Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रचण्ड-नेपाल समूहको प्रदेश १ का पदाधिकारी जिल्ला भेला

हाम्रो कोशी आवाज
पुष ३ २०७७, शुक्रबार
प्रचण्ड-नेपाल समूहको प्रदेश १ का पदाधिकारी जिल्ला भेला

धरानः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रदेश १ अन्तर्गतका जिल्ला पदाधिकारीको भेला गरेको छ ।
जनवर्गीय संगठनको कार्यालय कोटेश्वर पेरिसडाँडामा सकिएको हो । भेलामा प्रदेश १ अन्तर्गत १४ जिल्लाका पदाधिकारी र प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यको सहभागिता थियो । संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने सहमतिबाट प्रधानमन्त्री केपी शर्मा ओली पछि हटेको आशंकापछि प्रचण्ड–नेपाल पक्षले प्रदेशस्तरीय भेला बोलाएको हो ।
शीर्ष नेताहरुको समूहले पार्टी एकतालाई जोगाउँदै गलत प्रवृत्तिको डटेर सामना गर्ने निर्णय गरेको छ । भेलापछि नेकपाका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले पार्टीलाई कसरी सुदृढ र गलत कुराको विरोधमा डटेर लड्ने भन्ने विषयमा छलफलसहित निष्कर्ष निकालेको प्रतिक्रिया दिए ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई निषेध नभई नियन्त्रण गरेर जान खोजेको बताएका छन् ।
भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधामन्त्री ओली पार्टी निर्णयभन्दा बाहिर गएकाले नियन्त्रण गर्नुपर्ने अवस्था आएको बताए । उनले पार्टी निर्णयमा मान्न अध्यक्ष ओलीलाई आग्रह समेत गरे ।
‘अध्यक्ष ओलीलाई निषेध होइन नियन्त्रण गर्न खोजेका हौं, उहाँले पार्टीको निर्णय मान्नुभएन, निर्णय मानेर अगाडि बढ्नुहोस् भन्न खोजेका हौं’, प्रचण्डको भनाइ उद्धृत गर्दै भेलामा सहभागी केन्द्रीय सदस्य खतिवडाले भने । अध्यक्ष प्रचण्डले आफूहरुले ल्याएको प्रतिवेदनमा प्रवृत्तिगत कुरा मुख्य भएको दावी गरे । उनले पार्टीभित्र देखिएका समस्या, तिनको निराकरणका बारेमा प्रतिवेदन ल्याएको भन्दै अध्यक्ष ओलीको प्रतिवेदन भने व्यक्तिगत गालीगलौज भएको बताए ।
कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले सबै समस्याको जड नै प्रधानमन्त्री ओली भएको आरोप लगाए । कार्यक्रममा अर्का वरिष्ठ नेता झलनाथ खनालले सैद्धान्तिक विषयमा आफ्ना धारणा राखेका थिए ।
भेलामा प्रदेश १ का १४ जिल्लाका नेकपा इन्चार्ज, अध्यक्ष, सचिव र सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसमेत सहभागी भएका थिए ।

प्रकाशित मिति: पुष ३ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend