Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विपक्षी गठबन्धनले राजनीतिक र कानुनी प्रतिवाद गर्ने

हाम्रो कोशी आवाज
जेष्ठ ८ २०७८, शनिबार
विपक्षी गठबन्धनले राजनीतिक र कानुनी प्रतिवाद गर्ने

धरानः विपक्षी गठबन्धनले राष्ट्रपतिको कदमविरुद्ध राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ ।
शनिबार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालसहितको बैठकले यस्तो निर्णय गरेको हो ।
राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने कार्य प्रतिगामी भएको पनि बैठकले ठहर गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेमतो गरेर प्रतिनिधिसभा विघटन गर्ने वदनियतपूर्ण कार्य राष्ट्रपतिबाट भएको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
संविधानको धारा ७६ (५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि वहुमत सदस्यको हस्ताक्षरसहित दावी पेश गरिए पनि राष्ट्रपतिबाट संवैधानिक दायित्व निर्वाह नभएको विज्ञप्तिमा भनिएको छ ।
विपक्षी गठबन्धनका राजनीतिक दलहरूले शनिवार एक संयुक्त विज्ञप्ति जारी गरी प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंवैधानिक काममा राष्ट्रपतिलाई मतियार बनाइएको आरोप लगाइएको छ । ‘प्रधानमन्त्री केपी शर्मा ओलीसंगको मिलामितोमा बदनियतपूर्ण किसिमले प्रतिनिधि सभाको विघटन गरी नेपालको संविधान र लोकतन्त्रमाथि नै प्रहार गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
यस्तो छ संयुक्त प्रेस वक्तव्य
मितिः २०७८।२।८।७
नेपाली जनताको लामो कठोर आन्दोलन, संघर्ष, त्याग र बलिदानबाट प्राप्त नेपालको संविधानमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको विघटन गरी आघात पुर्याएका छन् । नेपालको संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओलीद्वारा सोही धाराको उपधारा ४ बमोजिम विश्वासको मत लिनुपर्ने बाध्यकारी प्रावधानको उल्लंघन गर्दै उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त हुनुपर्ने सिफारिश राष्ट्रपतिलाई गरियो । संविधानको संरक्षणको दायित्व रहेको राष्ट्रपतिबाट समेत प्रधानमन्त्रीको उक्त सिफारिश अनुसार नै एक दिनको मात्र समय दिएर नयाँ प्रधानमन्त्री नियुक्तिको लागि आव्हान भयो । नेपालको संविधान, प्रतिनिधि सभा र लोकतन्त्रको रक्षाका लागि हामीले नेपाली कांग्रेसका सभापति तथा प्रतिनिधि सभाका माननीय सदस्य शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्तिका लागि प्रतिनिधि सभाका १४९ माननीय सदस्यहरुको हस्ताक्षर सहित राष्ट्रपति समक्ष दावी प्रस्तुत गरेका थियौं । नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम हामीले प्रतिनिधि सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित विधिसम्मत पेश गरेको दावीमाथि संविधानतः निर्णय गरी प्रधानमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक दायित्व राष्ट्रपति विद्या भण्डारीबाट निर्वाह गरिएन । उल्टै प्रधानमन्त्री केपी शर्मा ओलीसंगको मिलामितोमा बदनियतपूर्ण किसिमले प्रतिनिधि सभाको विघटन गरी नेपालको संविधान र लोकतन्त्रमाथि नै प्रहार गरिएको छ । यस प्रतिगामी कदमबाट मुलुक नयाँ राजनीतिक धु्रविकरण र जटिलतार्फ धकेलिएको छ । निर्वाचन नगराई आफ्नो निरंकुश सत्ता लम्ब्याउने दुराशयबाट घोषित आम निर्वाचनले कोरोना संक्रमणको महामारीको भयावह अवस्थाको सामना गरिरहेका जनताको जीवनलाई झन गम्भीर संकटमा धकेलिदिएको छ । यस्तो महामारीमा राजनीतिक जगत र सिंगो राष्ट्रलाई एकताबद्ध रुपमा अगाडि बढाउनु पर्नेमा जनप्रतिनिधि संस्थालाई विघटन गरी प्रधानमन्त्रीबाट अत्यन्त गैरजिम्मेवार कार्य भएको छ । यसबाट देश र जनताले झन बढी दुःख र कष्टको सामना गर्नुपर्ने स्थिति सिर्जना भएको छ ।
प्रतिनिधि सभालाई रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यको हामी घोर निन्दा र भत्र्सना गर्दछौं । राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटन गरी मुलुकमा राजनीतिक अनिश्चय, अन्योल र अराजकता सिर्जना गर्ने असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्यका विरुद्ध एकताबद्ध भई राजनीति र कानुनी रुपमा सशक्त किसिमले प्रतिवाद गर्न हामी कटिबद्ध छौं । राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रतिनिधि सभाको विघटन गर्ने प्रतिगनकारी कार्यका विरुद्ध एकजुट भई नेपाली जनताको लामो आन्दोलन, संघर्ष र बलिदानबाट स्थापित नेपालको संविधानमा अन्तर्निहित संघीय लोकतान्त्रिक गणतन्त्र, सामवेशी लोकतन्त्र एवम् नेपालको सर्वोपरी राष्ट्रिय हितको रक्षाका लागि दृढतापूर्वक अगाडि बढ्न हामी सम्पूर्ण राजनीतिक दल तथा जनसमुदायमा हार्दिक आव्हान गर्दछौं ।
शेरबहादुर देउवा, सभापति नेपाली कांग्रेस
पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष नेकपा (माओवादी केन्द्र)
माधव कुमार नेपाल वरिष्ठ नेता नेकपा (एमाले)
उपेन्द्र यादव अध्यक्ष जसपा, नेपाल
दुर्गा पौडेल उपाध्यक्ष राजमो

प्रकाशित मिति: जेष्ठ ८ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend