धरानः प्रधानमन्त्रीमा शेरबहादुर देउवाले शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा देउवालाई प्रधानमन्त्री पदको शपथ गराएकी हुन् ।
मंगलबार बेलुका ८ बजेर २५ मिनेटमा प्रधानमन्त्री देउवाले शपथ लिएका हुन् । उनले यस्तै, देउवासँगै चारजना मन्त्रीले पनि पद तथा गोपनियताको सपथ लिएका छन् । प्रधानमन्त्री देउवाले शपथ लिएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मन्त्रीहरूले शपथ लिएका हुन् ।
शपथ लिनेमा कांग्रेसका बालकृष्ण खाँण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की न्याय कानुन तथा संसदीय मामिला तथा माओवादीका पम्फा भुसाल उर्जा र जनार्दन शर्मा अर्थ मन्त्री छन् ।
शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई पद तथा गोपनीयताको सपथ खुवाएकी हुन् । उनी पाँचौँपटक नेपालको प्रधानमन्त्री बनेका छन् ।

यसअघि सर्वोच्च अदालतले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्दै देउबालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको थियो । देउवालाई संसद पुनस्थापना र आफुलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।
राष्ट्रपति कार्यालयले मंगलबार दिउँसो विज्ञप्ति निकाल्दै संबिधानलाई उल्लेख नगरी सर्वोच्च अदालतको आदेशका आधारमा आफूलाई प्रधानमन्त्री नियुक्त गरिएको भनी निकालेको विज्ञप्तिलाई लिएर देउवाले आपत्ति जनाएका थिए । उनले संविधानको धारा उल्लेख गरेर नयाँ विज्ञप्ति निकाल्नुपर्ने अडान लिएपछि सपथ ग्रहण निर्धारित समयभन्दा २ घन्टा २० मिनेट ढिलो सुरु भएको थियो ।
तर सोप्रति देउवाले असन्तुष्टि जनाएपछि राष्ट्रपति कार्यालयले भाषा सच्याएको हो । शीतल निवासमा भएको दुई पक्षीय बैठकपछि भाषा सच्याउने सहमति भएको हो ।
सच्याइएको भाषामा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालत संवैधानिक इजलासको मिति २०७८ असार २८ गतेको फैसलाबमोजिम साथै नेपालको संविधानको धारा ७६(५) अनुसार नेपाली काँग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा आज मिति २०७८ असार २९ गते नियुक्त गर्नु भएको छ ।’