Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान सिटी कलेजका प्रतिभा

हाम्रो कोशी आवाज
फाल्गुन २२ २०७७, शनिबार
धरान सिटी कलेजका प्रतिभा

धरानः धरान-१५ का निश्चल खत्री हँसाउन सक्छन् । उनले धेरै विद्यार्थीलाई हँसाइसकेका छन् । उनी राष्ट्रियस्तरका नेता, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रियस्तरकै चलेका कलाकारको दुरुस्तै नक्कल गर्छन् । त्यति मात्रै होइन उनी केही जनावर र पशुपंक्षीको दुरुस्तै आवाज निकाल्न सक्छन् ।
हँसाएरै विद्यार्थीको मन जित्दै आएका उनी अहिले ‘कलेज लेवल’सम्म आइपुग्दा अझै हँसाउँदा प्रोत्साहन मिलेको कारण थप हँसाउन सक्ने भएका बताउँछन् ।
धरान-१२ स्थित पब्लिक हाइस्कुलबाट प्लस टु सकेका उनी हाल धरान-१२ कै सिटी कलेजमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत छन् । ६-७ वर्षकै उमेरदेखि हँसाउन थालेका उनले त्यतिबेलै आफ्नो प्रतिभा चिनेको बताउँछन् । ‘म ६-७ वर्षको उमेरमै हँसाउन थालेको हुँ’, उनले थपे, ‘धरानस्थित भानुस्मृति माविमा पढ्दादेखि नै स्कुले साथीभाइले हौस्याउँदा म मा पनि केही प्रतिभा रहेछ भन्ने थाहा भयो, त्यतिबेलादेखि नै मैले क्यारिकेचरलाई अगाडि बढाइरहें, कलेज लेवलमा आइसकेपछि साथीभाइले झनै हौस्याए ।’
भानुस्मृतिका अध्यापक ओमनाथ रिमाल र सिटी कलेजका प्राचार्य विशाल श्रेष्ठकै सपोर्टले यहाँसम्म आइपुगेको उनले बताए । ‘खासमा भानुस्मृतिका ओम सर र सिटी कलेजका प्राचार्य विशाल श्रेष्ठ नभइदिएको भए म हौसिन्न थिएँ होला’, उनले भने, ‘विशाल सरको सपोर्टले विराटनगरको मकालु टेलिभिजनमा पनि अन्तर्वार्ता दिन पाउँदा म मा पनि केही प्रतिभा रहेछ भन्ने थाहा भयो ।’ घर परिवारले पनि पूर्ण सहयोग गर्दै आएको बताउँछन् ।
भविष्यमा राष्ट्रियस्तरको कमेडी प्रतियोगितामा भाग लिने लक्ष्य रहेको बताउँछन् । ‘म मा जे प्रतिभा छ, त्यो देखाउने, चिनाउने ठाउँ भनेको राष्ट्रियस्तरको प्रतियोगिता हो’, उनी थप्छन्, ‘त्यही भएर राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिएरै छाड्छु ।’

प्रकाशित मिति: फाल्गुन २२ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend