धरानः नेपाली कांग्रेसको पदाधिकारी बैठकले साउन १२ गतेका लागि तोकिएको वडा तहको अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा बसेको पदाधिकारी बैठकले आगामी १३ गते क्रियाशील सदस्यता प्रतिवेदनपछि मात्रै नयाँ कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जानकारी दिए ।
‘१२ गतेको अधिवेशन स्थगित गर्ने निर्णय भएको छ,’ केसीले भने ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अब कहिले गर्ने भन्नेमा पछि निर्णय गरिने बताए । प्रवक्ता शर्माले महाधिवेशन कार्यतालिका प्रभावित भएपनि भदौ १६ देखि सुरु हुने केन्द्रीय महाधिवेशनका बारेमा कुनै निर्णय नभएको बताए ।
वडा अधिवेशन स्थगन भएसँगै कांग्रेसको महाधिवेशन कार्यतालिका पनि प्रभावित भएको छ । कांग्रेसले १२ साउनमा वडा अधिवेशन, १६ साउनमा स्थानीय तहको अधिवेशन, २० साउनमा प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन गर्न गरी कार्यतालिका सार्वजनिक गरेको थियो ।