विश्वमा विभिन्न तानाशाहहरु जन्मिए र अझै छन् । सैनिक तनाशाह, जुच्छे विचारको उत्तर कोरियाली तानाशाह र वंश परम्पराका तनाशाहहरु अझै धेरै देशहरुमा छन् । केही वर्ष अघि मात्र सैनिक तानाशाहबाट मुक्त भएको म्यानमार फेरि सैनिक तानाशाहको हातमा पुगेको छ । जर्मनीमा राष्ट्रवादको नारामा हिटलर जस्तो पासविक क्रुर तनाशाहको जन्म भयो । नेपाली जनताले शाहवंशीय तानशाह, राणादेखि ज्ञानेन्द्रजस्तो निरङ्कुश तानाशाहलाई झेल्नु परयो । तानाशाहहरु जनताको तागतको अगाडि अन्ततः घुँडा टेक्न बाध्य भएका छन् । जनताभन्दा शक्तिशाली कोही हुँदैनन भन्ने कुरा इतिहासले पटकपटक प्रमाणित गरेको छ ।
नेपाली जनताले लामो समयदेखि सङ्घर्ष गर्दै जाँदा, सम्झौता गर्दै आंशिकरुपमा लोकतन्त्रको आभास गर्ने र खोसिने क्रम चलिरह्यो । अन्ततः पटक–पटकदेखिको जनताको शान्तिपूर्ण आन्दोलन, हजारौंको बलिदान, जनयुद्ध र ०६२–०६३ को जनताको विद्रोहले नेपालको शाहवंशीय तानाशाहलाई उखेलेर फ्याँकिदियो । उखेलेर फ्याँकेको तानाशाहको अवशेष र पुरातन चिन्तनबाट पालित–पोषित मण्डले अवशेष अहिले पनि छ । एक कम्युनिष्ट पार्टीको नेताको मुखुण्डोमा तानाशाहको गन्ध छ । अहिले केपी ओली सरकार तानाशाहको रुपमा देखापरेको छ । म त भन्छु जोकर तानाशाह । आफूलाई पाटेबाघ ठान्नेको त जनताले ठेगान लगाएका उदाहरण छन् । जोकर तानाशाहको नाटकसँग जनता डराउँदैनन् ।
म त भन्छु अहिले जोकर तानाशाहको प्रहसनले केही जनता झुक्किएका छन् । प्रम ओली जनता झुक्याउन, छलछाम गर्न, नयाँ–नयाँ ‘प्रोपोगान्डा’ गर्न र जनता ठग्न सिपालु छन् । उनलाई लकडाउनमा राहत र उपचार गर्नको चिन्ता छैन । कोरोनाले डामाडोल भएको अर्थतन्त्र उकास्न चिन्ता छैन । ओलीलाई कुर्सी र पदको मात्र चिन्ता छ । आसेपासेलाई नियुक्ति, राज्यको सम्पत्तिको दोहन गरेर पञ्च भेलामा मस्ती छ । भ्रष्टाचारीको मुख हेर्दिनँ भन्छन् तर संरक्षण गर्न पहिला आफै अघि सर्छन् । जनताको भावनामा खेलवाड गर्छन् । मिचिएको भूमि फिर्ता लिने कुरा आफ्नो सत्तासँग सौदावाज गर्छन् । छापिएको नक्सा लुकाउँछन् । विदेशी खुपिया कर्मचारीलाई शंकास्पद तरिकाले भेट्छन् अनि केही दिनपछि सार्वभौम संसद विघटन गर्छन् । एकातिर भारतीय मिडिया बोलाएर नौटङ्की गर्छन् तिनै मिडिया सगरमाथा आधार शिविरमा गएर सगरमाथाको नाम फेर्न पर्छ भनेर कोकाहल गर्न लगाउँछन् ।
ओली अहिले त्रिशुल हानेर छोडिदिएको साँढे जस्तो भएका छन् । उनी म नै राज्य हुँ भन्ने सोंचिरहेका छन् । ओलीले जे बोल्छन्, जे गर्छन् त्यसलाई नै राज्यले नियम, कानुन र विधि मानिदिनुपर्ने ? उनले पार्टीको विधि विधानलाई त कुल्चिए, कुल्चिए त्यो पार्टीभित्रको आन्तरिक कुरा हो तर पुस ५ गते संविधानमाथि कुठाराघात गरेको जनाले बुझेकै छन् ।
बजारमा ओलीको सेटिङको हल्लाले राज्यको स्वतन्त्र अंगहरु र सम्मानित अदालतमाथि जनताले शंकाको दृष्टिले हेर्ने अवस्थामा पुरयाएको छन् । भोलि राज्यका स्वतन्त्र निकायहरू माथिको विश्वसनीयतामाथि जनताले प्रश्न उठाउन थाले भने यो संघीय लोकतान्त्रिक गणतन्त्र रहला ? पछिल्लो समय राज्यका स्वतन्त्र निकायहरु, संवैधानिक नियुक्तिहरुमा असंवैधानिक तरिकाले बलजस्ती नियुक्ति गरिएका छन् । एउटा व्यक्तिको लहडमा राज्य चल्छ ? देश त प्रचण्ड, माधव, शेरबहादुर र ओली नभए नि चल्छ तर देश संविधान, नीति, नियम र विधि प्रणालीबिना कसरी चल्न सक्छ ?
देश बचाउनुपर्दछ । संविधान जोगाउनुपर्दछ । लोकतान्त्रिक संघीय गणतन्त्रलाई संस्थागत गर्न सम्पूर्ण न्यायप्रेमी तथा परिवर्तनकारी जनसमुदाय एक ढिक्का भएर ओलीको यो स्वेच्छाचारी प्रतिगामी कदमविरुद्ध एक हुनुको विकल्प छैन र विलम्व पनि नगरौं । नहुने चुनावको भ्रममा कोही नपरौं । चुनावमा ठूलो र सानो पार्टी हुन्छ । यदि लोकतन्त्र रहे पो प्रतिस्पर्धा गर्न पाइन्छ । नियम, कानुन र मैदान रहे पो खेलको प्रतिस्पर्धा गर्न सकिन्छ । ओली खेल मैदानमा डोजर चलाएर बाँचुन्जेल बिजेता भएर बस्ने योजनामा अग्रसर छन् भन्ने मैले ठानेको छु । अब प्रतिगमन सच्याएर देशलाई स्थिरतामा लानुको विकल्प छैन । उठौं, जागौं प्रतिगमनविरुद्ध ।
लेखकः राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सहइन्चार्ज हुन् ।