देशैभरि हरेक जिल्लामा गरिब जनताको छोराछोरी पढुन् केही गरुन् भनेर कति दानी व्यक्तिहरुले जग्गादान दिएका हुन्छन् । त्यो जग्गामा सरकारी स्कुल बनोस्, गरिबका छोराछोरीले पढ्न पाउन् र भोलि गएर केही गरुन् भनेर पक्कै आफ्नो कमाइखाने जग्गा सरकारलाई हस्तान्तरण गरेका हुन् ।
हामीले पढ्न नपाएपनि आफ्नो जिल्ला, वडा, टोलका बालबालिकाहरुले पढ्न पाउन्, सरकारी स्कुल र क्याम्पस बनोस् भनेर जग्गादान दिन्छन् । कतिले त बालबालिकाहरु शिक्षाबाट बञ्चित हुन नपरोस् र पढ्न पाउन भनेर आफूले कमाइ खाने खेतबारी सरकारलाई बुझाएका समेत छन् । हुन त पनि हो विद्यालय बनाउन जग्गादान गर्नु ठूलो धर्म हो । अधिकांश जिल्लामा धेरै मानिसहरुले आफ्नो व्यक्तिगत जग्गा सरकारलाई हरुतान्तरण गरेको छन् । सरकारले पनि त्यो ठाउँमा स्कुल, कलेज बनाएको छ ।
जनता शिक्षित हुनु नै देशमा विकास हुनु हो । तर बन्छन् मात्रै पढाउने शिक्षक, शिक्षिकाहरु सही हुन सकेका छैनन् । उनीहरुले विद्यार्थीका लागि सोचेकै पाइँदैन । त्यही भएर सरकारी स्कुलका बालबालिकाहरु निजी विद्यालयका बालबालिकाभन्दा कमजोर छन् । हाजिर गर्ने राजनीतिको झोला बोक्ने अनि हिँड्ने समेत गरेको पाइन्छ । स्कृलमा पढ्ने बालबालिकाहरुलाई शिक्षकशिक्षिकाले राम्रोसँग नपढाउँदा बालबालिकाको भविष्यमाथि खेलबाड भइरहेको छ । सरकारी स्कुलमा पढाउने उनीहरु आफ्नो जिम्मेवारीबाट पन्छिन् खोज्दा बालबालिकाको भविष्य सुनिश्चित हुन सकेको छैन भन्छु म ।
नेपाल सरकारबाट नियुक्त भएर शिक्षक भएर आइसकेपछि विद्यार्थीलाई राम्रोसँग पढाउँदैनन् । विद्यार्थीलाई दिनुपर्ने जत्ति समय पनि दिँदैनन् । सरकारी नियमअनुसार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म जुनैसुकै शिक्षक स्कुलमा आफ्नो जिम्मेवारी बहन गर्नैपर्दछ । कति सरकारी स्कुलमा पढाउने हप्तादिनमा स्कुल पुग्छन्, हाजिर चाहिँ हप्तादिनको एकैचोटी गर्छन् । स्कुल गइहालेपनि विद्यार्थी पढाउँदैनन् । बैठक कक्षमा राजनीतिको कुरा जोत्ने, फेसबुक चलाएर बस्ने, तारको फोनबाट आफन्त र घरमा घण्टौं कुरा गरेर बसेको मेरै आँखाले देखेको छु । मेरो प्रश्न छः के यो पनि तरिका हो ? यस्ता पनि सर, मिसहरु छन् कि हाजिर गर्न पाएको हुँदैन् मेरो आज घरमा काम छ भनेर घरतिर दौडिहाल्छन् । घरै गएर काम गरे त हो नि, पार्टीको आमसभा र कार्यक्रमतिर पो पुग्छन् । मेरो प्रश्नै प्रश्न छ– विद्यार्थी नपढाइकन कार्यक्रममा सहभागी हुन जाने शिक्षक शिक्षिकालाई के भन्ने ? शिक्षक भएर पार्टी, महासंघ र संघ खोलेको छन् । कानुनले यिनीहरुलाई राजनीति गर्ने इजाजत दिएकै हो ? कि मैले नबुझेको ? महिनादिनमा स्कुल पुग्ने, जनताले तिरेको करबाट महिनादिनमा तलबभत्ता खाइरहने ? जनताको छाराछोरी नपढाउने र उनीहरुको भविष्यमाथि खेलबाड गर्ने ?
सर, मिसले स्कुलमा विद्यार्थी कुटेर घाइते भएका घटनाहरु नभएको भने होइनन् । स्कुलमा पढाउने सर, मिस जनताको छोराछोरी कुट्नको लागि तलब खाएको हुन् ? जनताले पनि आफ्नो छोराछोरीलाई मर्नकोे लागि स्कुल पठाएको होइनन् । हरेक अभिभावकले आफ्नो छोराछोरीले पढेर भोलि राष्ट्रको लागि केही गरोस् भन्दै पढ्नको लागि विद्यालय पठाउँछन् ।
सरकारले गरिब विद्यार्थीलाई दिने भनेर छुट्याएको खाजा खर्चपनि सबै सर, मिसले मिलेर खाइदिएको पनि समाचार बाहिरिएको पाएको छु । कति स्कुलहरुमा सरहरु नै रक्सी खाएर आउने गरेको पनि भेटिन्छ । तैपनि कारबाही गरिएको छैन ।
सरमिसहरुको विद्यार्थीप्रति राम्रो बोलीबचन गर्दैनन् । सरकारी स्कुलमा पढाउने सरमिसहरुले विद्यार्थीलाई राम्रोसँग नपढाइदिँदा, झकोफर्को गरिदिँदा बालबालिकाले बीचमै पढाइ छोड्ने समेत गरेका छन् । आर्थिक कमजोर भएर पढ्न नपाएकाहरुलाई स्कुल आएर पढ्ने वातावरण कसैले पनि बनाइदिएको छैन । जसको बेफाइदा भोलिको दिनमा राष्ट्रले नै भोग्नुपर्ने हुन्छ । सरकारी स्कुलको कमीकमजोरीलाई निजी विद्यालयले आफ्नो शक्तिको रुपमा प्रयोग गरेका छन् । सरकारी शिक्षक शिक्षिकाहरुले लत्तो छोडिदिँदा, सरकारले दिएको जिम्मेवारी पूरा नगर्दा निजी स्कुलले यसको फाइदा उठाएका छन् भन्छु म । सरकारी स्कुलहरुको पढाइ खत्तम छ, त्यहाँ सरमिसहरु पढाउँदैनन् । तपाईको छोराछोरीको भविष्य बिग्रिन्छ भन्दै अभिभावकलाई विभिन्न प्रलोभन देखाएको त मैले पनि देखेको र भोगेको छु ।
सरकारी स्कुलमा भर्ना गर्न लागेकोले पनि निजी स्कृलमा लगेर आफ्नो छोराछोरीको भर्ना गराएका छन् । सरकारी स्कुल कमजोर बनाउने बोडिङको दाउ सरकारकै कर्मचारीहरुले गर्दा पूरा भएको छ । सरकारी स्कुलमा पढेको विद्यार्थीले भोलिको दिनमा केही गर्न सक्दैनन् भनेर भ्रम फैलाउने काम पनि निजी विद्यालयबाट नभएका भने होइनन् । सबै विद्याथीहरुलाई आफ्नो निजी विद्यालयमा ल्याएर भर्ना गर्ने उद्देश्यमा निजी विद्यालयको रणनीति पहिल्यैदेखि सफल भएको छ । भर्ना गर्दा पनि चर्को शुल्क महिनैपिच्छे लिने शुल्क पनि निकै नै चर्को छ ।
शिक्षाको नाममा जनता ठग्ने विद्यार्थीका अभिभावक लुट्ने काम भइरहेको छ । सरकारी स्कुलमा पढाउने शिक्षकहरुले निजी विधालयको गलत प्रचार चिर्न नसक्दा निजी त नामी बनेका होलान् तर सरकारीको निकै नै बदनाम भइरहेको छ । निजी विद्यालयको एउटा प्रचार भने सही नै हो जस्तो लाग्छ–सरकारी स्कुलमा नेपाल सरकारले लगानी गर्नु भनेको वालुवामा पानी हाले बराबर हो । यो झूट भने हुँदै होइन । विद्यार्थी नै पढाउँदैनन् भने किन लगानी गर्नु ?
सरकारी स्कुलहरुमा विद्यार्थीको संख्या बढ्नुको सट्टा घट्दा निजी स्कुलले सबै विद्यार्थी आफ्नो स्कुलमा लैजाँदा यो कुरा सत्य पनि हो । अब जनता, अभिभावकहरु र सरमिसहरु सबै सुध्रिनैपर्ने बेला आइसकेको छ । अझैपनि सरकारी स्कुल सुध्रिने मौका छ ।
अहिलेकै अवस्था हेरौं नः हालत छ
अहिले सरकारी शिक्षकहरुले विद्यार्थी नपढाइ घरमा बसेर मज्जाले तलब खाइरहेका छन् । कोरोना महामारीमा अहिले धेरै स्कुल बन्द छन् । कतिपय स्कुलले मात्रै अनलाइन कक्षा चलाएका छन् तर दुरदराजका धेरै स्कुलले अनलाइन कक्षा चलाउन पाएका छैनन् । भनौं विविध कारणले सकेका छैनन् । तर पनि तलब आएकै छ, पचाएकै छन् ।
अहिले निजी विद्यालयको कुरा गर्ने हो भने तलब खान पाएका छैनन् । कारण– निजी विद्यालयको कमाइ नै हो भर्ना वा मासिक शुल्क । त्यो शुल्क अहिले उठाउन पाइरहेका छैनन् । अनलाइन कक्षा चलाएका स्कुलले जसोतसो धानिरहेपनि धेरैको हालत बिग्रिएको छ । यस्तो अवस्थामा कसरी खान सक्छन् निजी विद्यालयका शिक्षकले तलब । उनीहरुको पनि छोराछोरी होलान्, परिवार होलान् कसरी धानिरहेका छन्, यसबारेमा केही सोंचेका छौं ।
हालः भक्तपुर (अनुषा पत्रकारिता विषयमा अध्ययनरत् छिन् ।)