Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लकडाउन नै अन्तिम विकल्प हो ?

हाम्रो कोशी आवाज
साउन ३० २०७८, शनिबार
लकडाउन नै अन्तिम विकल्प हो ?

धरानः पछिल्लो समय सरकारले निषेधाज्ञा थपेको थप्यै छ । वैशाख दोस्रो सातादेखि जारी निषेधाज्ञा अहिले पनि जारी छ । लकडाउन थपिएपछि लकडाउनप्रतिको सर्वसाधारणको धारणा बुझ्ने हो भने सामाजिक सञ्जाल हेरे पुग्छ । अधिकांश सर्वसाधारण लकडाउन थपिएकोप्रति सकारात्मक देखिएका छैनन् । जबकि यसअघिको निषेधाज्ञा अर्थात् लकडाउनबारे सरकारले निर्णय गर्दा सरकारी निर्णयकै पक्षमा थिए । त्यसबेला सरकारले लकडाउनको निर्णय गरेकोमा सर्वसाधारणले सरकारलाई धन्यवाद दिएका थिए । बरु लकडाउन अझ छिटो गर्नुपथ्र्यो भन्ने प्रतिक्रिया सर्वसाधारणबाट आएको थियो ।
यति बेला थोरै सर्वसाधारणमात्र लकडाउनको पक्षमा छन् । लकडाउनको विपक्षमा लाग्नेहरु भन्छन्– लकडाउन नै विकल्प हो त ? केही मध्यमार्गीहरुले भने लकडाउन आवश्यक छ, तर लकडाउन पालनासम्बन्धी निर्देशिका बनाउनुपर्ने र जोखिम क्षेत्र तोक्नुपर्ने जस्ता सुधार गरी लकडाउनको प्रकृति परिवर्तन गर्नुपर्ने धारणा राखेका छन् ।
विगतमा लकडाउन निर्णयको स्वागत गर्ने तिनै नागरिकको आज लकडाउनप्रति यस्तो वितृष्णा किन ? जबकि कोरोनाको जोखिम न्यून भएको छैन, बरु झन्–झन् जोखिम बढ्दो छ । लकडाउनको समर्थनमा मत जाहेर गर्दा कोरोना संक्रमणबाट जोगिन लकडाउन एकमात्र विकल्प हो भन्ने सर्वसाधारणको बुझाइ थियो । जुन बेला मानिसले लकडाउन भोगका थिएनन् ।
लकडाउनको भोगाइपछि सर्वसाधारणको धारणा भिन्न आएको छ । लकडाउनमा देखिएको अव्यवस्थाले गर्दा नै लकडाउनप्रतिको धारणामा परिवर्तन आएको हुन सक्छ । लकडाउन विकल्पविहीन विकल्प हो वा होइन भन्नेमा सर्वसाधारण अन्योलमा छन् । लकडाउन पालना नगरौं भने सरकारको निर्देशन छ र मनमा कोरोना लाग्छ कि भन्ने डर पनि छ । लकडाउन पालना गरौं भने अब रोगले भन्दा पनि भोकले जिन्दगीमाथि धावा बोल्नेवाला छ ।
लकडाउनका भोगाइ, अनुभव र निराशाजनक परिणामले सर्वसाधारणको बुझाइ परिवर्तन भएको छ । अधिकांश मानिस लकडाउन कहिले खुल्ला र बन्धनमुक्त भइएला भन्ने सोचिरहेका हुन्थे । लकडाउनमा मजदुरले खान पाएनन्, धेरैको रोजगारी गुम्यो । तर कहीँकतैबाट यसको सम्बोधन नहुँदा सर्वसाधारण आजीत बनेका हुन् ।
काम गरी खाने कम संक्रमित छन् भने काम किन रोक्ने ? फेरि अर्कोतर्फ लकडाउनले हुने–खानेलाई खासै फरक परेको छैन । दिनभर काममा जान नपाएपछि बेलुका घरमा चुलो बल्दैन । गरिबका लागि मात्र लकडाउन किन ?
लकडाउन नागरिकलाई महामारीबाट बचाउनका लागि हो । तर नागरिकको बाँच्न पाउने अधिकारको प्रत्याभूति गर्नुपर्नेमा लकडाउनले त भोकको उपचार हुनबाट नागरिकलाई वञ्चित गरेर बाँच्न पाउने अधिकार हनन पो गरयो । काम गर्नेले गरिखाऊ भनेर ठाउँ दिनुपर्छ । सुरक्षित हुने उपाय लकडाउनविना पनि हुन सक्छ । स्वचेतनाको माध्यमबाट हरेक मानिस एक–आपसमा दूरी कायम गर्दै अब काममा फर्किनु आवश्यक छ । समाजिक दूरी कायम गर्दै समूहमा गर्नुपर्ने कामबाहेक अरु व्यवसाय तत्काल खोल्ने र समूहमा कार्य गर्नेहरुले पीसीआर परीक्षण गरेको हुनुपर्दछ ।
समस्या यति बेला लकडाउन हुनु, नहुनुभन्दा पनि संक्रमित परीक्षण न्यून हुनु हो भन्ने मत छ । त्यसैले पीसीआर परीक्षण बढाएर संक्रमित पहिचान गर्ने कार्यमा अत्यन्त ढिलाइ भएको छ । अहिले खोप केन्द्रमै संक्रमण बढिरहेको छ । यसको व्यवस्थापनमा ध्यान नदिने हो भने एक–आपसमा रोग फैलने सम्भावना बढिरहेको छ ।
जोखिम अझै उच्च छ तर एकातिरको जोखिम रोक्ने नाममा अर्कातर्फको जोखिम बढाउने हो भने असन्तुलन कायम हुन जान्छ । लकडाउनप्रतिको नागरिकहरुको वितृष्णा सम्बोधन गर्नु आवश्यक छ । विनायोजनाको लकडाउनको निरन्तरता होइन, आवश्यकता र औचित्यताको विश्लेषण गरी रणनीति बनाएर अगाडि बढ्नु आवश्यक छ । यथास्थितिमा लकडाउन कुनै व्यक्ति विशेषका लागि मात्र नभएर सबैका लागि प्रत्युत्पादक हुनसक्छ । लकडाउनको हाउगुजी सिर्जना गरेर समाजलाई बन्धक नबनाऊँ । अन्यथा सर्वसाधारणको वितृष्णा झनै बढ्दै जान्छ ।
लकडाउन घोषणा गर्दैमा मानिसहरु के सुरक्षित छन् त ? यो तरिकाको लकडाउनले रोग संक्रमण पैmलन रोकिन्छ त ? लकडाउन भन्दैमा मानिसका सबै आवश्यकताहरु के सरकारले सबैको घर घरभित्र सुरक्षित तरिकाले उपलब्ध गराउन सक्छ त ? यो स्तरको सुविधा दिनसक्ने राज्यको क्षमता नभएको घाम जस्तै छर्लङ्ग छ ।
आम जनतामा सचेतना पैmलाउनुपर्ने र सबैले अपनाउनु पर्ने प्रमुख विषयहरु भनेको ब्यक्तिगत तथा सामाजिक दुरी कायम गर्ने, मुखमा अनिवार्य मास्क प्रयोग गर्ने, शंकास्पद वस्तु छोएमा वा सम्पर्कमा आएमा साबुन पानीले हात तथा अंगहरु सफा गर्ने, स्यानीटाइजरहरु प्रयोग गर्ने, शंकास्पद तथा संक्रमण सम्भावितलाई क्वारेन्टाइन तथा आइसोलेसनमा राखी उपलब्ध उपचार गर्ने, प्रतिरोधी क्षमता बढाउने परम्परागत उपचार विधि अपनाउने जस्ता विषय हुन् । तसर्थ, सबै सुरक्षाकर्मी तथा टोल विकास संस्थाका पदाधिकारीहरुलाई सर्वप्रथम रोग संक्रमण पैmलन सक्ने गतिविधिहरु के के हुन ती विषयमा अपिल गरी रोकथाम तथा नियन्त्रण लागि परिचालन गर्न अब ढिला गर्न हुँदैन । अब मन छुने शक्तिशाली अपिल गर्दै जनतालाई नै रोगको रोकथाम तथा नियन्त्रण लागि परिचालन गरी जिम्मेवार गराउनुपर्छ । यस्तै, खोप ल्याएर जनतालाई राहत दिन सक्नुपर्दछ । खोपलाई कसरी हुन्छ बढवा दिएर चाँडो जनतालाई खोपको व्यवस्था गर सरकार ।

प्रकाशित मिति: साउन ३० २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend