धरानः नेपाली कांग्रेसका युवा नेता गगन थापाले १४औँ महाधिवेशनमा महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।
१३ औँ महाधिवेशनमै कृष्णप्रसाद सिटौलाको प्यानलबाट उम्मेद्वार भए पनि पराजित भएका थापाले मंसिरमा हुने १४औँ महाधिवेशनमा पनि उम्मेद्वारी दिने बताएका हुन्।
सोमबार काठमाडौंमा महानगरपालिका वडा नम्बर ३० मा आयोजित कार्यक्रममा थापाले महामन्त्री उठ्ने औपचारिक घोषणा गरेका हुन्। अनौपचारिक रुपमा उनले उक्त पदका लागि तयारी गर्दै आएका थिए।
कार्यक्रममा थापाले भने, ‘१४ औं अधिवेशनमा म महामन्त्री पदमा उठ्छु। मैले वडामै आयोजित कार्यक्रमबाटै घोषणा गरेँ। पार्टीका नेताहरू वा सञ्चार माध्यममा अन्तर्वार्ता दिएर होइन, मेरै ठाउँबाट घोषणा गरेँ।’
यसपटक कांग्रेसले विधान संशोधन गरेर दुईजना महामन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरेको छ।