धरानः धितोपत्र बजारमा चार वाणिज्य बैंक सहित ६ कम्पनीहरु नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र स्वीकृतिको पर्खाइमा रहेका छन् । यी कम्पनीहरुले कुल १ करोड २७ लाख कित्ता ऋणपत्र विक्रीको तयारी गरेका हुन । एनएमबि बैंक, सेञ्चुरी बैंक, सिभिल बैंक, एभरेष्ट बैंक, कामना सेवा विकास बैंक र गरिमा विकास बैंकले उक्त कित्ता ऋणपत्र विक्रीको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।
सेञ्चुरी बैंकले २०७७ साल असोज २२ गते रू। २ अर्ब २० करोड बराबरको २२ लाख कित्ता ऋणपत्र विक्रीका लागि निवेदन दिएकोमा सोही वर्ष मंसिर १७ गतेनै बोर्डको प्रतिक्रिया प्राप्त गरेपनि हालसम्म स्वीकृति पाएको छैन् ।
त्यस्तै २०७८ साल जेठ २४ गते रू। ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र विक्रीका लागि निवेदन दिएको सिभिल बैंकले र २०७८ साल असार ११ गते रू। १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र विक्रीको लागि निवेदन दिएको गरिमा विकास बैंकले एकै दिन साउन २१ गते बोर्डबाट प्रतिक्रिया प्राप्त गरिसकेका छन् ।
प्रतिक्रिया प्राप्त गरिसकेका कम्पनीहरुले अझै केहि प्रकृया पुरा गर्न बाँकी रहेकाले ऋणपत्र स्वीकृति रोकिएको बोर्डको भनाई छ । यी वाहेक बाँकी तीन कम्पनीको निवेदन भने प्रारम्भिक चरणमै रहेको छ । कामना सेवा विकास बैंकले रू। १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न साउन ३ गते निवेदन दिएको हो ।
त्यस्तै एभरेष्ट बैंकले रू। २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासनका लागि साउन २० गते र एनएमबि बैंकले रू। ३ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्कासनका लागि साउन २४ गते निवेदन दिएको हो ।
कामना सेवा बैंकले १० वर्षे अवधिको ९ प्रतिशत ब्याजदरको कुल १० लाख कित्तामध्य ४ लाख कित्ता सामूहिक लगानीकोष सहित सर्वसाधारणमा विक्री गर्नेछ भने ६ लाख कित्ता परिपत्र विधिबाट विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई विक्री गर्नेछ । त्यस्तै एभरेष्ट बैंकले ८ वर्षे अवधिको ८ दशमलव ५ प्रतिशत ब्याजदरको कुल २० लाख कित्तामध्य ८ लाख सर्वसाधारणका लागि र १२ लाख परिपत्र विधिका लागि छुट्याएको छ ।
त्यस्तै एनएमबि बैंकले १५ वर्षे अवधिको ४ प्रतिशत ब्याजदरको उर्जा बण्डका नामको ३५ लाख कित्तामध्य १४ लाख सर्वसाधारणका लागि र २१ लाख परिपत्र विधिका लागि छुट्याएको छ । सेञ्चुरी कमर्सियल बैंकले ९ प्रतिशत ब्याजदरको १० वर्षे अवधिको २२ लाख कित्ता ऋणपत्र मध्य ८ लाख ८० हजार कित्ता सर्वसाधारणका लागि र १३ लाख २० हजार कित्ता विभिन्न संघसंस्थाहरुमा विक्री गर्नेछ ।
सिभिल बैंकले पनि ९ प्रतिशत ब्याजदरको १० वर्षे अवधिको ३० लाख कित्ता मध्य १२ लाख सर्वसाधारणमा र १८ लाख विभिन्न संघसंस्थाहरुमा विक्री गर्ने भएको छ । गरिमा विकास बैंकले भने ७ वर्षे अवधिको ८ दशमलव ७५ प्रतिशत ब्याजदरको कुल १० लाख कित्तामध्य ४ लाख कित्ता सर्वसाधारणमा र ६ लाख कित्ता परिपत्र विधिबाट विभिन्न संघसंस्थाहरुमा जारी गर्नेछ ।
लामो अवधिसम्मका लागि रकम जुटाउन सकिने सरल माध्यम भएकाले पनि कम्पनीहरुले ऋणपत्र निष्कासनलाई प्राथमिकतामा राखेका छन। यस अघि वाणिज्य बैंकको हकमा च्क्तापूँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था थियो ।