धरानः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नलाई बहुमत सांसदको हस्ताक्षर लिएर विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति कार्यालय पुगेका छन् ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा संयुक्त बैठकपछि नेताहरु शीतल निवासतर्फ लागेका हुन् । बैठकको सहमतिअनुसार कांग्रेस सभापति देउवाका पक्षमा १४९ सांसदको हस्ताक्षर संकलन भएको माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए ।
एमालेका १२१ जना सांसद आफूसँग रहेको भनि जानकारी गराउन प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेपालका नेताहरुले गएराति नै आफ्नो पक्षमा बहुमत सांसद रहेको दावीसहित हस्ताक्षर राष्ट्रपति समक्ष प्रस्तुत गरिसकेका थिए ।
विपक्षी दलका नेताहरु १४९ सांसदको हस्ताक्षर आफ्नो पक्षमा रहेको दावीसहित शीतल निवास पुगेकै बेला ओली पनि पुगेका हुन् । अब राष्ट्रपतिले कसलाई मान्यता दिनेछिन् भन्नेमा सर्वत्र चासो छ ।