धरानः नेपाली कांग्रेसको महाधिवेशन झण्डै तीन महिना सरेको छ । शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो ।
यसअघि कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ सम्म हुने कार्यक्रम थियो ।
कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्र बडूले आजको बैठकबाट सर्वसम्मत महाधिवेशन मिति सारिएको जानकारी दिएका छन् । अब वडादेखि केन्द्रसम्मकै महाधिवेशन तालिका हेरफेर भएको केन्द्रीय सदस्य बडूले बताए ।
‘गाउँपालिका र नगरपालिकाका मतदाता कोभिडका कारण एक ठाउँमा आउन व्यवहारिक नहुने भएकाले त्यहाँ क्षेत्रीय प्रतिनिधिबाट मात्रै मतदान गराउने निर्णय भएको छ’ बडूले भने ।
कांग्रेसले यसअघि पाँच पटक महाधिवेशनको कार्यतालिका परिमार्जन गरिसकेको छ । आन्तरिक विवादका कारण कांग्रेस पटक–पटक महाधिवेशनको कार्यतालिका परिमार्जन गर्दै आएको थियो ।
पछिल्लो पटक गत असार ४ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पाँचौं पटक कार्यतालिका परिमार्जन गरेको थियो । जसअनुसार साउन १२ गते गाउँ–नगर वडा अधिवेशन र साउन १६ गते गाउँ–नगर अधिवेशन गर्ने कार्यतालिका थियो ।
यस्तै प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २०, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन साउन २३ मा आयोजना गरिने कार्यतालिकामा उल्लेख थियो ।
२०७२ फागुन २० गतेदेखि २३ गतेसम्म भएको १३ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदावधि पूरा हुने समय नजिकिँदै गर्दा २०७६ फागुन ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले २०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी पहिलो पटक कार्यतालिका बनाएको थियो ।
पहिलो कार्यतालिकाअनुसार २०७७ मंसिर ९ मा गाउँ–नगर वडा अधिवेशन, मंसिर ११ मा गाउँ–नगरपालिका अधिवेशन, मंसिर १५ मा प्रदेशसभा क्षेत्रीय अधिवेशन र मंसिर १७ मा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन निर्धारण गरेको थियो ।
यस्तै जिल्ला अधिवेशन मंसिर २५, प्रदेश अधिवेशन पुस १५ र महाधिवेशन फागुन ७–१० काठमाडौंमा आयोजना गर्ने कार्यतालिका थियो । तर, उक्त कार्यतालिकाअनुसार अधिवेशनको प्रक्रिया सुरु हुन नसकेपछि विभिन्न मितिमा कांग्रेसले पटक–पटक महाधिवेशन पछाडि धकेल्दै आएको छ ।
यसअघि भदौ १६ देखि १९ गतेसम्म हुने भनिएको महाधिवेशन क्रियाशील सदस्यता विवादका कारण अन्योलमा परेपछि महाधिवेशनको नयाँ तालिका निर्धारण गरिएको हो ।
क्रियाशील सदस्यतामा देखिएको विवादका कारण भदौको महाधिवेशन कार्यतालिका प्रभावित भएपछि अर्को मिति कहिले तोक्ने भन्नेमा कांग्रेसमा संस्थापन र रामचन्द्र पौडेलबीच विवाद भएको थियो । पार्टी विधान र संविधानअनुसार महाधिवेशन गर्नुपर्ने समय कांग्रेसले गुजारिसकेको छ ।