Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

माओवादीले समर्थन फिर्ता लिए राजीनामाः प्रम ओली

हाम्रो कोशी आवाज
चैत्र २१ २०७७, शनिबार
माओवादीले समर्थन फिर्ता लिए राजीनामाः प्रम ओली

धरानः प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए आफ्नो राजीनामा आइहाल्ने घोषणा गरेका छन् ।
बालुवाटारबाट देशभरका १ सय ६५ सडक सञ्जालको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा माग्नेहरुलाई पहिले समर्थन फिर्ता लिन चुनौति दिएका हुन् ।
ओलीले भने, ‘राजीनामा त माग्या माग्यै छन् । मागेपिच्छे कसरी राजीनामा दिन सक्छु ? माग्या छ माग्या छ । ए बाबा हटाउ न त । समर्थन फिर्ता लिइदेउ भन्छु, लिँदैनन् । राजीनामा आइहाल्छ नि समर्थन फिर्ता गर न ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘प्रधानमन्त्रीको राजीनामा मान्ने र सरकार गठनका लागि पहल गर्ने’ निर्णयसँगै देशको राजनीतिले कोल्टो फेरेको बताएका छन् ।
शनिबार कपिलवस्तुमा पार्टीको जिल्लास्तरीय प्रशिक्षण र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक घटनाक्रम फेरिएको बताएका हुन् ।
‘हिजो र आजसम्मको काठमाडौँको राजनीतिक घटनाक्रम अलिकति फेरियो । खासगरी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामाको माग गरेपछि र अर्को सरकार गठनको पहल गर्ने निणय गरेपछि देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको छ’, प्रचण्डले भने ।
उनले कांग्रेसको निर्णयले नयाँ सरकार गठनको बाटो खोलेको र अब छिट्टै नयाँ सरकार बन्ने विश्वास समेत व्यक्त गरे । ‘देशको राजनीतिले कोल्टो फेरेको छ, तपाईंहरुलाई सबैलाई बधाई छ’, अध्यक्ष प्रचण्डले भने, ‘सम्भवत् अब छिट्टै नयाँ सरकार बन्ने छ, नयाँ परिस्थिति बन्ने छ ।’
उता नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव लैजाने बताएका छन् ।
कांग्रेस नुवाकोटद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा रहने भएकाले संसदमा अविश्वासको प्रस्ताव ल्याएर भए पनि हटाउने बताएका हुन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको बताउँदै प्रधानमन्त्री ओलीले आफै राजीनामा नदिए कांग्रेसको नेतृत्वमा अविश्वासको प्रस्ताव संसदमा लैजाने बताए । उनले भने ‘उहाँले राजीनामा दिनुहुन्न भने अविश्वास प्रस्ताव राखेर हामी हटाउँछौंं ।’
सरकार बाहिर रहेका, प्रतिगमनको विरुद्धमा संघर्ष गरेका र संसद पुनस्थापनाका लागि आवाज उठाएका तीन दलबीचमा वार्ता गरी समझदारी बनाई सहमति गरेर प्रधानमन्त्री ओलीलाई हटाउन संसदमा अविश्वासको प्रस्ताव लैजाने उनको भनाइ थियो ।

प्रकाशित मिति: चैत्र २१ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend