धरानः संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि बहुमत सांसदको हस्ताक्षर बोकेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शीतल निवास पुगेका छन्। देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४९ सांसदको हस्ताक्षरसहित काँग्रेस सभापतिसहित माओवादी, जसपा र एमालेको माधव कुमार नेपाल समूहका नेताहरू शीतल निवास पुगेका हुन् ।
विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटाएको दाबी गरेको छ । सरकारमा दाबी गर्नका लागि राष्ट्रपति कार्यालयमा जाने प्रयोजनका लागि काँग्रेसको नेतृत्वमा सो सङ्ख्यामा हस्ताक्षर जुटाइएको थियो।
काँग्रेस र माओवादी केन्द्रसहित एमालेको माधव कुमार नेपाल समूह र जसपाको उपेन्द्र यादव समूहका सांसदको हस्ताक्षर रहेको छ । स्रोतका अनुसार काँग्रेसका ६१, माओवादी केन्द्रका ४९, माधव नेपाल समूहका २६, जसपाका १२ र राष्ट्रिय जनमोर्चाका एक सांसदले सो प्रस्तावमा हस्ताक्षर गरेका छन् ।