धरानः अब नेपाली कामदारले कार्तिक १५ गतेदेखि कोरिया काम गर्न जाने भएका छन् ।
नेपाली पठाउने क्रम कात्तिक १५ भित्रै सुरु हुने जनाइएको छ । वैदेशिक रोजगार विभाग र ईपीएस नेपाल सेन्टरबीच अक्टोबर (कात्तिक १५) भित्र श्रमिक पठाउन थाल्नेगरी छलफल भएको हो ।
कोरियाले श्रमिक लान राखेका सबै सर्त सरकारले पूरा गरिसकेको छ । सीधै उडानमार्फत लैजानुपर्ने सर्तअनुसार हवाई टिकट खरिद गर्न यसअघि नै टेन्डर आह्वान भइसकेको छ । गत भदौ २ गतेदेखि ३१ गतेसम्मको म्याद दिएर टेन्डर आह्वान गरिएको थियो। अहिले टेन्डर खोल्ने प्रक्रियामा रहेको ईपीएस शाखाका निर्देशक सुरेश राउतले बताए ।
दक्षिण कोरिया जाने कामदारले त्यहाँ पुगेको मितिबाट १४ दिन सम्मको बिमा गर्न ६ वटा बिमा कम्पनी सूचीकृत भएका हुन् । इपीएस शाखाका अनुसार अडोज इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्स कम्पनीमार्फत बिमा गर्न सकिने भएको हो ।
दक्षिण कोरिया पुगेपछि श्रमिकले १४ दिनसम्म आफ्नै खर्चमा क्वारेन्टिन बस्नुपर्नेछ । त्यस विषयमा पनि छलफल भइरहेको निर्देशक राउतले जानकारी दिए । करिब ७ हजार नियमित र ३ हजार पुनः जाने तयारीमा श्रमिक रोकिएका छन् ।