धरानः शंकर पोखरेलकै नेतृत्वमा लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन हुने भएको छ ।
प्रदेश संसदीय दलको बिहान बसेको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा एकल बहुमतीय सरकार बनाउने निर्णय गरेको एमाले रुपन्देहीका इञ्चार्ज दधिराम न्यौपानेले जानकारी दिए ।
न्यौपानेले भने, ‘लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलकै नेतृत्वमा एमालेको एक बहुमतको सरकार बन्ने भएको छ । बहुमतीय सरकार एक–दुई दिनभित्र बन्नेछ ।’
प्रदेश सचिवालयमा दर्ता भएको आफूविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्न आह्वान भएको विशेष अधिवेशन सुरु हुनु अगावै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन् । संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्री बन्नु भएका पोखरेलले धारा १६८ को १ बमोजिम सरकार बनाउनका लागि मार्ग प्रशस्त गर्न राजीनामा दिएको बताइएको छ ।