धरानः ६५ वर्षमा निरन्तर पत्रकारितामा खटिरहने व्यक्ति हुन्– अग्रज पत्रकार हर्ष सुब्बा । बिहान सबेरै उठ्नु, फेरि मानसपटलमा त्यही पत्रकारिताको नशामै डुब्नु लाग्नु उनको दिनचर्चा हो ।
सुब्बालाई पत्रकारिताको गुरु मान्ने नयाँ पुस्ताकी पत्रकार सुम्निमा चाम्लिङ भन्छिन्, ‘६५ वर्षको उमेरमा पनि आहा † उहाँको त्यो ओजपूर्ण र उर्जाशील बनाइरहने भनाइ, म त प्रायःजसो उहाँको घरमा पुगिरहन्छु, उहाँको अर्ती–उपदेश (यो गर, त्यो गर) मात्रै होइन, उर्जा पनि मिल्छ, उहाँलाई गुरु मानेर अघि बढेको भए म कहाँ यहाँसम्म पुग्थें र ’, उनले थप कुरा भनिन्, ‘उहाँलाई त पत्रकारिताको धरोहर मान्छु म ।’
उनले टिपिकलरुपमै भनिन्, ‘उहाँ भनिरहनुहुन्छ, के गर्नु एकपल्ट केही विषयमा लेखिएन भने केही नपुगेको जस्तो, के नगरेको जस्तो, सबै कामकुरो बितेजस्तो लागिरहन्छ ।’ हुन पनि हो, उहाँको जीवन नै पत्रकारितामै बित्यो । भनौं, उनी ६५ वर्ष पुगिसक्दा पनि पत्रकारिताकै लतमै बिताए ।
म एउटै व्यवहार देखाउँछु, एउटै व्यवहार हुन्छ, बनौटी कुरा गर्न आउँदैन, म नेता होइन, राजनीति गर्नु छैन, झुटो कुरा पो बनाइबनाइ गर्नुपर्ने हुन्छ ।
पत्रकारिताको शुरुवात
२०२९–३० सालदेखि पत्रकारिता शुरु गरेको हुँ । ‘चेतना’ साप्ताहिकबाट काम थालें । त्यसपछि धरान फर्केर ‘नयाँ चेतना साप्ताहिक’ मा काम गरें । त्यसपछि स्थानीय दैनिक हुँदै राष्ट्रिय दैनिकसम्म पनि काम गरेको छु ।
ऊबेलाको पत्रकारिता
त्यतिबेला पञ्चायती व्यवस्था थियो । अहिलेको जस्तो स्वतन्त्रता थिएन, सामान्य पत्रिका छाप्न पनि समस्या थियो । त्यतिबेला राजाको फोटो केरमेट, लतपतिए, दाग, मैला खालको आएपनि पनि प्रहरीले पक्राउ गर्दथ्यो र जेल समेत जानुपर्दथ्यो । त्यतिबेला जोगिएर लेख्नुपर्दथ्यो । पार्टीको बारेमा लेख्दा पनि जोगिनुपर्दथ्यो ।
हामी पञ्चायती व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता, वाक स्वतन्त्रता भएन भनेर लेखिरहन्थ्यौं । त्यतिबेला मिसन पत्रकारिता थियो । प्रजातन्त्र चाहियो भनिरहन्थ्यौं ।
मैले सिडिओ कार्यालयमा दुई तीन पटक बोलाइयो, बयान लिइयो, तारिखमा राखियो, लुकेर काम गर्नुपदथ्यो, अहिलेको जस्तो ठूलो कुरा गर्न पाइँदैन थियो । जासुस लगाइन्थ्यो । मान्छेले बोलेको कुरा पनि पुलिस, प्रशासन, अञ्चलाधीशकहाँ खबर पुग्दथ्यो । छाप्ने कुरामा शब्द–शब्दमा अर्थ लगाएर छाप्थ्यौं ।
पत्रकारिता पेशा, व्यवसाय हो, अझ भन्ने हो भने दोकान हो
पत्रकारिता पेशा, व्यवसाय हो, भनौं दोकान हो, मैले लेखेको कुरा बिक्री हुनुपर्छ, मैले लेखेको समाचार बिक्री हुनैपर्छ भन्ने मेरो मान्यता हो । कुनै कमसल खालको सामग्री उत्पादन गरेर बिक्री हुँदैन, लेखनशैली पनि क्वालिटीको हुनुपर्छ । उत्पादन क्वालिटीको हुनुपर्छ । पेशा हो, व्यवसाय हो र दोकान हो भने चल्ने गरी चलाउनुपर्छ । व्यवसाय चलेन, बिक्री भएन भनेर गुनासो गर्नु हुँदैन ।
म अहिलेसम्म पत्रकारितामा भिजेपनि केही चन्ता, गुनासो छैन । मेरो दोकान हो, चलुञ्जेल चल्छ, मैले लेखुन्जेल मेरो दोकान चल्ने हो, त्यसमा कुनै गुनासो छैन, चिन्ता छैन । दोकानको सेवा घरघरमा भन्ने पनि हुन्छ । सित्तैमा काम गर्दिनँ, सित्तैमा आर्टिकल वा अन्य कुरा लेखेर गजक्क परेर बस्दिनँ । मेरो आर्टिकल हेर्नुभो भनेर फोन गर्ने, म्यासेन्जरमा पठाउने काम पनि गर्दिनँ । यसले राम्रो लेख्छ भनेर कसैले हेरिदिए पुग्छ । म बाँचुञ्जेल लेखिरहन्छु । उर्जाशील, गतिशील, आत्मविश्वाससहित पेशा व्यवसाय अङ्गालेमा सफल हुन सकिन्छ भन्ने मेरो धारणा हो ।
पत्रकारिताको विकास
प्रविधिले ठूलो फड्को मारयो । संसारको विकसित मुलुकको प्रविधि नेपालमा आइसकेको छ । नेपालको पत्रकारिताको स्रोत, लेख्ने शैलीको विकास हुन सकेको छैन । नयाँ पुस्ताले केही कुरा ल्याएको पाइएपनि पुरानै ढर्रामा हिँडेको मैले महसुस गरेको छु । ‘रेफरेन्स’ हुन्छ तर नयाँ पत्रकारहरु पढ्दैनन्, ‘रेफरेन्स’ दिनुपर्छ । पहिला के भएको थियो, अहिले के भइरहेको छ आदि कुरामा ध्यान दिनुपर्दछ ।
अहिले हार्ड न्युज बढी र सफ्ट न्युज कम छ, ब्रेकिङ न्युजमा धेरैजसो कपीपेष्टमै चलिरहेको छ । यसले समाचारमा लेख्ने क्षमतामा विकास भएन, शैलीमा परिवर्तन भएन । पत्रकारितामा आम पाठक, सर्वसाधारणमा साक्षरता बढेको छ । राजनीति कुरादेखि लेखेको कुरा बुझ्न थालेका छन् । त्यही भएर पनि पत्रकारितामा क्षमता र शैलीको विकास हुन सकेन भने आम सर्वसाधारणले नकारात्मक धारणा बनाउँछन् । त्यही भएर मिडियाप्रति अहिले आम पाठक, सर्वसाधारण आलोचनात्मक आक्रमण भइरहेको छ ।
प्रविधिले फड्को मार्दै २१ औं होइन २२ शताब्दीको प्रयोग हुन थालेको छ । तर पत्रकारिताको गुणस्तर भनेको २०३० देखि ४६ साल यताको जस्तो छ । पत्रकारले फरक ढाँचामा समाचार प्रस्तुत गर्छु भनेर लाग्नुपर्छ ।
काठमाडौंकै ठूला पत्रकार, लेख्न जान्ने पत्रकार
संघीयता आएतापनि काठमाडौंकै ठूला पत्रकार, राम्रो लेख्ने, जान्ने पत्रकार भनिन्छ । राज्यले पनि यही सोचिदिन्छ ।
आजको पत्रकारिता र सरकारको दायित्व
नागरिक पत्रकारिता मौलाएको छ नै । ठूला अखबारले पहिला सूचना लुकाउँथे तर अहिले त्यो सम्भव छैन । पत्रकारिता र नागरिक पत्रकारिता फरक कुरा हो भन्ने ऐन–नियम, कानुन र सरकारको व्यवहारले देखिनु आजको आवश्यकता हो । भनौं, नागरिक र पत्रकारिता छुट्टिनुपर्छ ।
पत्रकारिताको मोडलअनुसार नागरिक पत्रकारिता छैन । नागरिक पत्रकारितामा जसलाई जे थाहा भयो लेख्ने, देखाइदिने हुन्छ तर पत्रकारितामा सबै कुरा ब्यालेन्स राख्नुपर्ने हुन्छ । अहिले के छ भने अखबारमा जुन कुरा छापिन्छ, त्यो प्रेस ऐनअन्तर्गत कानुनी कारवाही हुन्छ, तर त्यही अखबारमा छापिएका कुरा युटयुब, अनलाइनमा आयो भने विद्युतीय कारोबार ऐन (साइबर) ऐन लगाइदिन्छ । यसले नागरिक पत्रकारिता र मूलधारको पत्रकारिता छुट्टिएन । त्यसैले ऐन–नियम, कानुन र सरकारले यसमा ध्यान दिनुपर्दछ ।

