धरानः नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले सरकारले ल्याएको आर्थिक वर्ष २०७८–७९ बजेट उत्साहप्रद र जपपक्षीय बजेट रहेको बताउँदै यसको सबै मिलेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । अध्यक्ष ढकालले बजेटका उद्देश्य र प्राथमिकता सही देखिएको बताएका छन् । समष्टीमा बजेटले महामारी नियन्त्रणमा जोड, सामाजिक सुरक्षामा प्राथमिकता तथा पूर्वाधार निर्माणमा जोड दिएकोले जनतामा उत्साह र आशा अभिवृद्धि गरेको छ र हामि सबै मिलेर कार्यान्वयन गर्नुपर्नेमा उनको जोड छ ।
अध्यक्ष ढकालले सरकारले पनि एक संयन्त्र नै निर्माण गरेर कार्यान्वयनको पक्षमा ध्यान दिनुपर्नेमा जोड दिए । कोभिड–१९ महामारीको उच्च संक्रमणको अहिलेको अवस्थामा सरकारले स्वास्थ्य सुरक्षा, उपचार र कोभिडको निधानकै लागि अधिक बजेट विनियोजन गरेको देखिएको बताएका छन् । जसका कारण यस पटक सरकारले स्वास्थ्य क्षेत्रमा मात्र १.२ खर्ब छुट्याएको छ । महामारी नियन्त्रणमा केन्द्रित भएर बजेट ल्याउनु सकारात्मक सकारात्मक पक्ष हो उनले भनेका छन् ।
आलोचकको दृष्टिमा यो बजेट राजनीतिक स्वार्थ पूरा गर्ने, प्रचारमुखी र पपुलिष्ट पनि देखिन सक्छ तर यसकोे कार्यान्यन भए जनताले राहत पाउने अध्यक्ष ढकालको भनाई छ । बजेटमा यो वर्षको संशोधित खर्च भन्दा झण्डै तीस प्रतिशतले बढी खर्च गर्ने र राजश्वको अनुमान २५ प्रतिशतले थप्ने कुरा सजिलो छैन । खर्च र राजश्व संकलनमा चुनैती देखिन्छ । १०.५ प्रतिशतले बजेटको आकार बढे पनि चालु र पूँजी खर्च गत वर्षको भन्दा पनि कम छ । आकार ठूलो, तर स्रोत जुटाउने आधार भरपर्दो नदेखिएको भन्दै अध्यक्ष ढकालले बजेटले भौगोलिक, क्षेत्रीय तथा वर्गीय रुपमा सन्तुलनमा दिन नसकेको बताए । समाजमा मानवीय मूल्यमान्यता तथा नैतिकताको खडेरी पर्दै गएको र पारिबारिक मूल्यमान्यता पनि खण्डित हुँदै गएकोमा यसको पुनउत्थानको लागि पनि बजेटले ध्यान दिन नसेकोको ढकालको भनाई छ ।
बजेटले उद्योग निजी क्षेत्रका उधोग व्यवसायीहरुका लागि तथा सहकारी क्षेत्रको लागि पनि खुशीको बहार ल्याएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । यो गत आर्थिक वर्षको भन्दा १०.५ प्रतिशतले बढी हो ।