धरानः नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःनियुक्ति पाएका कुलमान घिसिङले बुधबारबाट जिम्मेवारी सम्हाल्ने भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेस गरेको प्रस्तावअनुसार सरकारले उनलाई पुनःनियुक्ति दिएको हो । उनी यसअघि ४ वर्षे कार्यकाल पूरा गरी बिदा भएका थिए ।
यसअघिका प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाइएको छ । अघिल्लो कार्यकालमा कुलमानले लोडसेडिङ हटाएका थिए भने लामोसमय घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याएका थिए ।
उनको चारवर्षे कार्यकाल सकिएपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई पुननियुक्ति गरेको थिएन । उनको ठाउँमा सुरूमा प्राधिकरणकै शाक्यलाई कायममुकायम कार्यकारी निर्देशक बनाइएको थियो भने पछि उनैलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो ।
२०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएका घिसिङलाई सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
नयाँ सरकार गठन भएसँगै प्रधानमन्त्री शेरबहादुर देउबा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जामन्त्री ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालबीच सहमति भएको थियो ।