राजनैतिक नेतृत्व तथा नेताले भावी पुस्तालाई दिएको संस्कार बडो विचित्रको बन्दै गएको छ । सम्मानित व्यक्तिलाई गालीगौलच गर्ने प्रवृत्ति हावी छँदैछ । पढ्नै नसकिने, आखाँले देख्नै नसकिने शब्दहरु सामाजिक सञ्जालमा छरपष्ट देखिन्छ । हाम्रा कलिला मुनाहरुलाई कता लगिँदै छ ? वा युवाहरुले गाली गर्ने संस्कार सिकेका छन् भने बालबालिकाले पनि गालीगौलच गर्ने संस्कार सिक्दैछन् ।
यस्ता प्रवृत्तिहरुले समाज कतै अशान्तितिर त धकेलिँदै छैन भन्ने भान हुन लागेको छ । नराम्रा गतिविधिले राजनैतिक संस्कार बिग्रिँदै गएको छ । नेताले आफ्नो पार्टी ठीक र अरुको पार्टी बेठीक भन्ने र भाषणमा सत्तोसराप गर्ने प्रवृत्ति हावी छ । कुनै नेताको निधन हुँदा मलामी जाने, घोतारी जाने तर बाचुञ्जेल सद्भाव गर्न नजान्ने नेताहरुले के को राजनीति गर्नु ?
मानिस एक पटक नमरी सुखै छैन, कहिलेसम्म बाँचिन्छ भन्ने पनि थाहै छैन तर पनि नेताहरु एक आपसमा झगडा गर्न कहिल्यै नछोडन्े भए । अब राजनीति गर्ने नेताहरुले बुझ्नुपर्छ, हामीले हाम्रा छोराछोरीलाई के सिकाइँदैछौं, कुन संस्कार सिकाइँदैछौं भन्नेबारे राम्ररी विश्लेषण गर्नु आवश्यक छ । सम्मानित व्यक्तिलाई अपशब्द प्रयोग गर्न लगाउने अनि खित्का छोडेर हाँस्ने नेताको संस्कार बनेको छ । सबै मिल्नुपर्छ, राम्रो काम गर्नेलाई राम्रो भन्दै हौसला दिनुपर्छ भन्ने चलन राजनीतिमा हराउन थालेको छ । अब आउने पुस्ताले राजनीति भनेको गाली गर्ने, सम्मानित व्यक्तिलाई अपशब्द बोल्ने हो भनेर सिक्नेछन्, बुझ्नेछन् । घरमा पनि विद्रोह गर्नेछन् ।
आफ्ना आमाबुबा आदर सम्मान गर्ने व्यक्तिहरुलाई उनीहरुले तिरष्कार गर्ने बेला नआउला भन्न सकिँदैन । राजनीतिमा नमिलेको विषयवस्तु छलफल गरेर समाधान गर्न पक्कै पनि सकिन्छ । किन नेताहरुको ध्यान त्यतातिर जाँदैन ? विचारणीय पक्ष यो हो ।
पदको पछाडि लाग्ने देशमा दिगो शान्ति दिन नखोज्ने नेताहरु अब होसियार हुनैपर्छ । अहिलेका जनता होसियार पक्कै छन् । जनताले सबै कुरा थाहा पाइसकेका छन् । यसपटक त जनताले धेरै नेता चिनिसके । को कस्तो, को विकासप्रेमी, को देश भँडुवाा, कसले देशको विकास गर्छ, कसले भत्काउँछ आदि इत्यादि ।
कुनै पनि दलका नेता कार्यकर्ताले अर्को दलका नेता तथा कार्यकर्तालाई गाली नगरौं । सबै सँग सद्भाव राखौं । जनताको काममा तल्लिन भएर लागौं । दुःख र पीडामा परेका जनतालाई मुहारमा खुशी देऊ, विकासका काममा अवरोध नगर तब तिम्रो दलको पछाडि सबै जनता लाग्नेछन् । चुनावमा तिम्रो दललाई नै भोट दिनेछन् । यसरी शान्तिसँग राजनीति गरौं, राजनीतिलाई ठगी खाने भाँडो नबनाऔं, सबैले राजनीतिलाई तिरष्कार नगरी आहा हाम्रो देशको राजनीति भन्ने वातावरण सिर्जना गरौं, यस्तो काममा चाहिँ राजनीतिक दलले ढिला नगर्ने कि ?