धरानः सरकारले साउन १ गतेबाट लामो दूरीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने तयारी थालेको छ।
उपत्यकामा जारी निषेधाज्ञा ३१ गते बिहिबार सकिँदैछ। उपत्यकाभित्र सबै प्रकारका सार्वजनिक सवारीसाधन भने चल्न दिइरहेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीहरूले लामो दूरीमा दुई महिनाभन्दा बढी समयदेखि रोकिएको यातायात सेवा सञ्चालन गर्न दिने तयारी थालेको हो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले लामो दूरीको यातायात सञ्चालन नहुँदा सर्वसाधारण मारमा परेकाले सञ्चालन गर्न दिनेबारे छलफल भैरहेको जानकारी दिए। ‘दुई महिनाभन्दा बढी समयदेखि लामो दूरीमा सवारी चलेका छैनन्, जसकारण सर्वसाधारणले दु:ख पाइरहेका छन्, खोल्न दिने माग पनि आइरहेको छ, त्यसैले अब क्रमश: खोल्न दिइन्छ,’ उनले भने।