कोरोना संक्रमण र कोभिड एउटै कुरा होइन । यदि लक्षण छैन वा सामान्य छ तर पीसीआर टेस्ट पोजिटिभ देखिएको छ भने त्यो कोरोना संक्रमण हो, कोभिड होइन । यदि संक्रमण बढेर निमोनिया भयो वा सास फेर्न धेरै गाह्रो भयो, संक्रमण अन्य अंगमा पुगेर असर गरयो भने त्यो कोभिड हो । त्यसैले पीसीआर पोजिटिभ आउँदैमा आत्तिनु पर्दैन ।
कोरोना संक्रमण हाम्रो रोग प्रतिरोधात्मक क्षमताले जित्न सक्छौं । यदि जित्न सकेनौं भने संक्रमण रोगको रूपमा अर्थात् कोभिडमा पुग्दछ । कोभिड भयो भने उपचारको जरुरी हुन्छ । अक्सिजन, एन्टिभाइरल औषधि, द्वितीय संक्रमणको लागि एन्टिबायोटिक, स्टेरोइड, प्लाज्मा थेरापी, हाइफ्लो अक्सिजनसहित आईसीयू तथा भेन्टिलेटरको प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ ।
हाम्रो शरीरमा जति धेरै क्रियाशील भाइरसको मात्रा हुन्छ, त्यति नै थोरै पीसीआर साइकलमा अनुवंशको प्रतिलिपि वृद्धि भइ उच्च विन्दुमा पुग्दछ । अर्को शब्दमा भन्नुपर्दा भाइरसको लोड अनुसार सीटी भ्यालुको निर्धारण हुन्छ । थोरै भाइरसको लोड वा सुषुप्त भाइरस भएमा पीसीआर गर्दा अनुवंशको वृद्धिदर उच्च विन्दुमा धेरै पीसीआर साइकलमा पुग्दछ अर्थात् सीटी भ्यालु धेरै अंकमा हुन्छ अर्थात् २४ भन्दा माथिको अंकमा हुन्छ । धेरै भाइरसको लोड वा धेरै क्रियाशील भाइरस भएमा पीसीआर गर्दा अनुवंशको वृद्धिदर उच्च विन्दुमा थोरै पीसीआर साइकलमा पुग्दछ । अर्थात् सीटी भ्यालु कम हुन्छ । अंक हेर्दा २४ भन्दा थोरै हुन्छ ।
पीसीआर प्रविधिमा सीटी भ्यालुले भाइरसको मात्रा मापन गर्न सहयोग गर्दछ । जति बढी अंकको सीटी भ्यालु हुन्छ, त्यति नै थोरै मात्रामा भाइरस देखिन्छ । त्यस्तै नमूनामा भाइरसको मात्रा धेरै भएमा अर्थात् सीटी भ्यालु २४ भन्दा जति तल देखियो, त्यति नै उक्त नमूना बढी संक्रामक देखिन्छ । पीसीआर पोजिटिभ भए पनि यदि सीटी भ्यालु २४ भन्दा जति धेरै छ, अरुलाई रोग सार्ने क्षमता त्यति नै कम हुन्छ ।
सीटी–भ्यालु संक्रमितको नाक वा घाँटीमा भएको भाइरसको लोड हो । यो फोक्सोमा भएको भाइरसको लोड होइन । तसर्थ सीटी–भ्यालु बढी अंकमा हुँदा सुरक्षित भइने र कम अंकमा हुँदा खतरा हुने हुँदैन ।
दोस्रो लहरको उछालसँगै नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । पीसीआर पोजिटिभ भएका हरेक व्यक्तिलाई साइकल थ्रेसहोल्ड (सीटी) भ्यालुमा धेरै चासो देखिएको छ । सीटी–भ्यालुबारे फरक–फरक धारणाका कारण धेरै व्यक्तिमा कन्फ्युजन देखिएको छ ।
सीटी भ्यालु थोरै अंकमा देखिएमा आत्तिनु पर्दैन । संक्रमण भएको करीब १ हप्तामा भाइरस लोड धेरै हुन्छ । त्यो बेला अधिकांशको सीटी भ्यालु २४ भन्दा धेरै तल देखिन्छ । निको हुने क्रममा २४ बाट अंक बढ्दै जान्छ ।
–सीटी–भ्यालु संक्रमितको नाक वा घाँटीमा भएको भाइरसको लोड हो । यो फोक्सोमा भएको भाइरसको लोड हैन । तसर्थ सीटी–भ्यालु बढी अंकमा हुँदा सुरक्षित भइने र कम अंकमा हुँदा खतरा हुने हुँदैन ।
–सीटी–भ्यालुलाई धेरै कुराले असर गर्छ । नाकबाट लिइएको स्याम्पल र घाँटीबाट लिइएको स्याम्पलमा पनि सीटी–भ्यालु फरक हुन्छ । त्यस्तै स्वाब कसरी लिइयो? कति मात्रामा लिइयो ? त्यसलाई कसरी सुरक्षण, परिवहन र परीक्षण गरियो ? परीक्षण गर्दा कस्तो किट वा रिएजेन्ट प्रयोग गरियो ? कस्तो जनशक्तिले परीक्षण ग¥यो ? आदिअनुसार पनि सीटी–भ्यालु फरक हुनसक्छ। प्रयोगशालाअनुसार पनि सीटी–भ्यालु फरक–फरक हुन्छन् । तसर्थ सीटी–भ्यालु हेरेर आत्तिनु वा ढुक्क हुन जरुरी छैन ।
–सीटी–भ्यालु एउटा चक्र पनि हो । शरीरमा भाइरस प्रवेश गरेको ३–४ दिनसम्म भाइरसको मात्रा कम हुन्छ । तसर्थ सीटी–भ्यालु २४ भन्दा माथि देखिन्छ । सो व्यक्तिमा ७ दिनपछि भाइरसको संख्या धेरै हुन्छ । त्यो बेला सीटी–भ्यालु २४ भन्दा धेरै तलसम्म देखिन्छ । त्यही व्यक्तिमा निको हुने बेला भाइरस नष्ट भएर भाइरसको संख्या कम हुन्छ । अनि सीटी–भ्यालु २५ भन्दा माथि देखिन्छ । यो चक्र अधिकतर व्यक्तिमा देखिन्छ ।
–बालबालिका तथा युवामा इम्युनिटी पावर धेरै हुन्छ । त्यस्तै, खोप लिएका व्यक्तिमा भाइरसविरुद्धको एन्टिबडी हुन्छ । एकपटक संक्रमण भएका व्यक्तिमा पनि एन्टिबडी विकास भएको हुन्छ । त्यस्ता व्यक्तिमा भाइरस घाँटीमै नष्ट हुन्छ । तसर्थ सीटी–भ्यालु १२, १४ जस्तै छोटो अंकमा नदेखिन सक्छ ।
–प्रविधि तथा देशअनुसार सीटी–भ्यालु कतै ३२ तथा कतै ४० सम्मलाई पोजिटिभ मानिएको छ। हाम्रो देशमा ३६ भन्दा माथिल्लो अंकलाई नेगेटिभ मानिन्छ ।
–सीटी–भ्यालुमा अलमल हुनु पर्दैन । रिपोर्ट पोजिटिभ भए पोजिटिभ तथा रिपोर्ट नेगेटिभ भए नेगेटिभ बुझेर तदानुसार गर्नुपर्छ ।
–मेरो अध्ययनको निष्कर्ष के छ भने शुरूमा परीक्षण गर्दा सीटी भ्यालु ठूलो अंकमा देखिए पनि संक्रमित व्यक्ति आइसोलेसनमा अनिवार्य बस्नुपर्छ । सीटी भ्यालु कम अंकमा देखियो भने संक्रमण बीचको अवधिमा छ भन्ने बुझिन्छ । यो भ्यालु देखेर आत्तिनु जरुरी छैन । त्यस्तै संक्रमण भएको १० दिनपछि सीटी भ्यालु ३२ भन्दा माथि देखियो भने उक्त व्यक्तिले सामान्यतया अरुलाई संक्रमण सार्न सक्दैन ।
सीटी-भ्यालु बुझ्ने सरल उदाहरण:
हामीले एउटा खेतमा इनार खन्दैछौं । १०–१२ वटा रिङ हाल्दैमा पानी आयो भने त्यो जमिनमा पानी प्रशस्त छ भन्ने बुझिन्छ । तर ३०–३२ वटा रङ हालेपछि मात्र पानी आयो भने त्यो जमिनमा पानी कम छ भन्ने बुझिन्छ ।
पीसीआर टेस्टमा पनि भाइरस लोड धेरै छ भने १०–२० साइकलमै भाइरस भेटिन्छ । भाइरसको लोड कम छ भने ३०–३२ साइकलमा मात्र भाइरस भेटिन्छ । सीटी–भ्यालुलाई यसरी पनि बुझ्न सजिलो हुन्छ ।