Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भूतपूर्व गोर्खासँग वार्ताका लागि बेलायत तयार

हाम्रो कोशी आवाज
जेष्ठ १५ २०७८, शनिबार
भूतपूर्व गोर्खासँग वार्ताका लागि बेलायत तयार

धरानः गैरआवासीय नेपालीसँग युकेको पहलमा बेलायत सरकारलाई गोर्खा सैनिकका समस्याबारे लेखेको पत्रको जवाफ प्राप्त भएको छ ।
गत अप्रिल ६ तारिखमा गैरआवसीय नेपाली सङ्घ युकेको गोर्खासम्बन्धी गतिविधि हेर्ने विभागका संयोजक तथा सङ्घका उपाध्यक्ष प्रेम गाहा मगरको पहलमा गोर्खा सम्बद्ध पाँच संस्थाले संयुक्त पत्र तयार गरी यहाँको रक्षा मन्त्रालयमा पठाइएको थियो ।
बेलायत सरकारले प्रतिउत्तरमा पठाएको दुई पृष्ठ लामो पत्रमा भूपू गोर्खालाई पेन्सनका रुपमा वार्षिक करिब नेरु २० अर्ब बेलायत सरकारले दिँदै आइरहेको पत्रमा उल्लेख गरिएको छ । त्यसैगरी सन् २०१९ मा गोर्खा कल्याणकारी कोष स्थापना गरी कोषबाटै आधारभूत स्वास्थ उपचारका लागि भुक्तानी गरिरहेको समेत बताइएको छ ।
भूपू गोर्खा सैनिकको समस्या समाधानका लागि बेलायत सरकार वार्ताका लागि तयार रहेको र नेपालस्थित बेलायती राजदूत तथा नेपालका परराष्ट्रमन्त्रीबीच निरन्तर कुराकानी भइरहेको समेत उल्लेख छ । यसका साथै संवादका लागि नेपालस्थित बेलायती दूतावासमार्फत अघि बढ्न सकिनेसमेत जनाइएको छ ।
बेलायती रक्षा मन्त्रालयले तयार पारेको यसअघिको प्राविधिक समितिको गोर्खा समस्या व्यवस्थापन सम्बन्धीको दस्तावेज दुवै देशका प्रधानमन्त्रीबीच सन् २०१९ मा समेत छलफल भइसकेको भनिएको छ । बेलायत सरकारको यो पत्रअनुसार अब भूपूगोर्खाको समस्या समाधानका लागि नेपाल सरकारको ठोस निर्णय आवश्यक रहेको गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष प्रेम गाहा मगरको भनाइ छ ।
साथै पत्रबारे लण्डनस्थित नेपाली दूतावासलाई मौखिक रुपमा जानकारी गराइसकिएको र अब एकदुई दिनमा नेपाल सरकारले छिटोभन्दा छिटो वार्ता टोली खडा गरोस् भनेर नेपाल सरकारको ध्यानाकर्षणका लागि नेपाली दूतावासमार्फत ज्ञापनपत्र बुझाइने बताए ।
गत महिना बेलायत सरकारलाई संयुक्तरुपमा पठाएको पत्रमै समस्या समाधानका लागि बेलायतले जुन १५ तारिखसम्म पहल नगरे आमरण अनशन बस्ने चेतावनी दिइएको थियो । त्यसैअनुसार संयुक्तपत्रमा हस्ताक्षर गरेका कृष्णबहादुर राईको अध्यक्षतामा गठित सत्याग्रह अभियानका तीन सदस्य जुलाई १ तारिखदेखि आमरण अनशन बस्ने निधो गरिसकेकाले यसपूर्व नै नेपाल सरकारले ठोस कदम चाल्नुपर्ने भूपूगोर्खाको समस्या समाधानका लागि क्रियाशील संस्थाको अनुरोध छ ।
नेपाल सरकारले अविलम्ब वार्ता टोली गठन नगरे अहिले बनेको वार्ताको वातावरण पछि कायम नरहन सक्ने हुँदा नेपाल सरकारले यो पत्रको सही सदुपयोग गर्नुपर्ने गैरआवासीय नेपाली सङ्घको धारणा रहेको छ ।

प्रकाशित मिति: जेष्ठ १५ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend