धरानः आफ्नै नेतृत्वमा वैकल्पिक सरकार बनाउने निर्णय गरेको नेपाली कांग्रेसले त्यसका लागि तयारी थालेको छ ।
शनिबार दिउँसो बसेको कांग्रेस संसदीय दलको बैठकले ओली सरकारे लिन खोजेको विश्वासको मतलाई असफल पार्दै आफ्नै नेतृत्वमा सरकार बनाउन संसदमा रहेका सबै दलसँग छलफल गर्ने निर्णय गरेको थियो ।
बैठक लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) का नेताहरुसँग छलफल गरेका हुन् । ‘दलको बैठकमै संसदमा रहेका अन्य दलसँग आफनै नेतृत्वमा सरकार बनाउन छलफल गर्ने भनेर सभापति निस्किनुभयो’, ’अहिले उहाँहरुबीच छलफल भइरहेको जानकारी पाएको छु’, कांग्रेसका एक सांसदले भने ।
दलको बैठकले ओलीको राजीनामा माग पनि गरेको छ । ओलीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न पनि कांग्रेसले सबै राजनीतिक दललाई खुला आह्वान गर्ने निर्णय गरेको ती सांसदले जानाकारी दिए ।
नेपाली कांग्रेसको संसदीय दलको बैठकमा वैशाख २७ अघि अविश्वास ल्याइए त्यसको औचित्य नहुने मत आएको छ ।
संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदले २७ वैशाखअघि अविश्वासको प्रस्ताव ल्याउनुपर्ने सुझाव दिएका थिए। सांसदहरुले राखेको प्रश्न तथा सुझावपछि प्रमुख सचेतक बालकृष्ण खाँडले २७ वैशाखअघि अविश्वासको प्रस्ताव ल्याए पनि त्यसको औचित्य नहुने बताएका थिए ।
खाँडले दिएको जवाफ उद्धृत गर्दै एक सांसदले भने, ‘अविश्वासको प्रस्ताव ल्याएपनि त्यसमा मतदान हुने अवस्था हुन्नँ । प्रस्ताव डिफ्युज हुन्छ । विश्वासको मत लिने प्रस्तावअघि आइसकेकोले अविश्वास प्रस्तावको अर्थ हुन्न ।’
२७ वैशाखपछि बहुमत सिद्ध गर्न कांग्रेसले नेतृत्व लिनुपर्ने सुझाव सांसदहरुले दिएका छन् । बैठककै बीचमा सभापति शेरबहादुर देउवा र नेता मिनेन्द्र रिजाल बाहिरिएका थिए । बाहिरिनुअघि देउवाले अन्य दलका शीर्ष नेतासँग छलफल रहेको जानकारी गराएका थिए ।