धरानः प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत पाएनन् । जम्मा उपस्थित संख्या २३२ जना रहेको थियो । पक्षमा ९३ मत मात्र पाएका छन् । विपक्षमा १२४ मत र प्रस्तावको मत दिन्न भन्नेमा १५ मत परेको छ । प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि सोमबारदेखि प्रधानमन्त्री ओली स्वतः पदमुक्त बनेका हुन् ।
विश्वासको पक्षमा मतदान गर्ने ह्वीप जारी गरेपनि एमालेका २८ सांसद अनुपस्थित भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् ।
संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित नै भएनन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् ।
तटस्थ १५ मत परेको सभामुखले जानकारी गराए ।
प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारका लागि संसदको विशेष अधिवेशन बोलाएकी हुन् ।
संवैधानिक व्यवस्थाअनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ सदस्य कायम छ । दल त्यागसम्बन्धी व्यवस्थाअनुसार नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि मन्त्री टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीको स्थान रिक्त छ ।
सांसद विजयकुमार गच्छदार, मोहम्मद अफताब आलम, रेशम चौधरी र हरिनारायण चौधरी निलम्बनमा छन्, उनीहरुलाई मत जाहेर गर्ने अधिकार छैन ।
प्रधानमन्त्री ओलीले संसदको विश्वास गुमाएसँगै तीन वर्षसम्म चलेको कम्युनिष्ट सरकार ढलेको छ । तर, नेकपाको विभाजन अनि एमालेभित्रको अन्तरकलहका कारण कम्युनिष्ट पार्टीले जनताबाट प्राप्त जनादेशअनुसार पाँच वर्षसम्म सरकार चलाउन नसकेको हो ।
ओली पदमुमक्त भएसँगै अब नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको छ । जसका लागि काँग्रेसले बहुमत आफूसहितको गठबन्धनको पक्षमा रहेको दावी गर्दै राष्ट्रपतिसमक्ष मागदाबी प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।
अर्कोतर्फ केपी ओलीले फेरि संसद विघटन गर्ने या ठूलो दलको हैसियतले आफैं सरकारको दाबी गर्ने आशंका पनि विपक्षी दलका नेताहरुले गरेका छन् ।