कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी पर्यटन क्षेत्र परेको छ । जसमा विश्वका १८० देशहरुले अर्को देशमा जान र अर्को देशबाट आउनका लागि प्रतिबन्ध लगाएका छन् भने ६० भन्दा बढी देशले लकडाउन लगाएका छन् ।
पर्यटकहरु आवगनमा असर परेका हुनाले ट्राभल र हस्पिटालिटीमा यसले ठूलो असर पारेको छ । पर्यटकको आवतजावत कम हुँदा यसको असर नेपाल मात्रै होइन विश्वको पर्यटन क्षेत्रमा नराम्रोसँग परेको छ ।
नेपाल भ्रमण वर्ष २०२० शुरु हुँदै गर्दा हामीसँग के आशा थियो भने मुलुकमा राजनीतिक स्थिरता छ । पहिले सामाजिक र राजनीतिक मुद्दाले मात्रै स्थान पाउनेमा आर्थिक मुद्दामा पनि ठूलो बहस हुन थालेको छ भन्ने थियो । लगानी पनि बढेको थियो ।
सबैभन्दा पहिले पर्यटनको उत्पादन कसरी हुन्छ र उत्पादनमा प्रत्यक्ष र परोक्षरुपमा प्रभाव पार्ने विषयमा चर्चा गरौं । अन्य उद्योग व्यवसायमा जस्तै पर्यटन उद्योग व्यवसायमा पनि कथा लेखन र त्यसको प्रस्तुतिले ठूलो महत्व राख्दछ । नेपालले विगत लामो समयदेखि अँगाल्दै आएका पर्यटकीय परिभाषामध्ये सगरमाथाको देश, विश्वकै उत्कृष्ट पदयात्रामार्गहरू, खुल्ला संग्राहलय, एसियाको स्वीट्जरल्याण्ड, प्राकृतिक र सांस्कृतिक धरोहर, अति शिष्ट र आतिथ्य नेपाली सेवा आदि हुन् । उल्लेखित कथा र परिभाषालाई नेपालमा आउने पर्यटकहरूले अझ उत्कृष्ट कथाको रुपमा प्रस्तुति गरिदिएको कारणले र सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखरको सफल आरोहण गरेपछि नेपाल विश्व पर्यटन बजारमा चिनिन र नेपालमा पर्यटन विकास सम्भव भएको होभन्दा अत्युक्ति नहोला ।
प्रथमतः हामीले हामीसँग भएका र उत्पादन गर्न सकिने पर्यटकीय उत्पादनहरूको खोजी गरेर एउटा खाका तयार पारी ती उत्पादित र उत्पादन हुन सक्ने पर्यटकीय सेवाहरूको विवरण तयार पार्नु जरुरी छ । विश्वमा अहिले सामुद्रिक होलिडेपछि दोस्रो सबैभन्दा बढी मन पराइएको क्षेत्र भनेको प्राकृतिक र सांस्कृतिक सुन्दरता हो । नेपाल विश्व पर्यटन बजारमा चिनिएको र नाम कमाउन सफल क्षेत्र पनि यही हो । प्राकृतिक सुन्दरता र सांस्कृतिक धरोहरलाई जोगाउन, विकास र सम्वर्द्धन गर्न सकिएमा मात्र हामीले दिगो पर्यटन विकासको अवधारणालाई मुर्तरुप दिन सम्भव हुनेछ ।
पर्यटनलाई सपना बेच्ने व्यापार भनेर पनि भन्न सकिन्छ । जति सपना देखाउन र त्यसको प्रभाव बढाउन सकियो त्यति छिटो पर्यटन विकासले गति लिन थाल्नेछ । श्रीलङ्का भ्रमणको क्रममा मसला बजार घुम्दा मैले महसुस गरेँ( सपना देखाउन र त्यो सपनालाई कसरी बिक्री गर्न सकिँदो रहेछ भनेर । त्याहामात्र ८र१० वटा बेसार, जिरा, ओखर, नरिवल, तेजपत्ता, बामरी आदिका बुटाहरू थिए । गाइडले हरेक बुटाको बारेमा १० मिनेट जति वर्णन गरे । त्यहाँ मसला तेलले पर्यटकलाई निशुल्क मालिस गर्ने सुविधा पनि रहेछ । त्यो सरकारी मसला बजारमा १५र२० जना पर्यटकका लागि मालिस गर्न कै लागि खटाइएका रहेछन् । सयौं पर्यटकहरू अर्गानिक तेल, मसलाहरू, विविध खाद्य पदार्थहरू, घरेलु कपडा तथा औजारहरू खरिद गर्नको लागि लाईनमा बसिरहेका थिए । गाइड सपना देखाउन जति सफल भए, त्यति नै बढी पर्यटकहरू सपनाका समानहरू खरिद गरिरहेका मैले महसुस गरे । मेरो विचारमा श्रीलङ्का र भुटानले पर्यटकबाट प्रशस्त फाइदा लिन र पर्यटन विकासलाई गति दिन सफल छन् जस्तो लाग्छ । पर्यटक सेवामा लाग्ने चालकको तालिम र मापदण्ड, सिटि गाइड, क्षेत्रीय गाइड र राष्ट्रिय गाइडको मापदण्ड र तालिम विधि, हरेक दुई वर्षमा पुनर्ताजगि तालिम, पर्यटर्कीय सवारी साधनको मापदण्ड आदिको उचित विधि र नियम । संस्कृति, पर्यावरण, वातावरण, सरसफाइ, बाटोघाटोको उचित मर्मत सम्हार । सरकारको हरेक तह तप्का पर्यटनमय र पर्यटन सेवामा समर्पित– साँच्चिकै पर्यटनमय–श्रीलङ्का ।
बिना कुनै भ्रमण गर्ने स्थानको मिठो कल्पना र सपना भ्रमण कार्यक्रम बनेको हुँदैन । भ्रमणमा आउन चाहने व्यक्ति या समूहले भ्रमणबाट अविस्मरणीय अनुभवसहित आनन्दित महसुस प्राप्त हुने परिकल्पना गरेको हुन्छ । भ्रमण अवधिमा खाना, पानी, सवारी साधनलगायत सबै तर्फबाट सुरक्षित र आनन्दित रहँदै भ्रमण गर्ने इच्छा र चाहना रहेको हुन्छ । विमानस्थलमा उत्रेदेखि नै निजले प्राप्त गर्ने व्यवहार र सेवा, बस्ने होटल, प्रयोग गर्ने सवारी साधन, पथप्रदर्शकको सेवा, खानाको गुणस्तर र सेवा, सरसफाई, बाटो घाटोको अवस्था, भाषा, संस्कृति र भेषभुषा आदिबाट भ्रमणकर्तालाई कत्तिको सन्तुष्टि प्राप्त भयो र निजले पाप्त गर्ने सन्तुष्टिले नै पर्यटन प्रवद्र्धन र विकासको भविष्य गाँसिएको हुन्छ ।
प्रायः धेरै पर्यटकले अनुभव गर्न खोज्ने पनि एउटा फरक भेषभुषा, फरक संस्कृति, फरक रीतिरिवाज र परम्पराहरू हुन् । राज्यले लोपोउन्मुख जाति जनजाति, संस्कृति, परम्परा, जाति भाषा, भेषभुषा संरक्षण र सम्वर्द्धनका लागि संस्कृति उत्थान मञ्च, जाति जनजाति उत्थान मञ्च, विभिन्न जातीय आयोगहरूका लागि जनताले तिरेको करको ठूलो धनराशी खर्च गरेको देखिन्छ । देशका दूरदराजहरूमा आज लोपोउन्मुख जाति जनजातिहरूका गीतहरू, बाजाहरू गुन्जिन पर्ने हो ? तर हामी सबैले पनि महसुस गरेको हुनुपर्छ देशका ती कुना कन्दराहरूमा समेत बिहान ६ राति १२ बजेदेखि प्रायः धेरै एफएम रेडियो र नेपाली टेलिभिजनमा समेत ठूलो ठलो स्वरमा परिवार सँगसँगै बसेर सुन्न पनि अप्ठेरो मान्नु पर्ने विदेशी गीतहरू घन्किरहेको सुनिन्छ । जन्मदेखि मरणसम्मका प्रायः सबै परम्परालाई चटक्कै छोड्दै, बिर्सिँदै विदेशी संस्कृति, चालचलन र परम्परालाई अँगाल्दै गएको देखिन्छ ।

हामीसँग संस्कृति, वातावरण, पर्यावरणलगायत सबै मन्त्रालय छन् । मन्त्रीज्यूहरू हुनुहुन्छ । तर सकारात्मक प्रयासहरूको कहिँकतै अनुभव गर्न पाइँदैन । मैले गाउँका कार्यक्रमहरूमा प्रश्न उठाउन पनि कोसिस पनि गरेँ तर सबैको उत्तर बच्चाबच्चीमा गएर अड्किएको देखियो । एउटा बच्चाले आफ्नो मातृभाषा सिक्नु अगाडि नै ‘चोलिके पिछे’ जान्न बाध्य हुन्छ । अनि दोष कसलाई दिने ?
आज हामी सबै नै सचेत नागरिकले सोच्ने र मनन गर्ने बेला आइसकेको छ । हामी कता जाँदैछौं भनेर ? हाम्रो पहिचान भनेको हाम्रो परम्परा, हाम्रो संस्कृति, हाम्रो भेषभुषा, हाम्रो भाषा, हाम्रो रहनसहन हो भनेर हामीले बुझ्नु र हाम्रा सन्ततिलाई पनि बुझाउन जरुरी भइसकेको हो कि ?
पर्यटकको दृष्टिकोणबाट प्राकृतिक धरोहरको रुपमा सबैभन्दा बढी सफल हुल सक्ने क्षेत्र भनेका पदयात्रा पर्यटन, पर्वतीय पर्यटन, कृषि पर्यटन र गाउँ पर्यटन सेवा नै हुन् । तर हामी विकास र आधुनिकताको नाउँमा विश्व प्रसिद्ध पदमार्गहरूलाई भत्काउँदैछौ, ध्वस्त पार्दै छौं र क्षतविक्षत पार्दैछौं । हामी पर्यटन क्षेत्रमा लागेका, पर्यटन क्षेत्रमा तिसौं वर्ष बिताएका, पर्यटन बोर्ड लगायत विभिन्न निकायहरूमा पर्यटन विज्ञका रुपमा नियुक्ति भएका र लामो समयदेखि पर्यटन विज्ञको रुपमा चिरपरिचित व्यक्तिहरूबाट नेपालको पर्यटन विकासको प्रमुख धरोहरहरूलाई जोगाउने बिषयमा आवाज उठाउनुपर्ने हो । परिवर्तनको चाहनालाई रोक्न पक्कै पनि सजिलो छैन तर उपयुक्त निकाससहित उचित समाधान निकाल्नु आवश्यक हुन्छ ।
धार्मिक रुपमा नेपाललाई देवभूमि, तपोभूमि र पवित्र तीर्थस्थलको रुपमा चित्रित गरिन्छ । विश्वका करिब १३० करोड हिन्दूहरूको माझमा नेपाललाई देवादिदेव महादेव श्री पशुपतिनाथ विराजमान र मुक्तिधाम, राम जानकी धाम, स्वर्गद्वारी आदि जस्ता अति विशिष्ट धार्मिक मुलुकको रुपमा चित्रिण गरिन्छ । त्यसैगरी विश्वका करिब ६ करोड बुद्ध धर्मालम्बीहरूको लागि पनि नेपाल पवित्र तीर्थस्थल मानिन्छ ।
विश्वका हिन्दूहरूको आस्थाको केन्द्र पशुपतिनाथप्रतिको आस्था र विश्वासलाई ध्यान दिई उचित व्यवस्थापनसहित प्रचारप्रसार हुन सकेमा र अन्य विश्वका हिन्दूहरूको माझमा समेत सुपरिचित मुक्तिधाम, दामोदरकुण्ड, गोसाईकुण्ड, स्वर्गद्वारी, त्रिवेणीधाम, जानकीधाम, वेदव्यास धाम आदि जस्ता तीर्थस्थलहरूको उचित संरक्षण, सडक सञ्जालको पहुँच, उचित व्यवस्थापन र उचित प्रचार प्रसार हुन सकेमा हिन्दू पर्यटकका लागि नेपाल साँच्चिकै देवभूमि र विश्वका हिन्दूहरूको आस्थाको केन्द्र बन्न सक्नेछ ।
भगवान बुद्धको जन्मस्थल लुम्बिनीलगायत तिलौराकोट, देवदह क्षेत्र र बुद्ध धर्मसँग सम्बन्धित तीर्थस्थलहरू हलेसि, नमोबुद्ध, महावीहरहरूको उचित संरक्षण, सम्वर्द्धन र प्रचारप्रसार हुन सकेमा यथेष्ट बुद्ध धर्मसम्बन्धि धार्मिक पर्यटक भित्रयाउन सकिनेछ । हामीले हिन्दू तथा बौद्ध धर्मसम्बन्धि उपरोक्त क्षेत्रहरूको उचित सम्वर्द्धन र व्यवस्थापन हुन सकेमा पाँच वर्षभित्रै वार्षिक करिब २० देखि ३० लाख र १० वर्षभित्र ५० लाखसम्म पर्यटन भित्र्याउन सम्भव हुनेछ ।
नेपाल एउटा विश्वकै अद्वितीय, अति सुन्दर प्राकृतिक, सांस्कृतिक र जैविक विविधताले भरिपूर्ण मुलुक हो । कुनै पनि मुलुक या सस्थाको आफ्नो र आफूभित्र एउटा छुट्टै क्षमता अन्तरनिहित हुन्छ । जस्ले आफ्नो क्षमता र सामर्थ चिन्न सक्यो, उसले आफूलाई प्रगतितर्फ डो¥याउन सक्छ भने आफ्नो क्षमता बुझ्न नसक्दा प्रगतिपथमा अगाडि बढ्न सकिँदैन । हाम्रो मुलुक नेपाल करिब ६८ प्रतिशत पहाड, करिब १५ प्रतिशत हिमाल र करिब १७ प्रतिशत तराई भूभाग रहेको सुन्दर मुलुक हो ।
हामीले कुनै पनि योजना बनाउँदा या आफ्नो सामर्थ्यका कुरा गर्दा पहाड र हिमाललाई भुल्यौं भने त्यो योजना कुनै पनि प्रकारबाट पूर्ण हुन सम्भव हुँदैन । त्यसैगरी पहाडलाई बेवास्ता गर्दा पर्यटन विकासले पनि गति लिन सम्भव हुँदैन ।
नेपाल साहसिक पर्यटनको लागि पनि एउटा उत्कृष्ट गन्तव्य बन्न सक्नेछ । बञ्जी, स्कुवा डाइभिङ, प्यारा ग्लाइडिङ, रक क्लाइमिङ लगायत धेरै प्रकारका साहसिक पर्यटकको विकास गर्न सकिन्छ । सांस्कृतिक पर्यटक, अध्यायन पर्यटक, सभा सम्मेलन पर्यटक आदि लगायत धेरै नै प्रकारका पर्यटनको विकासबाट अरु करिब बार्षिक २० देखि ३० लाख पर्यटक भित्रयाउन सकिनेछ ।
हामीले २०२० मा २० लाख पर्यटकको सपना देखेका थियौं । २ करोडको सपना भनेको २० लाखमा दश गुणाले बढाउनु हो । विद्यमान पूर्वाधार, सेवा सुविधा, जनशक्तिलाई १० गुणाले वृद्धि गर्न सकेमा र उचित योजना अठोटसहित विद्यमान पर्यटनको परिभाषालाई पुनर्परिभाषित गरी अगाडि बढेमा सफलता पक्कै पनि टाढा छैन ।