धरानः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अताल्लिएर नयाँ पार्टीमा गएका एमालेका नेता कार्यकर्तालाई एमालेमै फर्किन आग्रह गरेका छन् ।
पहिलो विधान महाधिवेशनमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीमा गएका सच्चा एमाले कार्यकर्तालाई पार्टीमा फर्कन आग्रह गरेका छन् । उनले एमालेमा फर्किने वातावरण बनाउन स्थानीय तहदेखि नै पहल गर्न नेताहरुलाई निर्देशनसमेत दिएका छन् ।
अध्यक्ष ओलीले एमालेको सरकार ढाल्न सारा शक्ति लागेको आरोप लगाउँदै सरकार ढाल्न जो जो लागे ती सबै शत्रु भएको बताए । एमालेको सरकार उनले कुस्ती खेलाडीलाई विपक्षीले अलिअलि प्रहार गरेन भने जीतको रणनीति बनाउन गाह्रो हुने भन्दै अब एमालेले सशक्त रणनीति बनाउने पनि अठोट व्यक्त गरे । जितेर सरकारमा गएकाले फेरि पनि जितेरै सरकारमा जाने उनको दृढता छ ।