Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बैंक, फाइनान्सले ठगिरहन्छन् !

हाम्रो कोशी आवाज
असोज १४ २०७८, बिहिबार
बैंक, फाइनान्सले ठगिरहन्छन् !

बैंक, फाइनान्स अर्थात् जुनसुकै पनि वित्तीय संस्थाहरुले घररग्गा धितो राखेर ऋण लिएकाहरुलाई आफूखुसी ब्याज बढाउने गरेका छन् । ऋणीलाई जानकारी नै नगराई कर्जाको ब्याज वृद्धि गर्नेजस्ता काम वित्तीय संस्थाहरुले गरिरहेका छन् । ऋणीलाई किस्ता तिर्न गाह्रो बनाइदिन वित्तीय संस्थाहरुले यस्तो रणनीति अपनाएका हुन् भन्छु म ।
वित्तीय संस्थाहरुले ब्याजदर घटाएर, किस्ता तिर्ने अवधि बढाउनुको साटो यस्तो कार्य गर्नु उचित देखिँदैन । कर्जा लिएकालाई सहुलियत दिनुपर्ने ठाउँमा वित्तीय संस्थाहरुले उल्टो ब्याजदर बढाएर कर्जा तिर्नलाई अप्ठयारो बनाइदिएका गरेका उदाहरण प्रशस्त पाइन्छ । जो मान्छेले आफ्नो अचल सम्पत्ति बैंक, फाइनान्सको नाममा पास गरेर ऋण लिएका हुन्छन् । ब्याज बढाइसकेपछि ऋणीले कर्जा तिर्न सक्दैन अनि त्यसको भएको जति सम्पत्ति हत्याउन सकिन्छ भनेर बैंक तथा फाइनान्सले यस्तो नराम्रो हर्कत गरेका हुन्छन् । जनतालाई डुबाएर वित्तीय संस्थाहरुले लथालिङ्ग पनि भएका छन् । तोकेको समयमा कर्जा तिर्न सकेन भनेर पत्रपत्रिकामा नामसहित छापिदिन्छन् । उसको भएको धितो लिलाम गरिदिन्छन् ।
सम्बन्धित निकाय कानमा तेल हालेर बसेको छ । वित्तीय संस्थाहरुले यसरी जनता ठग्दा पनि अनुगमन किन गरिएन त ? यसमा ध्यान दिनुपर्ने होइन र ? हामीले बैंक, फाइनान्समा पैसा राखेका हुन्छौं, त्यसको ब्याज निकै न्यून पाउँछौ । तर हामीले डिपोजिट गरेजति रकम कर्जामा लियौं भने त्यसको डबल ब्याज तिर्नुपर्छ । बैंकबाट कर्जा लिएर काम गर्ने अधिकांश मान्छेहरु डुबेकै छन् । वित्तीय संस्थाबाट धेरै ऋण खाने मान्छेहरुले नै बैंक, फाइनान्सले हामीलाई डुबायो भनिरहेका हुन्छन् । वित्तीय संस्था भनेको पुँजीपति, सामन्ती र शोषकले चलाएको दलाली संस्था हो भन्छु म । बैंक भनेको एउटासँग सस्तो ब्याजमा ल्याएर पैसा डिपोजिट गर्न लगाउने अर्कोलाई त्यही पैसा मङ्हगो ब्याजमा लगाउने । जनता ठग्ने, कालोधन्दा गर्ने, कालो रकमलाई सेतो रकम बनाउने काम गर्छन् । म जनता ठग्ने सहकारीको साधारणसभा उद्घाटन गर्न जान्नँ भनेर मन्त्री हुँदा चित्रबहादुर केसीले भनेका थिए । त्यो उनको भनाइ मात्रै थिएन जस्तो लाग्छ । जनता ठग्ने सहकारीलाई साथ दिने नै नेताहरु हुन् । चित्रबहादुरले भन्थे–मलाई सुटकेस लिएर भेट्न आउँथे तर म चाहिँदैन भनेर फर्काइदिन्थे ।
सेवा शुल्क लिएर मङ्हगो ब्याजमा पैसा दिन्छन्, तैपनि हाम्रो धितो सम्पत्ति रोक्का गरेर । उनीहरुको नाममा पास गरेपछि मात्र ऋण पाइन्छ । ब्याज तिर्न नसकेपछि वित्तीय संस्थाहरुले धितो लिलाम गरिदिन्छन् । यसरी वित्तीय संस्थाहरुले करोडपतिलाई रोडपति बनाइदिन्छन् । अरुलाई सडकमा पुरयाएर आफूचाहिँ आरामसँग घरमा बसेको छन् । बाहिरबाट हामीले सेवा दिएको भनेर विज्ञापन गरेका छन् तर यिनीहरुको खेल नै अर्कै छ । अझ भनौं, आफ्नै सम्पत्ति धितो राखेर ऋण लिनको लागि पनि धेरै प्रक्रिया पूरा गर्नुपर्छ । भनौं झन्झटिलो । हैरानी ब्यहोर्नुपर्ने, पापड बेल्नुपर्ने ।
सहकारी महासंघमा बस्ने अध्यक्षहरु राजनीतिक पार्टीको झोला बोकेर महिनापिच्छे पैसा उठाउँछन् । नेपालका राजनीतिक पार्टीहरु कमाएर राजनीति गर्न सक्दैनन् । कमाएर पार्टी चलाउन सक्दैनन् । हरेक क्षेत्रमा राजनीतिक संगठन खडा गर्छन् । यसमा सरकारी कर्मचारी पनि पछि परेका छैनन् । सरकारी कर्मचारीले पनि राजनीति गरेका छन् राजनितिक संगठन खोलेका छन् । अन्य व्यवसाय गर्नेलाई पनि राजनीतिक संगठन खोल्ने दिइएको छ । राजनीतिक पार्टीले पैसा लिन्छन् अनि गलत मान्छेलाई सरकारलाई कारबाही गर्नबाट रोक लगाउँछन्, यो दुःखद् हो ।
हरेक क्षेत्रमा राजनीतिक संघसंस्था खाल्ने काम बन्द नभएसम्म देशको विकास होइन, विनाश नै छ । वित्तीय संस्थाहरु देशैभरि च्याउ उम्रेको जसरी उम्रिरहेको छ । वडैपिच्छे यिनीहरुको शाखा छ । जनताको पैसा बैंक, फाइनान्सका सञ्चालकहरुले कमिशन खाएर धितो राखेर कमसल कर्जा दिएर जनता ठगिरहेका छन् । सञ्चालकहरु जनताले राखेको पैसाले जग्गा किन्छन् । सस्तोमा किनेरे प्लानिङ गरेर महङ्गोमा बेच्छन् । भनौं वित्तीय संस्था एक किसिमको दलाल पनि हुन भन्छु म । दलाली गरेर कमाएका छन् । सहकारीले साधारणसभा होस् वा अडिट गर्दा होस्, आफ्नो हिसाब गरेर निक्लेको पैसा डिपोजिट गर्ने मान्छेलाई देखाउँदैनन् । अडिट गर्दा अडिटरलाई पैसा खान दिएर बैंकहरु यति करोड नाफा छ भनेर देखाउँछन् ।
हाम्रो आफ्नै भवन छ । यति वटा शाखा छ । वर्षमा यति करोड नाफा कमाएका छौं भन्छन् । शेयर होल्डरलाई थोरै नाफा दिन्छन् । ब्याज कम दिन्छन् । सबै नाफा बोनसको नाममा त्यहीकै कर्मचारी र चेयरम्यान बाँडेर खान्छन् । जनता ठग्ने, आफू बाँडेर बोनस खाने ? यिनीहरु पैसा बेच्ने व्यापारी हुन् । जनतालाई केही नदिइकन जनताकै पैसाबाट यिनीहरुले मोजमस्ती गरिरहेका छन् । १ लाखको पैसा सहकारीमा राख्छ भन्यो भने सहकारीका कर्मचारी घरमै आइपुग्छन् । कति प्रतिशत ब्याज दिने भनेर सोध्यो भने पटकपटक फोन आउँछ । सहकारी, बैंकजस्ता वित्तीय संस्थाले राज्यलाई भनेजति कर तिर्दै तिर्दैनन् । राजश्व छली गरिहेको छन् । अडिट गर्दा दुईवटा पेपर देखाउँछन्, हुन्छ अर्कै । जनताको पुँजी र लगानीको हिसाबकिताब देखाउँदैनन् ।
हालः भक्तपुर, (अनुषा पत्रकारिता विषयमा अध्ययनरत् छिन्) ।

प्रकाशित मिति: असोज १४ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend