धरानः निषेधाज्ञाका कारण २ महिना धेरै जसो क्षेत्र ठप्प भएको अवस्थामा पनि सरकारी निकाय उद्योग विभागले भने लगभग साढे १२ अर्ब रुपैयाँको वैदेशिक लगानीका परियोजना प्रतिबद्धता आएको छ ।
विभागले उपलब्ध गराएको तथ्यांक अनुसार गत बैशाख १६ यता मात्रै विभिन्न २० ओटा परियोजना मार्फत १२ अर्ब ४६ करोड ७४ लाख ५० हजार रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता आएको छ । यस अवधिमा लगानीको प्रतिवद्धता सिंगापुर,चीन, अफगानिस्तान लगायतका देशहरुबाट आएको छ । उक्त लगानीको परियोजनामा ६ सय ६१ जनाले रोजगारी पाउने बताईएको छ ।
गत आर्थिक बर्ष पनि देशमा लकडाउनको अवस्था थियो । तर गत बर्षको यो अवधिमा वैदेशिक लगानीका उद्योग दर्ता संख्या बढी र लगानी कम भित्रिएको थियो । जसमा ५ अर्ब ८० करोडका ३३ प्रोजेक्टहरुमा लगानी भित्रिएको थियो । भने उक्त लगानी प्रतिवद्धताबाट १ हजार ४५९ जनाले रोजगार पाएका थिए ।
चालु आवको निषेधाज्ञा अवधिमा स्वदेशी लगानी ८ अर्ब रुपैयाँ भन्दा बढीका १४ वटा उद्योगले परियोजना प्रतिवद्धता गरेको छ । जसमा कृषि तथा वन पैदावारमा आधारित १ वटा उद्योग, उर्जामुलक २ वटा, उत्पादनमूलक ९ वटा र सेवामूलक २ वटा उद्योग दर्ता भएका छन् । उत्पादनमूलकका उद्योगमा सबैभन्दा बढी स्वदेशी लगानी गरेको छ । जुन ५ अर्ब ३५ करोड ८४ लाख २० हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता गरेको छ ।
विदेशी लगानी प्रतिवद्धता १२ अर्ब बढीको आएपनि स्वदेशी लगानी प्रतिवद्धतामा गिरावट आएको उक्त तथ्यांकले देखाएको छ । तर गत बर्षको लकडाउनमा यहि समयमा नेपालमा ५ अर्ब ९६ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको थियो ।
गत बर्षको लकडाउनमा उद्योग विभागबाट हुने कामहरु अनलाइनबाट मात्रै गरिएको थियो । तर, यो बर्षको निषेधाज्ञामा भने भौतिक रुपमै काम गर्न सम्भव भएकाले उद्योगमा लगानी बढेको विभागले जानकारी दिएको छ ।