Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हिमालयन-मेघा थ्री वाइ थ्री बास्केटबलको उपाधि यलम्बर ब्लुलाई

हाम्रो कोशी आवाज
भाद्र २० २०७८, आइतबार
हिमालयन-मेघा थ्री वाइ थ्री बास्केटबलको उपाधि यलम्बर ब्लुलाई

धरानः धरान बास्केटवल संघको आयोजनामा शनिबार सम्पन्न १८ वर्षमुनिका हिमालयन मेघा थ्री वाइ थ्री वान डे टुर्नामेन्टको उपाधि यलम्वर व्लुले चुमेको छ ।
फाइनल खेलमा यलम्वरले सियोन स्कुललाई १७–९ अंकको अन्तरले पराजित गर्दै उपाधिमाथि कव्जा जमाएको थियो । अत्यन्त्य प्रतिस्पर्धात्मक भएको फाइनल खेलमा आफ्नो टिमलाई विजयी बनाउन यलम्वरका स्पल तामाङले व्यक्तिगत १० अंक जोडेका थिए । उनले प्रतियोगिताको मोस्ट भ्यालुएवल प्लेयर (एमभीपी)को उपाधि समेत हात पारेका छन् ।
प्रतियोगिताको बिजेता तथा उपबिजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा, हिमालयन मेघा कलेजका प्राचार्य भास्कर पौडेल, इमानुयल बोर्डिङ स्कुलका अध्यक्ष एवं प्रिन्सिपल प्रभाष राजवंशीलगायतले पुरस्कार वितरण गरेका थिए । बिजेता तथा उपबिजेता खेलाडीहरुले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । सेमीफाइनल खेलमा यलम्वर ब्लुले स्टयाग टिमलाई २२–१० र सियोन स्कुलले यलम्वर यल्लोलाई १०–४ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

लकडाउनका कारण लामो समय खेलकुदको गतिविधि नभएको कारण खेलाडी तथा खेल क्षेत्र मारमा पर्दै गएकोले पुरानै अवस्थामा फर्काउन वार्मअपको रुपमा लिँदै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै एकदिने कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामाले बताए ।
बास्केटबल संघको यस वर्षको यो पहिलो कार्यक्रम रहेको समेत उनले जनाए । लकडाउनका कारण समयमा नै हुन नसकेको ट्यालेन्ट हन्ट कार्यक्रम कक्षा–१२ को फाइनल परीक्षापछि सम्पन्न गरिने र ट्यालेन्ट हन्टका उत्कृष्ट खेलाडीहरुलाई व्याचलर लेवलमा छात्रवृत्तिको लागि विभिन्न कलेजमा सिफारिस गरिने अध्यक्ष लामाले जानकारी गराए ।
धरान–१२ स्थित हिमालयन मेघा कलेजको बास्केटबल कोर्टमा सम्पन्न प्रतियोगितामा धरान र तरहराका गरी १५ वटा टिमले सहभागिता जनाएको थियो । लिग कम नकआउटको आधारमा खेलाइएको एकदिने प्रतियोगितामा भएको २९ खेलमा प्राविधिक सहयोग सुनसरी बास्केटबल संघले गरेका थिए । कार्यक्रममा सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी, हिमालयन मेघा कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे, कलेजका डाइरेक्टर दीपेन्द्र यादव, जीवन न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: भाद्र २० २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend