Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दशैंः राजनीति र अर्थतन्त्रको अचुक हतियार !

हाम्रो कोशी आवाज
असोज २६ २०७८, मंगलबार
दशैंः राजनीति र अर्थतन्त्रको अचुक हतियार !

दशैंचाड हिन्दू धर्मालम्बीहरुको मात्रै हो कि, सम्पूर्ण नेपालीहरुको, वास्तवमा दशैं कसको हो ? भनी लामो समयदेखि अनेकखाले बहस, छलफल र तर्कबितर्कहरु भइरहेका छन् । अझ आजभोलि त यसबारेमा भुइँ तहबाटै व्यापकरुपमा बहस र छलफल भइरहेको छ । साँच्चै दशैं कसको चाड हो ? वा भनौं नेपालका कुनकुन जातजाति, समुदाय या वर्गहरुको चाड वा पर्व हो ? भनी विगतमा भन्दा बढ्तै अथवा भनौं सघन ढङ्गले छलफल र बहस चलिरहेको देखिन्छ । जुन बहस र छलफललाई हामीले सकारात्मक ढङ्गले लिनुपर्ने हुन्छ । हुन पनि विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनाअनुसार नेपालमा १ सय २५ जातजाति, १ सय २३ भाषाभाषी र ९ धर्मालम्बीहरु रहेको देश हो ।
यसरी हेर्दा दशैं नेपालको कुनकुन जातजाति वा वर्गका मान्छेहरुको चाड वा पर्व हो ? किटेर यसै भन्न नसकिने भएको छ किनभने, कोही दशैं चाड हिन्दूहरुको मात्रै हो भन्छन् । कोही कोही वास्तवमा दशैं हिन्दूहरुको चाड पनि होइन भन्छन् । जस्तै लेखक पदम श्रेष्ठले सन् २०१९ अक्टोम्बरमा एक अनलाइनमा ‘दशैं–तिहार हिन्दूहरुको चाड होइन’ शीर्षकमा विभिन्न उदाहरण र तर्कसहित एक लेख लेखेका थिए । उता १२ असोज २०७६ मा एक दैनिक पत्रिकामा डा.मदन रिमालले पनि ‘हिन्दूको मात्रै होइन दशैं’ शीर्षकमा अर्को लेख लेखेका थिए । त्यस्तै एकजना ‘राई’ सरले चाहिँ ‘दशैं किराती राईहरुको चाड’ भनी एक अनलाइनमा ‘अन्टसन्ट’ लेख लेखेका थिए । यसरी हाल आएर दशैं चाडबारे नेपालमा खुबै बहस र छलफल भइरहेको छ । दशैं कसको, कसको होइन ? भन्नेमा पनि गलफत्ती भइरहेको छ, भई नै रहने छ । यसरी दशैं चाड कुन–कुन जात, समूह, वर्ग र जाति वा समुदायको हो ? भनी लामो समससम्म बहस र छलफल गर्ने क्रममा विभिन्न तथ्य, तर्क, प्रमाण, आधार, उदाहरण दिने वा भनौं प्रस्तुत प्रयास पनि जारी नै छ । यसलाई एक हिसाबले हामीले रामै्र मान्नुपर्ने हुन्छ ।
तर, खासखास तथ्य, प्रमाण, उदाहणहरु र परम्परा आदि हेर्दा दशैं भनेको बिनाकुनै धकचक हिन्दू धर्मालम्बीहरुको महान चाड हो भन्न सकिन्छ । जस्तैः आर्य र खस समूहका मान्छेहरुले (खासगरी बाहुन क्षेत्रीहरुले) दशमीको दिन रातो रंगले मुछेको चामलको टिको लगाउँछन् भने, उनीहरु दशमीलाई ‘विजयादशमी’ भन्छन् । जो आदिवासी जनजातिहरुले वाध्यताले वा रहरले दशैं मनाउँथे, मनाउँछन् । तर, उनीहरुले बाहुनक्षेत्रीले जस्तो रातो टीको नलगाएर दहीले मुसेको ‘सेतो टिको’ लगाउने गर्छन् भने कुलुङ, शेर्पा, तामाङ, ह्योल्मो आदि जातिले त विगतदेखि नै दशैं मनाउँदैन थिए, मनाउँदैनन् । त्यस्तै, घर लिपपोत गर्दा पनि सोही विधि अपनाउने गरेको देखिन्छ । त्यति मात्रै होइन, हिन्दूहरुले मर्यादा पुरुष मान्ने गरिएको रामले रावणलाई मारेको तिथिमा (पहिलेपहिले गाउँघरमा चैते दशैं भन्ने गरिन्थ्यो । किनभने, चैत महिनामा सो दशैं मान्ने गरिन्थ्यो) अहिले पनि गाउँघरमा सो तिथिलाई चैते दशैं नै भन्ने गरिन्छ ।
त्यस्तै, दशैं आर्य खस वा बाहुन क्षेत्रीहरुले मनाउने चाड हो कि ? आदिवासी जनजातिहरुलगायत सबै नेपालीहरुले मनाउने चाड हो ? भनी बेजोडले बहस र छलफल चल्दै गरेको त माथि नै उल्लेख भएको छ । तर, पनि दशैं कसरी सबै नेपालीको चाड हुन सक्ला ? किनभने, यहाँ इस्लाम धर्मालम्वीहरुको पनि बसोबास छ । किरात धर्मालम्बीहरुको पनि बसोबास छ । बौद्ध धर्मालम्बीहरुको पनि बसोबास रहेको छ । क्रिष्चियन धर्मालम्बीहरु पनि छन् । अझ बौद्ध धर्मालम्बीहरु त काटमार नै गर्दैनन् भने, किरात धर्मालम्बीहरु आप्mनो पितापुर्खालाई ‘गाईगोरु’ को मासु चढाउँछन् । नेपालका कतिपय जातिहरु त प्रकृति पूजकहरु पनि छन् । तर, यहाँ केही मान्छेहरुले ‘सनातन हिन्दूधर्म, सर्वधर्म…, ऊँ कार परिवार…’ भनेको पनि सुनिन्छ । त्यस्तै, कसैले स्वीकार गरे पनि नगरेपनि नेपालमा क्रिश्चियन धर्मालम्बीहरुको अझ ठूलो बाढी आइरहेको देखिन्छ । अब तपाई हामी आपैmले सोचौं त सबै धर्मालम्बीहरुको चाडबडा दशैं हुन सक्ला ?
हुन पनि केही दशक अघिसम्म नेपालको राज्य संयन्त्र अन्तर्गत रहेको अर्थात् सरकारी सञ्चारमाध्यमहरु जस्तै रेडियो नेपाल, गोरखापत्र दैनिक, नेपाल टेलिभिजनमा ‘सम्पूर्ण नेपालीहरुको मात्र महान चाड बडादशैं’ को अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरिन्थ्यो । यो वर्षपनि नेपाल टेली कमले मोबाइल र फोनको ब्याकट्युनमा जनगणनाको प्रचार बजाउन छाडेर मालश्री धुन बजाइरहेको छ । यसरी हेर्दा धर्म निरपेक्ष भनिएको हाम्रो देश नेपालमा हिन्दू धर्मालम्बीहरुको महत्वपूर्ण धार्मिकधुन मालश्री धुन नेपाल टेलिकमले मोबाइल र फोनको ब्याक ट्युनमा बजाइरहेको छ । हुन त केही अतिवादी हिन्दूवादीहरु ‘बौद्ध, किरात र हिन्दूहरु एकै हुन्, उनीहरु ओम। ऊँ कार परिवारका हुन् भनी भन्छन् भन्ने त माथि नै पनि उल्लेख गरिएको छ । तर, यदि त्यसो हो भने, किरातीहरुले किन आफ्नो पितापुर्खालाई ‘गाई–गोरु’ को मासु चढाउँछन् ?, बौद्ध धर्मालम्बीहरु, किन काटमार नै गर्दैनन् ?, सनातन हिन्दू धर्म वा … हिन्दु धर्म भन्नेहरुले किन पशुबलस् दिन्छन् ? सोबारेमा उनीहरुले विस्तृत ढंगले व्याख्या गरेको देखिँदैन ।
तर, आजभोलि माथि उल्लेखित सरकारी सञ्चारमाध्यम रेडियो नेपाल, गोरखापत्र दैनिक, नेपाल टेलिभिजनबाहेक निजी क्षेत्रबाट पनि प्रशस्तै टेलिभिजन, रेडियो, एफएम, पाक्षिक, साप्ताहिक र दैनिक पत्रत्रिकाहरु निसक्लन्छन् । साथै निजी क्षेत्रबाट सञ्चालित ती टेलिभिजन, रेडियो, एफएम, पाक्षिक, साप्ताहिक र दैनिक पत्रत्रिकाहरुले समय साक्षेप बडादशैंलगायत हिन्दुहरुले मान्ने अन्य चाडबाडहरुको अवसरमा छापिने, प्रहारित हुने र दृश्यमा देखिने शुभकामना विज्ञापन र सन्देशहरुमा ‘सम्पूर्ण नेपालीहरुको मात्र महान चाड बडादशैं’ को सट्टामा ‘हिन्दूहरुको महान चाड बडादशैं’ को अवसरमा वा पावन अवसरमा शुभकामना विज्ञापन र सन्देशहरु छाप्ने, प्रसारित गर्ने र दृश्यमा देखाउन थाले । शुभकामना विज्ञापन र सन्देशहरु समय साक्षेप मान्न सकिन्छ । तर, केही अतिवादी हिन्दूहरुले निजी क्षेत्रको सञ्चारमाध्म जस्तै टेलिभिजन, रेडियो, एफएम, पाक्षिक, साप्ताहिक र दैनिक पत्रत्रिकाहरुले समय साक्षेप बडादशैंलगायत हिन्दूहरुले मान्ने अन्य चाडबाडहरुको अवसरमा छाप्ने, प्रसार गर्ने र दृश्यमा देखाउने ती शुभकामना विज्ञापन र सन्देशहरुमा ‘सम्पूर्ण नेपालीहरुको मात्र महान चाड बडादशैं’ नभनेकोमा आक्रोशपूर्ण लेखहरु लेख्ने, प्रतिक्रिया दिने गर्थे, गर्दैछन् । देशमा गणतन्त्र आएको, देश धर्मनिरपेक्ष भएको संकेत गर्छ ? सायद विसं २०७२ असोजमा जारी भएको नेपाल र दक्षिण एसियाकै उत्कृष्ट संविधानमा ‘धर्म निरपेक्षता भन्नाले सनातनदेखि चली आएको … ’ भनी ब्याख्या थप्नु वा भनौं प्रस्टीकरण दिनुको कारण हाल खुल्दैछ ।
विसं २०६२–०६३ मा जनताको बलमा भएको अभूतपूर्व राजनैतिक परिवर्तनपछि अब नेपाल राज्य केवल एकल हिन्दू जातिको मात्रै नभएर सबै जातजाति, भाषाभाषी, धार्मिक समूह आदिको पनि हो भन्ने वास्तविकतालाई आत्मसात गरेर त्यो बेलाको अन्तरिम संविधानमै नेपाललाई धर्म निरपेक्ष राष्ट्र भनी घोषित गरिएको थियो । तर, अभैmपनि विभिन्न कार्यक्रमहरुमा पाँचजना बाहुन (बटुक भनिन्छ होला) हरुलाई मात्रै मन्त्रोत्उच्चारण गराइन्छ । त्यो पनि नेपालमा कुनै पनि जातवा जातिले मातृभाषाका रुपमा नबोल्ने संस्कृत भाषामा । के देश धर्म निरपेक्ष भएको प्रमाण यही हो ? कि भने माथि उल्लेख गरिएभैंm नेपालका अन्य धर्मालम्बीका प्रतिनिधिहरुलाई पनि बोलाएर समावेश गरेर हरेक कार्यक्रममा गर्नुपरयो । किनभने, त्यसो गर्दा सबै धर्मालम्बीहरुलाई समेटिएको देखिन्छ भने समावेशी पनि देखिन्छ । तर, मुखले जेसुकै भनिएतापनि एकल हिन्दूवादीहरुकै हाली मुहाली भएर पनि होला, जहिले पनि ५ जना बटुकहरुलाई मात्रै बोलाएर शान्ति स्वस्तीका लागि संस्कृत भाषामा मात्रै मन्त्रोच्चारण गराउँने गर्छन् । वा भनौं पूजा पाठ गराउंँछन् । हुन त यो देशमा स्वघोषित विद्धानहरु नभएका होइनन् । तर, उनीहरुले पनि यस विषयमा खासै कुरा उठाउँदैनन् । हुन त राज्यको स्रोत, साधन, पहँुच र मिडियाहरु पनि उनीहरुकै हातमा छ । जसले गर्दा हाम्रो देशमा संघीयता, समावेशीता, धर्म निरपेक्षता लगायत उत्पीडितहरुको पक्षमा खासै वकालत गर्दिने मान्छेहरु वा भनौं विषय विज्ञ, विद्धान, प्रा.डा., विश्लेषक, लेखक, पत्रकारहरु भेटिँदैनन् ।
त्यसैले के भन्न सकिन्छ भने, नेपालका थोरै हिन्दू अतिवादका मान्छेहरुले अझै पनि आफ्नो पूरानो ढर्रा वा बिरासतलाई नै यो वा त्यो नाममा कायमै राख्न चाहन्छन् । देशका अन्य जात, जाति, समुदाय, भाषाभाषी, धर्म, सम्प्रदाय आदिलाई जोरजबरजस्ती हिन्दू धर्म, हिन्दु संस्कार, हिन्दू संंंस्कृति आदि लाद्न चाहन्छन् । उनीहरु अभैm पनि देशको वास्तविक धरातललाई स्वीकार्न तयार छैनन् । हुन पनि ती अतिवादी हिन्दू समूहका मान्छेहरु दशैंं, तिहारलाई केवल हिन्दूहरुको मात्रै चाड हो भनी विभिन्न मिडियाहरुमा शुभकामना सन्देश निक्लन थालेकोमा र, सोही बमोजिम प्रचारप्रसार गर्ने गरेकोमा समेत रिसाउने वा भनौं असन्तुष्ट हुने गरेका छन् । यता आदिवासी जनजाति मानिसहरु जो क्षणिक राजनैतिक स्वार्थ र, व्यक्तिगत स्वार्थ बोकेका छन्, उनीहरुले पनि दशैं–तिहारलाई हाम्रो चाड होइन पनि भन्ने तर, त्यही दशैं–तिहारको उपलक्ष्यमा टन्न मासुभात र, जाँडरक्सी पनि खान छाड्दैनन् । झन् तिहारमा देउसीभैलो खेल्न त तँंछाडमछाड नै चल्छ ।
जे होस्, दशैं र तिहार मात्रै होइन, जब पृथ्वीनारायण शाह र उनका भाइ भारदारले कथित नेपाल एकीकरण गरे, त्यसपछि पूर्वका किरातीहरुलाई फुटाएर छोटे राजा (प्रभावशाली व्यक्तिहरुलाई) सरह पदवी, पगरी दिएर राई, सुब्बा, मुखिया, देवान आदि पदहरु दिए । साथै हिन्दू धर्म अनुसारको कर्म गर्ने उर्दीसहित शासन थोपरे । तिनीहरुलाई (जो राई, सुब्बा, मुखिया, देवान आदि भए) लाई आफूहरुले पनि हिन्दू धर्म मान्नुपर्ने र, रैती अर्थात् ज्यमी, जमी वा जिमीहरुलाई पनि बडादशैंमा टीका र जमरो लगाइदिएर हिन्दू धर्म मान्नैपर्ने बाध्यतात्मक परिस्थिति सिर्जना गराइयो । यसको प्रमाणको रुपमा धेरै उदाहरणहरु दिन सकिन्छ । तर, यो पंक्तिकार लिम्बूको भाञ्जा र, हाम्रो मावली बाजे (हजुरबा) समेत सुब्बा भएकोले के देखेको थियो भने, नवमीको दिन बिहान बोकोको बलि दिएर मौलोको वरिपरि तीनफन्को घुमाइन्थ्यो । त्यसरी घुमाइसकेपछि सुब्बा अर्थात् बाजेले हत्तपत्त आफ्नो घरको भित्तोमा दुवै हात बोकाकोे रगतमा चोपलेर पञ्जा छाप लगाउनु हुन्थ्यो । बालापन न हो, हामीलाई कहिले दशैं आउला र नयाँ लुगा लगाउन पाइएला, टन्न मासु भात खान पाइएला, रोटेपिङ खेल्न पाइएला, बजार जान पाइएला र, रमाइलो गर्न पाइएला भन्ने मात्रै थियो, त्यो बेला । तर, काठमाण्डौ आएर केही बुझ्ने भएर गाउँ फर्किँदा (२०४६ को परिवर्तनपछिको कुरो हो) मैले मेरा सुब्बा बाजेलाई त्यो बेला दशैंमा किन त्यसो गरिन्थ्यो भनेर सोध्दा सुब्बा बाजे भन्नुहुन्थ्यो ‘त्यसो नगरे त तेरो बाजेले उजुरी दिन्थ्यो नि त ’ मेरो बाजे भनी सुब्बा बाजेले गरेको संकेत भने राज्यले खटाएको जोगी र पण्डितप्रति लक्षित थियो, अहिले बुझ्दा ती जोगी राज्यले खटाएको जासुस रहेछन् । त्यसैले नेपाल जस्तो १ सय २५ जातजाति, १ सय २३ भाषाभाषी र ९ धर्मालम्बी बसोबास गरेको देशमा हिन्दू धर्म नै राष्ट्रिय चाड हुन सक्छ कि सक्दैन ? अभैm पनि व्यापक रुपमा बहस र छलफल हुनुपर्छ । साथै तीनै तह (स्थानीय, संघ र केन्द्र) मा बस्ने आदिवासी जनजातिलगायत जात जातिका मान्छेहरुले मान्ने र उनीहरुका चाडबाड, संस्कार–संस्कृतिहरुलाई पनि राज्य (तीनै तह) ले राष्ट्रिय चाडको रुपमा मान्यता दिनुपर्ने हुन्छ । हुन त त्यही भएर पनि होला, राज्यले विगतमा हिन्दूहरुको महान चाड बडादशैंमा दिँंदै आएको लामो विदा कटौती गरेर छोट्याएको पनि छ ।
त्यसो त जसले जे भने तापनि दशैंचाडको अवसरमा दशैं आसपासको ३ महिनामा मात्रै मात्रै देशको वर्षभरिको सम्पूर्ण आर्थिक कारोबरको ४२ प्रतिशतदेखि ४५ प्रतिशत (लगभग आधा) रकम बराबारको व्यापार हुने गरेको भनी आर्थिक विषयमा सरोकार राखेर प्रकाशित हुँदै आएको ‘कारोबार दैनिक’ मा दुई वर्षअघि नै एक समाचार आएको थियो । यसरी हेर्दा दशैं केवल एक शुद्घ रुपको चाड वा पर्व मात्रै नभएर राजनीति र अर्थतन्त्रको एक ‘जादुमयी हतियार’ पनि हो भन्नुपर्ने हुन्छ । जसले दशैं भन्ने बित्तिकै राजनीतिक हतियारको रुपमा प्रयोग हुने र छोटो समयमा अर्थतन्त्रको ठूलो चलखेल हुने अर्थराजनीतिको रुपमा पनि प्रयोग हुने गरेको छ भन्दा कसैले विमति नराख्लान् कि ।
ninamkirat123@gmail.com

प्रकाशित मिति: असोज २६ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend