Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लाहुरेबारेका केही कुरा

हाम्रो कोशी आवाज
साउन २१ २०७८, बिहिबार
लाहुरेबारेका केही कुरा

राजनीतिलाई नीतिमा सबैभन्दा प्रमुख नीति पनि भनिन्छ । विश्वमा सबै राष्ट्रले राजनीतिलाई नै प्रमुख मानेर देशको हरेक पक्षको विकासमा त्यहाँको राजनीतिक प्रणाली र राजनीतिक संस्कारलाई अँगाल्छन् । व्यक्ति या समुहको राजनीति र राजनीतिक वस्तुप्रतिको दृष्टिकोण नै उसको राजनीतिक संस्कार हो ।
नेपालको वर्तमान राजनीतिलाई हेर्ने हो भने मान्छेहरू राजनीतिलाई घृणाको दृष्टिले हेर्दछन् अझ भनौ राजनीति एक फोहोरी खेल हो भन्छन् । उनीहरू राजनीतिबारे पटक्कै चासो राख्दैनन्, यस्तो किन भयो ? सहज उत्तर के भन्दा हाम्रा नेताहरूले असल तथा कुशल राजनीतिक संस्कारको राजनीति गरेनन् र जनतालाई सधै धोका मात्रै दिए । कुनै व्यक्तिको आफ्नो मुलुकमा प्रचलित राजनीतिक प्रणालीप्रति सहमति या लगाव हुन्छ भने कुनै व्यक्तिको त्यसप्रतिको दृष्टिकोण असहमत, भिन्न र अलगावपूर्ण हुन्छ । कसैले समाजवादी राजनीतिक प्रणाली, कसैले पुँजीवादी, कसैले संसदीय त कसैले साम्यवादीजस्ता विभिन्न किसिमका राजनीतिक प्रणाली रूचाँउछन् । वास्तवमा व्यक्तित्व या समूहको उपयुक्त दृष्टिकोण वा मानसिक अवस्था नै उसको राजनीतिक संस्कार हो । राजनीतिक संस्कार राजनीतिक प्रणालीको सामूहिक इतिहास र त्यसका सदस्यहरूको जीवन इतिहासको उपज हो । त्यसैले यो सार्वजनिक घटना र व्यक्तित्व अनुभव दुवैमा समान रूपले निहित रहन्छ । समाजको सन्दर्भमा संस्कृतिको जुन स्थान छ राजनीतिक संस्कारको पनि त्यहीं स्थान छ ।
आज विश्वका जतिसुकै मुलुक समृद्व छन् ती सबै मुलुकहरू कुनै न कुनै राजनीतिक संस्कारसँग आवद्ध छन् र सरकारका सबै अंगबिना हस्तक्षेप एउटा प्रणालीमा आधारित रहेर चलेका छन् । जति गरिब राष्ट्रहरू छन् ती देशहरू उचित संस्कारको अभावमा कुनै पनि व्यवस्थाको अभ्यासमै व्यस्त छन् चाहे त्यो प्रजातान्त्रिक होस्, संसदीय होस् वा अन्य कुनै ।
विश्वका केही देशहरूको राजनीतिक संस्कार र परिवर्तनलाई हेर्दा उक्त देशहरूले अंगालेका नीति र प्रणालीका कारण प्रगति गरेको देख्न सकिन्छ । एउटा ज्वलन्त उदाहरण हो हाम्रै छिमेकी राष्ट्र चीन जसले आर्थिक उदारीकरणको नीति लिदै जाँदा विश्वमै आर्थिक क्रियाकलापमा पहिलो राष्ट्र बन्न सफल भयो । किनकि त्यहाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले जे कुरा निर्णय गर्दछ त्यो सबै ठाउँमा लागू हुन्छ । फलस्वरूप विश्वमा शक्तिशाली मुलुकको रूपमा स्थापित हुन सफल भएको छ । त्यस्तै बेलायतमा भएको औद्योगिक क्रान्तिले प्रशस्त उद्योगधन्दाहरू खुले र उत्पादित वस्तुहरूलाई विश्वबजारमा बेचेर आर्थिक उन्नति गर्याे सम्पन्न भयो । फ्रान्समा भएको राज्य क्रान्तिले त्यहाँको शासन व्यवस्थामा सुधार ल्यायो र वर्तमान समयमा शासन व्यवस्थामा उत्कृष्ट राज्यको रूपमा चिनिन्छ । यि केही उदाहरण असल राजनीतिक संस्कारका परिणाम हुन् । त्यस्तै जर्मनमा हिटलरले ६० हजार भन्दामाथि मान्छे मार्दा आँफै मर्न बाध्य भए । इटलीमा मुसोलिनीले पनि त्यस्तै दुर्दशा भोग्नु पर्याे । इराकले कुवेतमाथि आक्रमण गर्दा इराकका तत्कालीन शासक सद्दाम हुसेनको अन्त्य भयो । रोमानियामा निरंकुशता लाद्दा चाउचेस्कुको अन्त्य भयो । बेलायतका राजा चाल्र्स प्रथमले जनतामाथी धेरै कर थुपार्दा जनताले नै फाँसी दिएको उदाहरण छ । यि उदाहरणहरू खराब राजनीतिक संस्कार तथा गलत नीतिका परिणाम हुन् । यस्ता घटनाक्रम र राजनीतिक संस्कारबाट नेपालजस्तो गरिब मुलुक र गरिब मुलुकका हामी निरिह जनताले बुझ्नु पर्ने कुराहरू धेरै छन् । भनिन्छ कुनैपनि परिवारमा परिवारका ठूला सदस्यले जस्तो संस्कार सिकाउँछन् त्यस्तै संस्कार सानो सदस्यले सिक्छन् । तँ भन्न सिकेकाले तँ नै भन्छन्, तपाईं भन्न सिकेकाले तपाईं हजुर नै भन्छन् । त्यसैले नेपालको वर्तमान राजनीतिक संस्कार र हाम्रा राजनेताहरूले जे जस्ता संस्कार हामी नागरिकलाई सिकाएका छन् ति संस्कारबाट हामी सचेत हुनु आवश्यक छ ।
लोकतन्त्रको लागि नेपाली जनताको कठोर त्याग, बलिदान र उत्सर्गसहितको निरन्तर संघर्ष पछि संविधानसभाबाट संघीय राज्यव्यवस्था सहितको नयाँ संविधान कार्यान्वयन गर्दै विकास र समृद्धिको जनाकांक्षा सम्बोधन गर्नुपर्ने गहन जिम्मेवारी बोकेको नेपाली राजनीति भने लोकतान्त्रिक मूल्य मान्यता विपरित राजनीतिक विकृति र भ्रष्टाचारले थला परेको छ । भुकम्पपछि कोभिड–१९ ले थला परेको देशमाथि खेलवाड गरि आफ्नो दुनो सोझाउन लागिपरेका पार्टीका झोले भक्तहरूले र नेता भनाउदाहरूले कहिले जनताको भावनाको कदर गर्लान ? भोक र रोगमा पनि राजनीति गर्न लाज लाग्नुपर्ने हैन, कहिले गर्ने जनताको मन जित्ने काम ? असल राजनीतिक संस्कारको थालनी गर्न किन ढिलाइ ? मानव सभ्यताको विकासलाई पार गरेर हामी नेपालीहरू कहाँसम्म आइपुगेका छौं ? आदिम साम्यवाद, दास युग, सामन्तवाद, पुँजीवाद, समाजवादको उतराद्र्वपछि स्वघोषित साम्यवादको परिकल्पना हुनसक्छ मानव सभ्यताको विकास…यी विकासक्रमभित्र हामी कहाँ रहेका छौं र कसरी त्यसलाई प्रयोगमा ल्याइरहेका छौं ? यतापट्टीनि सोच्नुपर्ने हैन र ?
नेपालजस्तो अल्पविकसित राष्ट्रहरुमा जनता धेरै प्रतिशत अशिक्षित र गरिबीको रेखामुनि रहेका हुन्छन् । फेरि अल्पविकसित राष्ट्रहरुमा विचार सिद्घान्तको अमूर्त भारी बोकाएर जनतामाथि नेताहरुले शासन गरिरहेका हुन्छन् । वास्तवमा जनतालाई शिक्षित बनाई, आर्थिक पक्षलाई मजबुद बनाउँदै जानुपर्ने हो । तर, नेताहरु किन यस्तो गर्न चाहँदैनन् त ?
जनताले देशका लागि तिरेको करले देशको भरथेग हुने हो । जनताहरुले तिरेको कर सही सदुपयोग भएको छ कि छैन ? जनताले खोज्नु र बुझ्नै पर्ने पहिलो आवश्यकता हो । करहरु उचित सदुपयोग नगरेका कारण नेपाल दिनानु दिन कंगाल बनिरहेको छ । जनताले तिरेका करहरु र दातृ संस्थाहरुले दिएका सहयोग उचित ठाउँमा प्रयोग नगरी आफ्नो घेरामा राखेर, भागबण्डा गरेर भ्रष्टाचार गरिरहेको सबैलाई थाहा भएको कुरो हो । तर, भ्रष्टाचार गरेर जनतालाई गरिबीको रेखामुनि पार्ने तिनै भ्रष्टाचारी र नालायक नेताहरुलाई जनताले आफ्नो अधिकार बेच्न बाध्य भएका छन् । जनताले त्यस्ता पार्टी र नेताको झोला बोकेर कहिलेसम्म हिँड्ने ? यो भन्दा ठूलो दुर्भाग्य के हुन सक्छ ?
नेताहरुले मात्र देश बिगारेका छैनन्, नेपाली जनता आफै पनि समस्याको एउटा पाटो बनिरहेका छन् । आफ्नै परिश्रमले आफैलाई शोषण गरिरहेको जनताले जबसम्म बुझ्नदैनन्, तबसम्म देश कंगाल बन्दै गइरहने छ । जुन पार्टीका नेता भ्रष्टाचार गरेको आरोपमा जेलनेल भोगेका छन्, तिनै पार्टी र नेताहरुलाई जिताएर बारम्बार पठाइरहेका छन् नेपाली जनता । यहीं हो देशका लागि ठूलो दुर्भाग्य । यो संसदीय व्यवस्था अत्यन्तै कुरुप र असफल सिद्ध भैसकेको छ । आज होईन पछिल्लो ३० वर्षलाई हामीले मुल्यांकन गरौं । यसले कर्मकाण्डी लोकतन्त्र, फोहोरी राजनीति र भ्रष्टाचारलाई संस्थागत गर्नेबाहेक खासै ठुलो उपलब्धि भएको छैन । हामी प्रत्यक्ष निर्वाचित राष्ट्रपति, मुख्यमन्त्री र प्रबुद्ध मानिसहरुको पुर्ण समानुपातिक सांसदलाई शासकीय स्वरुप कायम गर्न सकेनौं भने यस्तै विकृत राजनीति फस्टाउने छ । लोकतन्त्रको विकास हुने छैन, जनताको भावना समेटिएको हुने छैन, सुशासन र सदाचारयुक्त राजनीति हुने छैन । बेलैमा सोचौं ।

प्रकाशित मिति: साउन २१ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend