धरानः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता बिहीवार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी छिन् ।
ओली तेस्रोपटक प्रधानमन्त्री बन्ने पहिलो कम्युनिस्ट नेता बनेका छन् । यसअघि २०७२ असोज २५ गते पहिलो पटक ओली प्रधानमन्त्री बनेका थिए । २०७३ साउन १९ गते उनी पदमुक्त भएका थिए । २०७४ फागुन ३ गते ओली दोस्रोपटक प्रधानमन्त्री बनेका थिए । वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत गुमाएर पदमुक्त भएका थिए । उनी मुलुकको ४२ औं प्रधानमन्त्री बनेका हुन् ।
बैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वास गुमाएपछि सबै मन्त्रीहरु पदमुक्त भएका छन् । उनीहरुको पनि आजै पुनर्नियुक्ति हुनेछ ।
अब प्रधानमन्त्री ओलीले एक महिनाभित्र फेरि संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसबेला उनले विश्वासको मत पाएनन् भने धारा ७६ (५) अनुसार राष्ट्रपतिले अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने हुन्छ । र, उसले पनि एक महिनामा विश्वासको मत पाउन नसके प्रधानमन्त्रीले संसद विघटन गरी मध्यावधि चुनाव घोषणा गर्न पाउँछन् ।
बिहीबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र नयाँ सरकार गठनका लागि बहुमत जुटाउन असफल भएका थिए । दिनभर दौडधुप गरे पनि कांग्रेस र माओवादीले नयाँ सरकारको चाहिने एक सय ३६ जना सांसदको बहुमत जुटाउन असफल बनेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि बुधबार राति ९ बजेसम्मको समय दिएकी थिइन् । तर कांग्रेस र माओवादीले बहुमत जुटाउन नसकेपछि अब कम्तीमा एक महिनाका लागि केपी शर्मा ओली नेतृत्वकै सरकार बनेको हो ।
गएको सोमवार संसदबाट विश्वासको मत पाउन नसकेपछि ओली सरकार अल्पमतमा परेको छ । कुनै पनि दलले बहुमत जुटाउन नसकेपछि ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री ओलीले फेरि शपथ लिए । कांग्रेस र माओवादीले अब एक महिनासम्म ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न पाउने छैनन् ।
नयाँ सरकार गठनका लागि कांग्रेस र माओवादीले २७ गतेदेखि लगातार प्रयास गरिरहेका थिए । जसपाभित्रको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले साथ दिने र एमालेको पनि माधव नेपाल पक्षका सांसदको राजीनामा आउने आसमा कांग्रेस र माओवादी भर परेका थिए । तर जसपा कुनै पनि हालतमा सरकार निर्माणमा सहभागी नहुने भन्दै अध्यक्ष महन्थ महन्थ ठाकुरले बिहानै १६ जना सांसदलाई भक्तपुरको एक रिसोर्टमा लगेर राखेका थिए ।
ठाकुरको अडान र गतिविधिका कारण नयाँ सरकार गठनमा साथ दिने उपेन्द्र यादव र बाबुराम भट्टराईको धोको अधुरै रह्यो । यस्तै ओलीसँग वारपारको अवस्थामा रहेको एमालेकै माधव नेपाल पक्षका सांसदको राजीनामा आउने आशा पनि दिउँसो ओली र नेपालबीचको भेटका कारण टुट्यो । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीच बूढानीलकण्ठको एक व्यवसायीको घरमा झण्डै साढे तीन घण्टा भएको भेटवार्तामा नेपाल पक्षका सांसदले तत्कालै राजीनामा नदिने सहमति भएको हो । भेटवार्तापछि प्रतिक्रिया दिँदै वरिष्ठ नेता नेपालले कुराकानी सकारात्मक भएको र आफू पक्षका सांसदको राजीनामा टरेको जानकारी दिए ।
छलफलमा पार्टीलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्काउन प्रधानमन्त्री ओली सकारात्मक रहेको नेता नेपालको भनाइ छ । यस्तै ओलीले गएको फागुन २८ गते नवौं महाधिवेशनबाट आएको केन्द्रीय कमिटी र स्थायी कमिटी विघटनको निर्णय फिर्ता र नेताहरूको जिम्मेवारी हेरफेर गरेको विषयमा पनि छलफल गर्न ओली तयार भएको नेता नेपालको भनाइ छ । पार्टीका समस्या समाधानका लागि कार्यदल पनि बनाइएको छ ।
९ सदस्यीय कार्यदल गठन गरिएको छ । जसमा ओली पक्षबाट अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेता सुवास नेम्वाङ सदस्य छन् भने खनाल–नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट समावेश रहेका नेता विष्टले जानकारी दिए । उनका अनुसार कार्यदलमा पछि दुई जना पछि थप्ने पनि सहमति भएको छ ।
नेपाल पक्षको राजीनामा नआउने पक्का भएसँगै नेपाली कांग्रेसले नयाँ सरकारमा दाबी नगर्ने निर्णय गरयो । अब एक महिनाका लागि ओली नै प्रधानमन्त्री रहिरहने र त्यसपछि के गर्ने भन्ने कुरा पछि निर्णय हुने एक नेताले बताए । यसरी प्रधानमन्त्री बनेका उनले एक महिनापछि पुनः विश्वासको मत लिनुपर्छ । यस्तै, माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले पनि बहुमत नपुग्ने भएकाले नयाँ सरकारमा दाबी नगर्ने र ओलीलाई प्रधानमन्त्री स्वीकार्नुको विकल्प नभएको निष्कर्ष निकालेको छ ।