंसिर १७ २०७७, बुधबार
यौनिकतालाई इज्जतसँग तुलना कहिलेसम्म ?

केही दिनअघि फेसबुकमार्फत् बलात्कारविरुद्ध नयाँ अभियान थालियो । महिलाले कालो रंगको फोटो पोस्ट गरेर ‘साइलेन्ट प्रोटेस्ट’ सुरु गरे । यो अभियानमा पुरुषले पनि उत्तिकै साथ दिए ।
यसका अभियन्ताले फेसबुकमा राखिएका कालो तस्बिरका दुई विशेष अर्थ रहेको बताएका छन् । पहिलो, महिलाबिना पुरुषको जीवन कालो तथा अँध्यारो हुन्छ । दोश्रो, बलात्कृत महिलाको जीवन निस्पट्ट कालो हुन्छ । कानुन संशोधन गरेर बलात्कारीमाथि कडा कारबाहीको माग गर्नेहरू फेसबुकमा मात्र होइन, सडकमा पनि उत्रिन थालेका छन् ।
कालो रंगको प्रदर्शनसहित यसै साता माइतीघरमा प्रदर्शन भयो। आँखामा कालो पट्टी, मुखमा कालै माक्स र कालो कपडामा ‘बलात्कारी होस् तँ’ भन्दै सुरु गरिएको प्रदर्शन एकै समयमा देशैभरि भयो । अत्यधिक रूपमा बढ्दै गएको यौन दुव्र्यवहार विरुद्धको यो अभियान चलाएको थियो, ‘अझै कति सहने’ नामक स्वतन्त्र समूहले । बलात्कारविरुद्ध समयसमयमा साना–ठूला आन्दोलन भइरहेका छन् । तैपनि बलात्कारका घटना दिनदिनै बढ्दै गएका छन् ।
नेपालमा पछिल्लो ६ वर्षयता हरेक वर्ष बलात्कारका घटनाको ग्राफ बढ्दो छ । गत असोजमा नेपाल प्रहरीले नेपालमा हरेक दिन ६ देखि ७ जना महिलाले बलात्कार तथा जबर्जस्ती करणीको सिकार हुने गरेको तथ्यांक सार्वजनिक गरयो । यो तथ्यांक बलात्कारपछि प्रहरीमा उजुरी दिन आएका घटनापछिको हो । तथ्यांकअनुसार पछिल्लो वर्ष मात्रै देशभरका २ हजार ४ सय ४९ बलात्कारका घटना प्रहरीमा दर्ता भए । यसबाहेक गाउँघरमा ढाकछोप गरेर लुकाइएका यस प्रकृतिका घटना कति होलान् ? जसको यकिन जवाफ कसैसँग छैन । उजुरी दर्ता गर्न आएका पीडितले न्याय पाएको खासै उदाहरण छैन ।
आर्थिक वर्ष २०७५–७६ मा २ हजार ५ सय ७० वटा बलात्कारका घटना दर्ता भएका थिए । यस्तै, आर्थिक वर्ष २०७६र७७ मा २ हजार ४ सय ४९ बलात्कारका घटना दर्ता भइसकेका छन् । बलात्कारका घटना अपरिचितबाट भन्दा चिनेजानेकै वा आफन्तबाट बढी हुने गरेको पाइएकाले अनुसन्धान गर्न कठिन हुने प्रहरी अधिकारी बताउँछन् । पछिल्ला केही वर्षका घटनाक्रमले पीडित ११ देखि १७ वर्ष बीचका बालिका धेरै रहेको पाइएको छ ।
देशभरिबाट प्रहरीमा १ हजार ४ सय ८० बलात्कारका उजुरी दर्ता हुँदा १ हजार १ सय ६६ बलात्कार ११ देखि १७ वर्ष उमेरका बालिकामाथि पाइयो । बलात्कारका घटना कम हुनुको साटो किन बढ्दै छ ? राष्ट्रिय मानवाधिकार आयोगकी प्रवक्ता मोहना अन्सारी भन्छिन्, ‘जो बलात्कार पीडित छ उसैलाई दोषारोपण गरेर बहस सुरु हुन्छ । उसको चरित्र, व्यक्तित्व र उठबस कोसँग थियो भन्नेजस्ता प्रश्नहरू उठ्न थाल्छन् । त्यस्तो कदापि हुनु हुँदैन । बलात्कार विशुद्ध अपराध हो ।’
नेपाली समाजमा महिलालाई घर तथा समाजको इज्जतको रूपमा हेरिन्छ । अझ भनौं महिलाको यौनिकतालाई इज्जतसँग तुलना गरिन्छ । ‘जब कुनै महिला बलात्कृत हुन्छिन्, उनले न आफ्नो परिवारलाई भन्न सक्छिन्, न त अरू कसैलाई । जब उनले म बलात्कृत भएँ भन्छिन्, उनले आफ्नो परिवारको इज्जत फाल्छिन् भन्ने मान्यता छ,’ वरिष्ठ पत्रकार बविता बस्नेत भन्छिन्, ‘उनी समाजको आँखो बन्छिन् । यसकारण बलात्कृत महिला आफू बलात्कृत भएको विषय जिन्दगीभर आफूसँग राख्न विवश हुन्छन् ।’
समाज र देशको हरेक मुख्य निर्णायक भूमिकामा पुरुष हाबी हुनु अपराधका घटना वृद्धि हुनुको अर्को मुख्य कारण भएको अधिवक्ता नानी थापाको बुझाइ छ । ‘प्रहरी प्रशासनमा ९५ प्रतिशतभन्दा बढी कार्यालयका प्रमुख पुरुष नै छन् । बलात्कारबाट महिला पीडित हुन्छन् । बलात्कृत महिलाको भावना र पीडा एक महिला कर्मचारीले जुन गहिराइसम्म बुझ्न सक्छ, त्यो कदापि पुरुष कर्मचारीले बुझ्न सक्दैन,’ अधिवक्ता थापा भन्छिन्, ‘बलात्कृत महिला प्रहरी प्रशासनमा पुग्दा अर्को पुरुषको सामना गर्नुपर्ने हुन्छ । पुरुष प्रहरीका कतिपय अनुसन्धानका प्रश्नहरू पीडितका लागि पीडादायी बनिदिन्छन् ।’
महिला बलात्कारपश्चात् प्रहरी कार्यालय पुगेर किटानी जाहेरी गर्न सहज महसुस गर्दैनन् । कतिपय अवस्थामा प्रहरीले पीडितको बयान विश्वास गर्दैनन् र उजुरी नै लिँदैनन् । राजनीतिक संरक्षण, सत्ता र शक्तिको चरम दुरुपयोग बलात्कारको घटना वृद्धिको अर्को कारण हो । नेता, उच्च ओहोदाका कर्मचारीका आफन्त, राजनीतिक कार्यकर्ता नै पीडकको संरक्षकका रूपमा उभिन्छन् । प्रहरी प्रशासनको अपारदर्शी कार्य सम्पादन दिन–प्रतिदिन बढ्दो छ । यसले अपराधीलाई अपराध गर्नमा थप प्रोत्साहन गरेको सरोकारवालाहरू बताउँछन् ।
नेपालमा भएको सञ्चारको विकास र यसको दुरुपयोग बलात्कार हुनुको अर्को कारण हो । हरेक व्यक्तिको मोबाइल इन्टरनेटमा पहुँच, पोर्न फिल्मको लत र त्यसको अनुसरणले महिला बलात्कृत हुन पुगेका थुप्रै दृष्टान्त छन् । अझ हाम्रो समाजमा बलात्कृत महिलाको ‘इज्जत लुटिएको’ भनिन्छ । तर, बलात्कार गर्ने पुरुषको भने ‘इज्जत गयो’ भनिँदैन । बलात्कृत महिलाले मुद्दा हाल्दादेखि र फैसला भइसकेपछि जीवनभर निर्धक्क हिँड्ने, डुल्ने र पहिला जसरी नै काम गर्ने वातावरणको प्रत्याभूति नहुँदासम्म बलात्कारका घटना अझै बढेर जाने सरोकारवालाहरूको मत छ ।

प्रकाशित मिति: मंसिर १७ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • १० घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend