सरकारले २०७५ चैतमा पनि पब्जी खेलमाथि प्रतिबन्धको घोषणा गरेपछि सामाजिक सञ्जाल तरंगित बनेको थियो । पब्जीमा भुल्नेहरु सरकारको निर्णयबाट स्तब्ध बनेका थिए ।
सरकारले २०७५ मा त्यो कदम चालेपछि धेरैले सही कदम चालिएको प्रतिक्रिया दिएका छन् ।
पब्जी खेलका कारण कतिपयको मानसिक सन्तुलन बिग्रिएकोदेखि आत्महत्या गरेका घटनाहरुसमेत संसारका विभिन्न भागबाट आउने गरेका थिए । त्यसैले पब्जीलाई प्रतिवन्ध लगाउने कुरा अन्य देशहरुमा पनि उठ्ने गरेको छ ।
मनोविदहरुका अनुसार पब्जीले खेलाडीलाई एकोहोरो बनाउँछ । उनीहरु दिनरात यसमा कसरी जित हासिल गर्ने भन्ने ध्याउन्नमा हुन्छन् । यसले उनीहरुको दैनिक व्यवहार नै प्रभावित गर्न सक्ने देखिएको छ । भिडियो गेम भनेको एउटा मनोरञ्जनको साधन हो । तर, पब्जी मनोरञ्जनमा मात्रै सिमित भएन । यो लागूऔषध जस्तै बन्यो । यसलाई मन्द विषको संज्ञा समेत दिने गरिएको छ । त्यसैले गर्दा पब्जीलाई प्रतिबन्ध लगाउने नागरिक हितमै देखिन्छ ।
यद्यपि, व्यवहारिक पाटोमा यो प्रतिवन्धलाई कार्यान्वयन गर्न जटिल हुन सक्छ । यो एपलाई डाउनलोड गर्नै नमिल्ने बनाउने हो वा खेल्नेलाई कारवाही गर्ने हो भन्ने सरकारले प्रष्ट पारेको छैन ।
वरिष्ठ मनोचिकित्सक कपिल देव उपाध्यायले पब्जी गेम मात्र नभइ स्मार्ट फोन प्रयोगले नै समग्र असर गरिरहेको बताउनु हएको छ । पब्जी मारपिट एवम गोलाबारुद र हतियार प्रयोग भएको देखिने युद्ध को खेल भएको र युद्ध एकले अर्का बिरुद्ध जित्नै पर्ने मानसिकतामा आधारित खेल भएको ले यस्तो खेलले बच्चाहरु, र युवाहरुमा गम्भीर मानसिक प्रभाव र नकारात्मक असर पारेको उल्लेख गरेका छन । पछिल्लो समय मानसिक रोगी को सङ्ख्या सहरी जीवन मा बढी रहेको बताउदै नेपालमा मनोरोगी को अवस्था भारत पाकिस्तान का मानसिक रोगी को अवस्था जस्तै समान प्रकृतिको रहेको समेत बताएका छन् ।
इन्टरनेटका माध्यमबाट मोबाइल र कम्प्युटरमा खेलिने यो खेल तपाईँले खेल्नुभएको छैन भने पनि अरुले खेलेको देख्नुभएकै होला या, कुराकानी गरेको त पक्कै सुन्नुभएको छ ।
नेपालमा पब्जीमाथि प्रतिबन्ध लगाइए पनि यस्तै अरु खेलहरुको भने त्यति चर्चा छैन । पब्जी जस्तै फोर्टनाइट, फ्रि–फायर, एपेक्स लिजेन्ड्स, रुल्स अफ सर्भाइभल जस्ता खेलहरु पनि छन् । जसमा युद्धकै शैली अपनाइन्छ ।
यी खेलहरूका विरूद्धमा अहिले सामाजिक सञ्जालमा फाट्टफुट्ट विरोधका स्वरहरू सुनिन थालिएको छ । एकजना होइन, दुईजना होइन, पूरै समाजै बिगार्ने यस्ता साइटहरूका विरुद्धमा निस्किएका झिनामसिना स्वरहरूले यी खेलहरू बन्द हुनेवाला छैनन् । ठूला ब्यापारीहरूले नै अहिलेको विश्व चलाई रहेका बेला अत्यन्त ठूलो सञ्जाल फिँजाइसकेका यी खेलहरूका निर्माताले सहजै बन्द गर्ने अवस्था आउन निश्चय नै दिँदैनन् । आजको दिनमात्रै होइन, भोलिको मुलुकै ध्वस्त पार्ने योजनाका विरुद्धमा सम्पूर्ण चेतनशीलवर्ग एकत्रित हुन आवश्यक छ ।
अभिभावकलाई देखाउन आधा घण्टा पढे झैं गर्दछन् आजका बालबालिका । त्यही आधा घण्टालाई आधार बनाएर दुई–तीन घण्टा लगातार तिनै गेममा निरन्तर लागिरहन्छन् । एक दिनमा कम्तीमा तीनपटक खेलमा बस्दछन् र एक गेम तीन घण्टासम्म चलिरहन्छ अर्थात् दिनमा नौ दश घण्टा त्यही मोबाइल र खेलमा व्यस्त हुन्छन् । न खाने निश्चित समय हुन्छ, न सुत्ने नै । अब आफैं अनुमान गरौं, त्यो बच्चाको भविष्य कस्तो होला ? उसको लक्ष्य के होला ?
बच्चाको हातमा मोबाइल हुन्छ, मोबाइल समातेर या त टेबलमा हुन्छ या खाटमा । परिवार जम्मा भएको ठाउँमा उसको कुनै रुचि हुँदैन । नातेदारहरूसँग कुनै मतलबै हुँदैन । कोठाभन्दा बाहिरको हावा खान खुला स्थानमा निस्कने भन्ने त उसको सोचमा आउँदै आउँदैन । पूर्णरूपमा कुँजो व्यक्ति एकै स्थानमा बाध्यतावश थन्किएर बसेभन्दा पनि उनीहरूको बसाइ आसन नबदली स्थिर भएको पाइन्छ । उनीहरूका हातगोडाको अवस्था वा शरीरका नशा कस्ता भएका होलान् ? कसैले सोचेको छ होला ?
शारीरिक क्रियाकलाप ती खेलमा व्यस्त बच्चाहरूको शून्यसरह नै हुन्छ । दिसापिसाबले च्यापे पनि समयमै शौचालय जाने गर्दैनन् । पिसाब रोकेर बसे मिर्गौला बिग्रने कुरा त पक्कै हो । उनीहरूले खेल खेलिरहेका बेला उनीहरूका सामु कोही गएर केही बोल्नै पाउँदैन । बच्चाहरूको ध्यान खेलिरहेको गेम कसरी जित्ने भन्ने मात्रै हुन्छ । त्यसदेखि बाहेकका सबै कुरा उनीहरूका लागि गौण हुन् ।
विज्ञहरूले मोबाइलमा लगातार ४५ मिनेटभन्दा बढी कोही एकोहोरो बसिरहन हुँदैन भनेर बताइरहेका छन् । यदि कोही बस्दछ भने उसको दिमागमा नकारात्मक असर पार्दछ र उसको स्मरण शक्ति हराउँदै जान्छ भनिरहेका छन् । रिसको मात्रा बढ्ने, भोक नलाग्ने आदि नराम्रा असरहरू देखा पर्ने र कालान्तरमा गएर उपचारै हुन नसक्ने विचारहरू जानकारहरूले बताइरहेका छन् तर यस्ता कुराहरूले बालबालिकालाई प्रभाव पार्न नसकेको देखिई रहिएको छ । खेलमा पड्केका बन्दुक र बारुदहरूका आवाजसँगै कानमा एयरफोन लगाएका बच्चाहरू कति चिच्याएर बोल्छन् भन्ने सबैले जानेकै कुरा हो ।
भन्नेले त भन्लान्, आफ्नो छोरालाई मोबाइल नदेऊ न । आफ्नै छोरीलाई नियन्त्रणमा राख न । आफ्नो घरमा चौबीसै घण्टा नेट उपलब्ध हुने व्यवस्था किन मिलाउँछौं ? छोराछोरीलाई सम्झाएर, बुझाएर राख्न नसक्ने, अनि अर्कालाई दोष दिने ? कमजोरी आफ्नो, जिम्मेवारी अर्काको भन्न तिमीलाई लाज लाग्दैन ? प्रतिबन्ध तिम्रै छोराछोरीलाई लगाउन न, अर्काको गरिखाने उत्पादनमाथि प्रतिबन्ध किन लगाउने ?
यस्ता प्रश्न गर्न सजिलो छ तर व्यवहारतः लागू गर्न कठिन कति छ भन्ने कुरा हेक्कामा राख्नुपर्दछ । मदिराले फाइदामात्रै गर्दछ, यसको कुनै नकारात्मक असर छैन भनेर दिनहुँ, दिउँसैदेखि, बिहानै सेवन गर्ने कोही छ र ? चुरोट, सुर्तीको खराब पक्ष थाहा नपाएकाहरूले मात्रै खाने गरेका होलान् र ? कुलत भनेको कुरा नै त्यस्तै हो । पाकाहरू त फसेपछि निस्कन सक्दैनन् भने बालबालिकाको अवस्था के होला ?
आफ्नो बच्चा ज्ञानी छ भनेर कमजोरी लुकाउने धेरै अभिभावकको बानी हुन्छ । यो विषयमा धेरैले लुकाएका छन् तर लुकाउँदा भोलिको समस्या के हुन्छ भन्ने सोच्नुपर्दछ । त्यसैले खुलारूपमा बाहिर आएर ‘पब्जी बन्द गर’ नाराका साथ सबै नेपाली सामाजिक सञ्जालमा आउन ढिला भइसकेको छ । कम्तीमा एकहप्ता यो अभियान सञ्चालन गर्न सबै सचेत नागरिकमा हार्दिक अनुरोध ।