धरानः यो वर्षको मनसुन औसतभन्दा केही ढिला गरी नेपालबाट बाहिरिने क्रम सुरु भएको छ ।
औसतमा अक्टोबर २ मा नेपालबाट मनसुन बाहिरिन्छ । तर, यो वर्ष अहिलेसम्म मनसुन पूर्ण रुपमा बाहिरिएको छैन ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार नेपालका केही क्षेत्रबाट मनसुन बाहिरिएको छ ।
महाशाखाले भनेको छ, ‘नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ भए तापनि यस वर्षको मनसुन औसत मितिभन्दा केही पछाडि सरेको छ । शुक्रबारका दिन यस वर्षको मनसुन नेपालको सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभागबाट बहिर्गमन भएको छ ।’
औसत मिति अक्टोबर २ भए पनि यस वर्षको मनसुन उक्त मितिभन्दा केही पछाडि सरेको छ । आगामी केही दिनमा देशका बाँकी भू–भागहरुबाट पनि मनसुन बाहिरिने अनुमान गरिएको महाशाखाले जनाएको छ ।
यसैबीच आज नेपालको मौसमलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नरहेको महाशाखाका मौमसविद गंगा नगरकोटीले जानकारी दिइन् । शनिबार बिहान प्रदेश १ र बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको छ ।
दिउँसो प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई ठाउँमा आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।