धरानः देशभर चिसो बढेको छ । उत्तर–पश्चिमी वायुको प्रभाव बढ्दा चिसो बढेको हो ।
अहिले तराईका धेरैजसो ठाउँमा बाक्लो हुस्सु तथा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो प्रदेश नम्बर १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका केही ठाउँमा आंशिक बद्ली रहने सम्भावना छ ।
बाँकी ठाउँको मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, आज राति प्रदेश नम्बर १, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली हुने अनुमान छ । अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ ।
जाडो याममा तराईमा देखिने शीतलहरको समस्याले विगतमा जस्तै यस वर्ष सताउन थालेको छ । दिनभरी नै लाग्ने हुस्सु र कुहिराका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले जनजीवन कष्टकर बनेको हो ।
शीतलहरसँगै बढ्ने कठ्याङ्ग्रिने जाडोले सर्वसाधारणको दैनिकीमा प्रतिकूल प्रभाव पर्ने गरेको छ । चिसोवाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदूरी गरेर जिविका चलाउने वर्ग बढी प्रभावित हुने गरेका छन् ।
दिनभरी नै लाग्ने बाक्लो हुस्सुले घाम नझुल्किन नपाउँदा सर्वसाधारणलाई बिस्कुन र धोएका लुगा सुकाउनसमेत समस्या भइरहन्छ । लामो समयसम्म हुने शीतलहरका कारण देखिने डढुवा रोगको प्रकोपले आलु, गोलभेँडा, तोरीलगायतका बाली नष्ट हुने समस्या स्थायी समस्या भइसकेको छ । आलु, गोलभेँडाको खेती पछिल्ला दशकमा व्यवसायिकरुपमा भइरहेपनि वर्षेनी देखिने डढुवा रोगको प्रकोपवाट यी बाली जोगाउन किसानलाई मुश्किल हुने गरेको छ ।
यो रोगबाट जोगाउन कतिपय किसानले ‘टनेल’(पारदर्शी प्लाष्टिको छानासहितको टहरो) बनाएर त्यस मुनि गोलभेँडा लगायतका तरकारी बालीको खेती गर्ने गरेका पनि छन् । टनेलको व्यवस्थापन गर्न नसक्ने कतिपयले बिषादी पनि छर्किने गरेका छन् ।
यस्तो विषादी प्रत्येक सातरआठ दिनको फरकमा छर्किन सकेमा मात्र बोली जोगाउन सकिने सल्लाह कृषि प्राविधिकले दिने गरेका छन् । पटक–पटक विषादी किनेर छर्किनका लागि कमजोर आर्थिक अवस्था भएका किसानलाई क्षमता नहुँदा उनीहरुलाई बाली जोगाउनै मुश्किल छ ।
शीतलहरसँगै बढेको जाडोले कोरोना भाइरसको सङ्क्रमण हुने जोखिम पनि बढेको छ । चिसो मौसममा धेरै भाइरल इन्फेक्सन सक्रिय हुने गरेकाले कोरोनाको जोखिम बढ्नसक्ने सेती प्रादेशिक अस्पताल धनगढीका कोभिड–१९ उपचार विभागका प्रमुख डा. शेरबहादुर कमर बताउछन् ।
‘प्रकृति हेर्दा कोरोना अझैँ बढ्न सक्ने देखिन्छ,’ डा कमरले भने, ‘यस्तो बेलामा धेरै व्यक्ति भेन्टिलेसनको सुविधा नभएको एउटै कोटामा बस्न पनि जोखिम हुनसक्छ ।’ अहिलेको चिसो मौसममा सकभर एउटै कोठामा धेरै व्यक्ति नबस्न, चिसोबाट जोगिने उपाय अपनाउने र खाने कुरामा पनि ध्यान दिनुपर्ने सल्लाह चिकित्सकको छ ।