धरानः साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढ्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पार्टीकै निलम्बित नेता माधवकुमार नेपाल पक्षलाई लक्षित गर्दै उनले भत्ता बढाउँदा केही मानिसहरूले आपत्ति जनाउनसक्ने बताए । मंगलबार रिपोर्टर्स क्लबको २३ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढ्ने बताएका हुन् ।
‘साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढ्छ, कसैलाई आपत्ति लाग्ला । सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट लागू हुने गरी बढाइने छ,’ उनले भने ।
नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्रमा वृद्धभत्ता मासिक ५ हजार दिने भनेको थियो । सरकारले अहिलेसम्म मासिक ३ हजार दिँदै आएको छ । प्रधानमन्त्री ओलीले साउनदेखि अलिकति बढाइने बताए पनि पाँचै हजार पुरयाउने चाहिँ भनेनन् । ‘सामाजिक सुरक्षा प्रबन्धका क्षेत्रमा थुप्रो काम हामीले गर्यौँ । योगदानका आधारमा सामाजिक सुरक्षा जस्ता कुराहरू गर्यौँ । अरू पनि सामाजिक सुरक्षाका काम हामी गर्दै जान्छौँ । सरकारले नागरिकको लागि काम गरेकोमा केही व्यक्तिले आपत्ति जनाइरहेका छन्, साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ, कसैलाई आपत्ति भए पनि होस्’, ओलीले भने ।