धरानः प्रतिनिधिसभाका सांसद गोकुलप्रसाद बाँस्कोटाले सरकारले गरेको विकास निर्माणको काम देख्न नसक्नेलाई ‘साउने चश्मा’ लगाउन भनेका छन् ।
सोमबार प्रतिनिधिसभाको विशेष सयममा बाँस्कोटाले सरकार विरोधीले विकास निर्माणका काम नदेखेको आरोप लगाएका हुन् । उनले सरकारले गरेका काम देखेर विरोधीहरुले डाहा गरेको तर्क गरे ।
‘धरहरा बनेन । अब केही पनि देख्न हेर्न र सुन्न सकिन्न भने एउटा मेरो विनम्रतापूर्वक सुझाव छ । कानमा रुइ हाल्ने आँखामा साउने चश्मा लगाउने ।’ बाँस्कोटाले भने ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बन्नु अघिसम्म नेपालको राजनीति ‘राजनीति’मा मात्रै केन्द्रित भएको बाँस्कोटाले बताएका छन् । ओली अघिका सरकारको समयमा स्वाधिनताको विषयले प्राथमिकता नै नपाएको उनले दाबी गरे ।
‘विकास निर्माण, जनताको सेवा, राष्ट्रिय स्वाधिनताजस्ता विषयवस्तु सरकारका प्राथामिकतामा पर्ने गरेका थिएनन् । आज विकासको एजेण्डा त्यो पनि बहुआयामिक विकासको एजेण्डा प्राथमिकतामा छन् ।,’ उनले भने ।
काठमाडौंमा मेलम्चीको पानी आउँदा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सम्मान नभएको भनेर गुनासो गर्नेले केपी ओलीले देखाएको सपनाको खिल्ली उडाएको बाँस्कोटाले बताए ।