धरानः कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौंपटक प्रधानमन्त्री नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उनलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालयको नाममा परमादेश दिएको थियो । सर्वोच्चले प्रतिनिधिसभा विघटन बदर गर्दै मंगलबार ५ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको हो ।
देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै राष्ट्रपतिको कार्यालयले शपथको तयारी गरेको छ । देउवाले प्रधानमन्त्रीको रुपमा ६ बजे शपथ लिँदैछन् । देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादवसमूह सहभागी हुँदैछन् ।
देउवाको दौड
सभापति देउवा यसपटकसँगै पाँचौपटक प्रधानमन्त्री बनेका हुन् । योसँगै देउवाले समकालीन नेताहरुमा सबैभन्दा बढी प्रधानमन्त्री बन्ने रेकर्ड समेत बनाएका छन् ।
उनी ०४८ सालदेखिनै संसदमा निरन्तर प्रतिनिधित्व गर्ने मध्येका नेता पनि हुन् ।
देउवा पहिलोपटक ०५२ सालमा प्रधानमन्त्री बनेका थिए, जतिबेला उनी ४९ वर्षका थिए । उनी युवा उमेरमै प्रधानमन्त्री बन्ने मौका पाएका थिए । दोस्रोपटक उनी ०५८ साल साउन ११ र तेस्रोपटक ०६१ जेठ २१ मा प्रधानमन्त्री बनेका थिए । त्यस्तै, देउवा २०७४ साल २३ जेठमा प्रधानमन्त्री बनेका थिए ।
उनले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन गराएका थिए । सर्वोच्च अदालतले प्रधानमन्त्रीमा नियुक्तिको परमादेश दिएसँगै उनी पाँचौंपटक मुलुकको प्रधानमन्त्री भएका हुन् । ०७२ सालको १३ औं महाधिवेशनमा पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर देउवा नेपाली कांग्रेसको पार्टी सभापतिमा विजयी भएका थिए ।
प्रधानमन्त्री नियुक्त भएपछि सदनमा एक महिनाभित्र उनले विश्वासको मत प्राप्त गर्नुपर्नेछ । देउवाले २०७४ मा प्रधानमन्त्री हुँदा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन गराएका थिए ।
शेरबहादुर देउवा वि.सं. २००३ जेठ महिनामा डडेलधुरा जिल्लाको असीग्राम गाविस वडा नम्बर ५ मा जन्मिएका थिए । उनले स्कुले जीवनबाट नै नेपाली कांग्रेसको राजनीतिलाई अगाल्न थालिसकेका थिए ।
देउवा विसं २०२८ सालमा पहिलोपटक नेपाल विद्यार्थी संघको सभापतिमा विजयी भएका थिए ।
देउवा त्रिभुवन विश्वविद्यालयबाट एमए र कानूनमा स्नातक हुन् । उनले लन्डल स्कुल अफ इकोनमिक्समा रिसर्च फेलो हुन् ।








