Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बोल न ! भाउ खोज्या हो रे ?

हाम्रो कोशी आवाज
जेष्ठ २९ २०७८, शनिबार
बोल न ! भाउ खोज्या हो रे ?

बिहान अफिस जानुअघि काम सक्नुपर्छ । दिनभरी अफिसको काममा व्यस्त भइन्छ । अफिसबाट साँझ फर्केर घरधन्दाका काम सिध्याएर मोबाइलमा इन्टरनेट खोल्यामात्र हुन्छ ।
स्क्रिनमा टुप्लुक आइहाल्छन् म्यासेजहरु कता गायब ? खाना भयो ? के गर्दैछौ ? बिर्सेको ? हुन त साथीभाइ आफन्तको म्यासेज रिप्लाई गरौं न, केही समाचार पढौं न आज नेपाल र अन्य देशहरुमा के कस्ता घटनाहरु घटे भनेर मोबाइलमा इन्टरनेट खोलेर प्राथामिकतामा हेरिन्छ ।
मलाइ दिदीबहिनीहरूले यस्ता कुरा सुनाउनुहुन्छ । कतिपयले म्यासेज देखाउनुहुन्छ । सायद, दिदीबहिनीहरूलाई यही प्रश्न गरिन्छ । दिदीबहिनीहरूले यस्ता कुराहरुमा गुनासो गर्नुहुन्छ । प्रायःलाई यसप्रकारको समस्या हुँदोरहेछ । कतिपय दाजुभाइहरूलाई पनि यस्ता समस्याहरू भएका होलान् । तर, महिलाले पुरुषलाई म्यासेज गरेर हैरान पार्ने गरेको कमै होलान् ।
यो समस्या हामी महिलालाइ बढी परेको हुनुपर्छ । प्रायःलाई फेसबुकलगायतका सामाजिक सञ्जाल कसरी प्रयोग गर्ने भन्ने विस्तृत जानकारी नहुन सक्छ । उहाँहरूले आफ्नो भाइबहिनी, छोराछोरीले बनाइदिएको आइडी समाचार पढ्न र फोटोहरू हेर्न मात्र चलाउनु भएको हुन्छ । मेरो चिनजानमा रहेका केही आमा दिदीहरुले भन्नुहुन्छ, ‘यो फेसबुक चलाउन राम्रोसँग आउँदैन तर यसै फेसबुक हेरुन् त भनेर र टाढा भएका छोराछोरीसँग भिडियो कल गरौं न भनेर खोलिदिएका’ भन्नुहुन्छ । उहाँहरूलाई चिनजान कै वा अपरिचित मान्छेहरूले हरेक समय म्यासेज गरेर वाक्कदिक्क बनाइरहेका हुँदारहेछन् । मैले देख्या छु ती आमाहरुले मलाई फेसबुक खोलर फोटो पठाइदे भन्नुभएको समयमा । मैले केही खराब फोटोहरु र म्यासेजहरुको आधारमा कतिपयलाई आफैं ब्लक पनि गरिदिएको छु ।
केही आफ्नै कुरा म मेरो साथीहरु र दिदीबहिनी फेसबुक र अन्य सामाजिक सञ्जाल चलाउन जान्नेछौ भन्छौ । तर, समस्या हाम्रो पनि उही नै हो । कोरोना भाइरस (कोभिड–१९) का कारण भएको लकडाउनले घरमै बस्नुपर्ने अवस्था आएको थियो । फुसर्दिलो समय भयो । त्यसको असर त समाजिक सञ्जालमा पनि परयो । सामाजिक सञ्जाल असामाजिक भएको महसुस गर्ने प्रशस्त ठाउँ भयो । अझ त्यो समस्याले ठूलो रूप लियो र म्यासेन्जरमा गफ गर्न रुचाउनेहरुका लागि त त्यो समय धेरै उपयुक्त नै रहयो ।
उहाँहरुले पटकपटक बोलाउनुहुन्छ । म्यासेजको रिप्लाई नदिए, म्यासेज हेरेर छोडे यात म्यासेज नै नहेरे पनि उहाँहरुले भ्वाइस म्यासेज, भ्वाइस कल वा भिडियो कल नै हान्न पनि पछि पर्नु हुन्नँ । अनि त्यही कल पनि नउठाउँदा लेख्नुहुन्छ बिजी हो ? रिसाएको ? के गर्दै होर ? बोल न, भाउ खोज्या हो रे ? उहाँहरुको यस्तो हर्कत देख्दा लाग्छ हामी महिला, युवतीहरु कामविहीन छौं हामी उहाँहरुको म्यासेजको रिप्लाइ गर्न जतिबेला पनि म्यासेनजर अन गरेर बसिरहेका हुन्छौं । हाम्रो अरु केही काम कर्तव्य नै हुँदैन ।
गाउँघर र सहरतिर देखि रहेको अनुहार फेसबुकमा जोडिएको छ । उसको घर परिवारको बारेमा सबै थाहा छ । तर उसको फेसबुक प्रोफाइल चेक गर्दा न त उसको घरको अन्य सदस्यहरुको फोटो पाइन्छ, न त अन्य आफ्ना मान्छेहरुको फोटो नै यस्तो गर्नुको एउटै उद्देश्य फेसबुकमा आफ्नो वास्तविकता लुकाएर अन्य मान्छेहरुलाई डिस्ट्रब गर्नु नै हुन्छ ।
हिजोआज म आफ्नो भन्दा पनि आफूभन्दा साना बहिनीहरु र मेरा अग्रज आमा दिदीहरुको यस्ता पीडा मिश्रित अनुभवहरु सुन्ने गर्छु । उहाँहरूले यस्ता समस्या सुनाउँदै गर्दा उहाँहरूको अनुहारमा डरको भावहरुको महसुस गर्छु । बहिनीहरु सुनाउँछन्, ‘साथीहरूभन्दा बढी साथिहरुको बुवा, दाइ, काकाहरुले म्यासेज गर्छन् ।’ म्यासेजमा ‘साथीको घर कहिले आउने नानु ?’ ‘घरमा को को छौ ?’ ‘आउने भए भन है म लिन आउँछु’ ‘किन आउन छोड्या ?’ जस्ता कुराहरु भनिरहँदा रहेछन् ।
म सल्लाह दिन्छु यस्ता तल्लो स्तरको हर्कत गर्नेहरुलाई ब्लक गर्ने अप्सन फेसबुकले दिएको हुन्छ । कतिपय ब्लक गर्न पनि डराउँछन् । म भन्छु नचिनेका नौला मानिसहरुलाई फेसबुकमा फ्रेन्ड नबनाऔं तर समस्या त कहीँ देखेका, थोरै चिनेका र केही नजिकबाट चिनेकाहरुमा पो हुँदो रहेछ ।
केही समय अगाडि म पनि चिनेका मान्छेलाई, आफूलाई मन पर्ने कलाकारहरु या त आफूले मान्ने मान्छेहरूलाई आफै फ्रेन्ड रिक्वेस्ट पठाउँथे । रिक्वेस्टहरु एक्सेप्ट पनि हुन्थे र म्यासेज पनि आउँथे । मलाई असाध्यै खुसी लाग्थ्यो । उहाँहरु जस्तो नाम चलेका चर्चित व्यक्तिहरूले मेरो रिक्वेस्ट एक्सेप्ट गरेर आफैं म्यासेज गर्नुभयो भनेर तर मेरो त्यो बुझाइ गलत रहेछ ।
केही समयपछिको च्याटबाटै थाहा पाए । उहाँहरूसँग मैले केही दिन च्याट गरे बढो इज्जतका साथ म त मख्ख थिएँ । त्यस्तो देश विदेशमा नाम कमाएको मान्छे मसँग बोल्नुभयो । म भन्थे मत हजुरको फ्यान होनी वास्तवमा म उहाँको फ्यान नै थिएँ । उहाँ पनि भन्नु हुन्थ्यो, ‘म पनि हजुरको स्टोरीहरु हेर्छु’ झनै खुसी लाग्थ्यो ।
केही दिनपछि भने उहाँपनि ‘बिजी हो’ शौलीमा झुल्कन थाल्नुभयो । त्यो समय मलाई कताकता दुःख लागेको थियो । देशविदेश नाम कमाएको आफूले इज्जत गरेको मान्छेको त्यो शैली देखेर नरमाइलो महसुस गरे ।
यो त भयो घर बाहिरको कुराहरू कसैलाई सामाजिक सञ्जालमा जोडन मन लागे जोडने नत्र ब्लक अन्फ्रेड जस्ता अप्सनहरु छँदैछन् । तर कहिलेकाहीँ परिस्थिति यति अप्ठ्यारो बन्छ आफ्नै नातागोता भित्रका र नजिकबाट चिनेका मान्छेहरूको यस्तो हर्कत झेल्नुपर्छ । उहाँहरूलाई नत ब्लक गर्न सकिन्छ, नत अन्फ्रेन्ड नै नत भेट्दा खुलेर बोल्न सकिन्छ न गाली गर्न नै सकिन्छ न सकिन्छ चुपचाप बस्न । सायद बिजी हुनुन्छ । हामी जस्तासँग के बोल्ने फुर्सद हुन्थ्यो । हजुर त ठूलो मान्छे, हजुर त बिजी मान्छे, कहिलेकहीँ त हामीसँग पनि बोल्ने गर । आफन्त नातागोता भित्रका आफूले इज्जत दिएका मान्छेहरुको यस्ता वचनहरुले यति अप्ठ्यारो महसुुस गराइदिन्छ र कति त मानसिक असर पनि पर्छ ।
ए भगवान, बोल्नैपर्ने कुरा गर्नै पर्ने गफ भए त आफैले बोलाएर पनि भनिन्छ । कहिलेकाहीँ फुर्सदमा सञ्चो विसञ्चो पारिवारिक कुराहरू त आफै बोलाएर पनि सोधिन्छ । चिया खायौं, कति बजे उठ्यौ, कति बजे सुत्यौ ? खाना खायौ, सब्जी के खायौ जस्ता बेकारका कुराहरु गरेर आफूले पाउँदै गरेको इज्जत र किन गुमाउने ? मेरी एकजना साथीलाई पनि धेरै समय अगाडिबाट यस्तै समस्याले सताएको रहेछ ।
बैंकमा जागिर गर्ने ऊ बिहान सधै हतारहतार मा नै हुन्छे । दिनभरी पनि काममा व्यस्त बेलुका आफ्नो सकेर केही समाचार पढौं न केही कुराहरूको जानकारी लिउ न भनेर अनलाइन जाने बित्तिकै धमाधम म्यासेज आउन थाल्दो रहेछ । म्यासेज अरू कसैको नभएर उसकै श्रीमानको साथीको रहेछ । उसले सधै म्यासेज गरिरहँदा रहेछन्, कहिलेकाहीँ उसले पनि रिप्लाई गरेकी रहिछे, ‘सबैजना आराम छौ ।’
(रिप्लाई म्यासेज) श्रीमानको साथीले सधै म्यासेज गर्न थालेपछि उसलाई धेरै अप्ठ्यारो महसुस हुन थालेको रहेछ । उसले श्रीमानलाई भन्न पनि सक्दिनन् । आफ्नो साथीलाई कहिले फोन म्यासेज नगर्ने साथीको (श्रीमतीलाई खाना भयो, चिया भयो, बिजी हो भनेर सधै म्यासेज गरिरहने) उसको त्यो प्रवृत्ति देखेर ऊ डराइ छ । ब्लक गरौं त किन गरिस् भन्ने प्रश्न उठछ, नगरौं अवस्था यस्तो छ त्यसपछि उसले कुनैपनि म्यासेजहरु हेरिन हैरान भएर केही दिन फेसबुक नै चलाइन् । केहीदिन पछि श्रीमानलाई सबै कुरा भनी र फेसबुक खोल्दा म्यासेज आउन रोकिएको रहेनछ ।
एकदिन दुवै बसेर त्यो साथीलाई भिडियो कल गरेर श्रीमान बोलेपछि म्यासेज आउन बन्द भएछ । उ एउटी छोरी, श्रीमती, बुहारी, आमा हो । उसका यी सबै कुराहरु सुनेपछि मलाई लाग्यो महिलाहरुले दैनिक भोगिरहनु परेको एउटा समस्या एउटा पीडा यो पनि हो ।
यस्ता समस्याहरू हुँदा कतिपय महिलाहरूले खुलेर कसैलाई सुनाउन सक्दैनन् । आफूमाथि परेको अफ्ठयारा कुराहरूलाई सहज बनाउन सक्दैनन् । तर, दिदीबहिनी अब बोल्ने पालो तपाई हाम्रो नै हो ‘नबिराउनु नडराउनु’ भनाइ नै छ । आफूलाई असहज हुने कुरा कसैले गर्छ भने, आफ्नो दैनिक जीवनमा कसैले बाधा पुर्याउन खोज्छ भने डटेर त्यसको सामना गरौं ।
ए हजुर सुन्नुस् न, हामी आफ्नो आफन्त, साथीभाइ, नजिकको छिमेकी, श्रीमानको साथी भनेर इज्जत गरेर खुलेर बोल्यौ भन्दैमा हजुरहरु आफ्नो गिरेको औकात र फोहोरी हर्कत देखाउन नलाग्नुस न । हजुरहरूलाई इज्जत चाहिन्छ भने तपाई पनि कसैको छोरी, बुहारी र दिदीबहिनीलाई इज्जत दिनुस् ।
गर्नैपर्ने गफ, भन्नै पर्ने कुरा, सुनाउनैपर्ने महत्वपूर्ण विषय भए इज्जत साथ म्यासेज छोडनुस, फोन गर्नुस् सधै खुला छ म्यासेज बक्स र सधै अन छ फोन लाइन । तर, भात खानुभयो ?, चिया पिउनुभयो ?, उठ्नुभयो, सुत्नुभयो ?, बिर्सेको ?, भाउ खोजेको ? जस्ता बेकारका प्रश्नहरु गरेर कसैलाई दिक्क नलगाउनुस र यस्ता प्रश्नहरुको जवाफ आएन भन्दैमा अबबाट नलेख्नुस ‘विजी हो ?’, ‘बिर्सेको ?’

प्रकाशित मिति: जेष्ठ २९ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend